Saturday, August 10, 2013

त्यो महेन्द्र माला

कक्षा ९ र १०मा दुई दशक पढाइ भएको महेन्द्रमालाको नियात्रा घनघस्याको उकालो काट्दा हजारौं लाखौले पढे । पाठ्यपुस्तक लेखेवापत ताना सर्माले चाहि एक पैसो रोयल्टी पाएनन् ।

  • अनमोलमणि

चीसो बढ्दै गएको पुसको एउटा मध्यान्ह भेट्दा उनी सरस्वती नगरको घरनं ५०५ मा भाषा बारे कार्यपत्र लेख्दै थिए । भीडभाड र होहल्लावीच पनि म शान्तसित बसेको छु, कपन जादा गोपिकृण सिनेमा हललाई देब्रे परेर ठडिएको घरमा उनले भने, यहा घर र सडक यसरी बढ्यो, पाच वर्ष अमेरिकाबसेर आउदा मैले झन्डै आफ्नै घर भुलेको । ३४ वर्षको उमेरमा २०२४ सालमा घनघस्याको उकालो काटेका ताना सर्मा यतिखेर घरको पहिलो तल्लामा गफिइरहेका थए ।

घनघस्याको यात्रा यति लोकप्रिय होला भन्ने उनलाई लागेकै थिएन । उनको यात्राले एउटा गुमनाम ठाउ सेलिब्रिटीझै एकाएक चर्चामा आएको थियो । त्यसपछि कयौंले घनघस्यामा पाइला टेके । कयौंले त्यसबारे लेखे । यो नियात्राको सप्रसंग व्याख्या गरेर कतिले विद्यालय तह सके । कतिका लागि त्यो व्याख्या घनघस्याजस्तै चढ्नै नसक्ने अक्करे उकालो भयो । आखिर त्रिचालीस वर्षअघिको सर्माको त्यो यात्रा नेपाली साहित्यमा किन सदाबहार चर्चामा रहन्छ ?


‘हजारौ लाखौ विद्यार्थीले यसलाई पढेका छन्’, उनले कारण खोले, ‘यसमा एउटा जीवन छ । यात्राको रोचक वर्णन छ ।’ यदि २०४० सालदेखि निरन्तर २० वर्ष कक्षा ९ र १० को पाठ्यपुस्तकमा नसमेटिएको भए यो नियात्राको चर्चा यति धेरै हुन्थ्यो होला ? ‘भन्न सकिन्न’, झर्रोवादी आन्दोलनका सर्मा दाहिने हातले मुख छोपेर एकछिन गमे, ‘यस्सै भन्न सकिन्न ।’


त्यो नियात्रा पाठ्यक्रममा पर्नु पनि एउटा संयोग थियो । २०३८ भदौमा पीएचडी सकेर अमेरिकाबाट उनी नेपाल फिरेका थिए । त्यतिबेला शिक्षा मन्त्री थिए केशरबहादुर विष्ट । त्रिभुवन विश्वविद्यालय पढाउदाका साथी । सर्मा अंग्रेजी पढाउथे, विष्ट राजनीतिशास्त्र । तिनै विष्टले केशरमहलमा बोलाएर एक दिन भने, ‘कक्षा ९ र १० का विद्यार्थीको नेपाली भाषाप्रतिको लगाव र सीप खस्क्यो । विद्यार्थीका लागि मानक नेपाली भाषा भएन । भाषाको पाठ्यपुस्तक तयार गर्नु प¥यो । त्यसको जिम्मेवारी तिमीले लिनु प¥यो । दक्षिण एसियाको  स्तरमा आउने गरी ३ महिनाभित्र पाठ्यपुस्तक तयार पार ।’

