Friday, February 17, 2017

मेरो कफी प्रेम


एक चुस्की ताजा कफीसित मेरो अगाध प्रेम छ ।
त्यो प्रेमको चुस्की मैले कतिपल्ट प्रेमीसित आमनेसामने बसेर लगाएँ, कतिपल्ट साथीभाइको छेउछाउ भएर र धेरैपल्ट चाहिँ एक्लै । दूध र चिनी विनाको कडा कफी भरिएको कपबाट निस्केको वाफको वासनाले म हरेक पल्ट उत्तेजित भएँ, हुन्छु । आनन्दित भएर पग्लिएँ, पग्लिन्छु । सिर्जनशील भएँ, हुन्छु । र एक्लै लट्ठिएँ, लट्ठिन्छु ।
थाहा छैन म कसरी कफीको लती भएँ । सुदूर गाउँबाट काठमाडौं छिर्दा मलाई कफीबारे त्यस्तो कुनै जानकारी थिएन । कक्षा ५को जिल्ला स्तरीय परीक्षापछिको एक मध्यान्ह मलाई कसैले चिया खुवायो । चियासितको पहिलो जम्काभेट सुखद रहेन । मेरा कलिला ओठले चुमेको तातो गिलासको एक घुट्को चियाले जब जिब्रो नराम्ररी दरफर्यायो त्यसपछि चिया मलाई कहिल्यै मन परेन ।
करकापमा कसैको मन राखिदिन एकाध बाहेक त्यसपछि मैले चिया खाइनँ । खान्नँ । मद्यपान र धुम्रपानको अम्मल त मलाई कहिल्यै भएन ।
तर कफी ?