Saturday, February 1, 2014

'प्रवेश निषेध’ बाहिर पुरुष

त्यो एउटा संयोग थियो । साँझको ६ बज्नै लाग्दा म त्यो 'पुरुष वर्जित' ढोका अघि उभिएको थिएँ । महिला शौचालयबाहेक सूचना टाँसेरै पुरुषलाई प्रवेश निषेध लेखिएको छुट्टै ठाउँ मैले आजसम्म देखेको थिइनँ । 

ढोकाको एउटा खापा खुला थियो । मेरो टाउकोभन्दा झन्डै एक फिटमाथि ढप्काइएको खापामा टाँसिएको सूचना मैले उभो मुन्टो लगाई दोहोर्‍याएर पढें । मैलो सिसाजडित पुरानो ढोकाको सूचना पढेपछि पहिले म एक्लै मुस्काएँ । मनमनै लाग्यो, 'संसारमा यस्तो ठाउँ पनि रहेछ । जहाँ पुरुष बाहिर र महिलामात्रै भित्र हुन्छन् ।' अरू केही महिला पुरुष भिजिटर पनि सूचना हेर्दै थिए । मेरो मन कुतकुति लगाउने सूचनामा लेखिएको थियो, 'पुरुष भिजिटर भित्र पस्न सख्त मनाही छ ।'

मैले बल्ल पत्तो पाए त्यो पुरुष बर्जित ठाउँ रहेछ । सेतो एप्रोनमाथि सानो सर्पजस्तो कालो स्टेथेस्कोप काँधमा बेरेर बाहिर निस्केकी चिकित्सकले बरन्डामा राखिएका कुर्सी देखाउँदै उभिएका पुरुषहरूलाई भनी, 'त्यता बसिदिनुस् न है भित्र नआउनुस्, ह्याँ केटाहरू पस्न पाइन्नँ ।'

आज्ञाकारी भएर पुरुषहरू पाटन अस्पताल नयाँ भवनको पहिलो तल्लामा अडिए । जुन ढोकाभित्र प्रशव पीडाले छटपटाइरहेका महिलामात्रै थिए ।