कहिल्यै विद्यालय तह नपढाएका, त्यसमाथि नेपाली र व्याकरण पढाउदै नपढाएका सर्माका लागि मन्त्रीले दिएको त्यो ठूलो हा“क थियो । त्यो चुनौति सामना गर्न उनी पाठ्यपुस्तक लेखनमा साझ विहान नभनेर लागे । नेपालमा नया शिक्षा योजना लागू भएको दश वर्ष चल्दै गर्दा उनी मानक पाठ्यपुस्तक लेखनको तयारी गरिरहेका थिए ।
त्यो काम त्यति सजिलो थिएन । उनी शिक्षा विभाग धाए । भारतको पाठ्यपुस्तक हेरे । दार्जलिङमा विद्यालय तह सकेका इलामका तारानाथ सर्मा भण्डारीले आफू पढ्दाको दिन सम्झे । दक्षिण  एशियाका अन्य भाषा पाठ्यपुस्तक पल्टाए । बेलायत र अमेरिकाका विद्यालयका पाठ्यपुस्तकबारे अध्ययन गरे । पाठ्यपुस्तक लेख्नुछ नेपाली विद्यार्थीका लागि । उनले इलामका लिम्बु सम्झे । हिमालका शेर्पा र तराइका मैथिली भाषी सम्झे ।

‘अनि मलाई लाग्यो’, बेलायत तिर बरालिदा निबन्ध संग्रहका लागि २०२६ सालमै मदनपुरस्कार पाएका उनले सुनाए, ‘माध्यम भाषाका रुपमा चलेको भिन्न मातृभाषा भएका सबै नेपालीले सिक्ने गरी पाठ्यपुस्तक लेख्नु पर्छ । यो देशमा पण्डितहरुमात्रै छैनन् । अनेक जातजाति र भाषा भाषी पनि छन् । मैले तिनलाई हेर्नुपर्छ ।

एउटा पुरानो मोटरसाइकलमा कपन कीर्तिपुर गर्दै, विश्वविद्यालयका विद्यार्थी पढाउदै माध्यमिक तहको पाठ्यपुस्तक लेखिभ्याए । हातले लेखेको त्यो पुस्तक अब टाइप गर्नु थियो । कम्प्युटर आइसकेको थिएन । टाइप गर्यो कहि कहि ह्रस्वदीर्घ बिग्रिहाल्छ । परयो फसाद । उनले सारा पुस्तक हस्तलिखित तयार पारे । तीन प्रति फोटो कपी गरे र मन्त्रालयमा बुझाइदिए ।

‘त्यसपछि’, उनी एकछिन हासे, ‘नेपालीका पण्डितहरुको भेला केशरमहलमा बोलाइयो र पाठ्यपुस्तकबारे छलफल भयो । त्यहा आएका आफूलाई पाठ्यपुस्तकको विज्ञ भन्नेहरु मसित खुब रिसाए । कसैले समको कविता खोइ ?भने, कसैले देवकोटाको कसैले लेखनाथको कविता नसमेटेको भनेर आलोचना गरे । यस्तो पुस्तक कसरी चल्छ भने । म चुप लागेर सुनिरहें ।

उनले साहित्यभन्दा भाषा सिकाइमा जोड दिएका थिए । कथा, लोक कथा, प्रसिद्ध मान्छेका जीवनी, निबन्ध, मनोवाद, वार्तालाप पनि समावेश  थियो । त्यसैमा समावेश थियो उनको नियात्रा घनघस्याको उकालो काट्दा पनि । ‘कविता नभए पनि हुन्छ’, मन्त्री विष्टले उनलाई यसै भनेका थिए, ‘भाषालाई राम्रो र मानक बनाउने गरी लेख्नु परयो । पहिले भाषा अनि साहित्य ।’ उनलाई विष्टको कुरा किन ठीक लाग्यो । विश्वविद्यालयका पण्डितहरुले त बुझ्न हम्मेपर्ने देवकोटा, लेखनाथ, समका कविता साना बालबालिकालाई किन लाद्नु ?

वैठकमा भेला भएका विज्ञ विशेषणधारीले देशमा सबै पण्डितमात्रै छन् भन्ठनेछन्, केशरमहलको त्यो क्षण सम्झिदै सर्माले भने, ‘मैले नेपाली बालबालिकाको मस्तिसक हेरेर लेखेको र बाहुनका छोराछोरीलाई मात्रै पुस्तक नलेखेको जवाफ दिए । कविता र कथाको थुप्रो लगाएर म साहितयको पुस्तक लेखिरहेको छैन । भाषाको पुस्तक लेखिरहेको छु । र भाषा सिकाउने माध्यमका रुपमा पाठ्यपुस्तक तयार गर्दैछु । रुद्री सारेन महाभारत सारेन भनेर भनन पाइन्न । नेपाली भाषा सिकाउने हो कविता सिकाउने होइन भनिदिए ।

राजा महेन्द्रको उनकै लागि पुस्तकको आलोचना गरेर ३ महिना जेल बसेका उनको थितरो जवाफले भेलामा आएका धेरै चिढिए । तिनलाई आफ्नो रचना पाठ्यपुस्तकमा नपरेको पीडा थियो ।

मन्त्रालयले उनको पाठ्यपुस्तक पास गरयो । पाठ्यपुस्तकको नाम राख्यो महेन्द्र माला । महेन्द्रमाला नाम कसरी ?
जनक शिक्षाले पुस्तक छाप्ने भयो । बिग्रेला भनेर प्रुफ समेत आफैले हेरे । त्यसबापत उनले एक रुपैया पाएनन् । २०४० सालदेखि झण्डै २० वर्ष कक्षा ९ र १०मा उनको सम्पादन तथा लेखनको पाठ्यपुस्तक पढाइ भयो । २०४१ सालमा सरकारले उनको पाठ्यपुस्तकलाई सर्वश्रेष्ठ ठहर ग¥यो । २५ हजार पुरस्कार दियो ।
त्यसपछि उनी विद्यार्थी भेट्न हिडे । शिक्षकसित भलाकुसारी गर्न थाले । कसैले प्रसंसा गरे । कसैले सुझाव दिए । त्यसको ४ वर्षपछि फेरि परिमार्जन गरेर पुस्तकमा देवकोटा, सम, पौड्यालको कविता समेटे । लाखौप्रति पुस्तक विक्री भयो । उनले आजसम्म एक रुपैया पारिश्रमिक पाएनन् । पुरै सेवा भयो, मैले केही पाइन, ओझिलो स्वरमाले भने, पटक  पटकका मन्त्रीलाई अनुरोध गरे । कसैले परिश्रमिकमा वास्ता गरेनन् ।

पञ्चालय ढलेपछि उनलाई लागेको थियो सत्तापरिवर्तनसितै अब पाठ्यपुस्तक पनि बदलिन्छ होला तर बदलिएन । त्यसपछिको दशक पनि विद्यालयमा उनकै पाठ्यपुस्तक पढाइ भइरह्यो ।

‘अहिलेका पाठ्यपुस्तक भाषाका होइनन्, साहित्यिक पत्रिकाजस्तो  भएका छन्’, उनल सुनाए, ‘पाठ्यपुस्तक लेखकले विद्यार्थीलाई भाषा सिकाउने कि साहित्य राम्रो अध्ययन गरेनन् । भाषा सिकाउनु पर्नेमा कविता र कथा धेरै राखेर साहित्यिक बनाए  ।’ उनको शब्दमा पद्य साहित्यमा सिकाउने हो, भाषामा होइन । भाषाको आफ्नै नियम हुन्छ । साहितयको आफ्नै शैली हुन्छ ।

भाषा विग्रिदै जानुमा विद्यालय तहदेखिकै पाठ्यपुस्तक दोषी छ । भाषा साहित्यका लागि खडा प्रज्ञा प्रतिष्ठान दोषी छ । प्रज्ञाले भाषामा एकरुपताका लागि नियमित छलफल चलाइरहनु पर्छ, उनको सुझाव छ, भाषामा एक खालका पण्डित छन् अरुलाई सुन्दैनन् । हिज्जेबाट भाषा सुद्ध गर्नु पर्ने बेला आएको छ । शब्दसंयोजन र व्याकरणबाट गर्नु पर्छ ।

संसारभरिका सहायक क्रियाबारेमा पिएचडी गरेको डा साबको अनुभवमा अहिले आदरको प्रयोगमा केही गडबड छ । हिन्दी र अंग्रेजी शब्द प्रयोग बढेको छ । यसको कारण हो नेपालीवीचको सम्पर्क पातलिएको छ । सम्पर्कको कमीले भाषाको विकासमा विचलन हुन्छ ।

‘नेपाली शिक्षक अलमलमा देख्छु’, २०२६ सालका मदनपुरस्कार विजेता बोले, शिक्षण गतिलो बनन सकेको छैन । माध्यमिक तहको मात्रै होइन, उच्च माध्यमिक र विश्वविद्यालय तहमै पनि यो समस्या छ ।

उनकै घनघस्या यात्रापढेर शिक्षक हुनेहरु देशमा हजारौं छन् ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।