Saturday, October 5, 2013

शारदाको सान

शारदा शर्मालाई कसैले साहित्य लेख भनेको थिएन । कविता, कथा, निबन्ध, समालोचना, उपन्यास र अखबारी लेखन थाल्दा उनीसित चर्चित हुने सपना थिएन । बिना कसैको करबल आफ्नो मनमौजी लेखन थालेकी थिइन् । पछिल्लो तीन दशकदेखि निरन्तर उनी लेखकको हस्तक्षेपकारी भूमिकामा छिन् । लेखनका कारण सधैं चर्चामा रहने उनको नाम यसपटक तीन मुख्य कारण थप चर्चामा छ । पहिलो, उनको उपन्यास 'ताप' ले प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको छ जसको राशि २ लाख रुपैयाँ छ । दोस्रो, 'ताप' ले मदन पुरस्कार पाउने हल्ला हल्लामै सीमित भएको छ । र, तेस्रो श्रीमान् नरहरि आचार्य मंसिरमा हुने संविधानसभा चुनावमा फेरि उम्मेदवार भएका छन् ।

'जसले गरेको भए पनि मदन पुरस्कारको गलत चर्चा मेरो नाम र पुस्तकमाथि भएको खेलबाड हो,' श्रीमान् आचार्य उम्मेदवारी दर्ताका लागि जानुअघि बिहीबार कार्यकर्ताले निकालेको जुलुसमा सामेल भएर फर्केकी उनले भनिन्, 'मैले कहिल्यै पुरस्कारका लागि लेखिनँ । पुरस्कार संयोग हो, लेख्नु मेरो आदत हो । मलाई लाग्छ, कुनै पनि गम्भीर लेखक पुरस्कारका लागि लेख्दैनन् ।' खास लेखक आफ्नो गुणवत्ता र मेहनत कम नगरी पुरस्कार नपाए पनि लेखिरहन्छ । शारदा शर्मालाई पनि के लाग्छ भने पाठकको प्रतिक्रिया जतिको ठूलो पुरस्कार एउटा लेखकका लागि संसारमा अरू केही छैन ।

लेखन कसरी सुरु भयो, उनलाई ठ्याक्कै हेक्का छैन । ८ वर्षको छँदा कविता लेखिन् । त्यसपछि जीवनसित जोडिने हरेक कुरालाई उनले सिर्जनात्मक आँखाले हेरिन् । जसले उनलाई जीवन बुझ्न सघायो । हरेक लेखनमा उनको दृष्टिकोण अरूको भन्दा फरक भएर आउन थाल्यो । शैलीमा नयाँपन देखियो । सुरुमा कवि भएर चिनिइन् । त्यसपछि निबन्धकार, कथाकार । समसामयिक विषयमा लेख्ने अखबारी स्तम्भकार र पछिल्लोपल्ट उपन्यासकारका रूपमा उनी पाठकमाझ छाइरहेकी छन् । यही बीचमा उनका ८ वटा किताब छापिएका छन् । र, हरेक पुस्तकले उनलाई एक न एक रूपमा चर्चाकै केन्द्रमा राखेको छ । 'कविता भावनात्मक आवेग हो । एउटा कवितामा मनमा आएजति सबै कुरा अटाउन सकिन्न । निर्बन्ध रूपमा आफ्ना प्रस्ट अनुभूतिहरू पोख्न म निबन्ध, कथा र उपन्यास लेख्छु,' उनले भनिन्, 'लेखेर कुनै कुरा लेखेपछि म आफूलाई हलुङ्गो र आनन्दित अनुभव गर्छु । आनन्दित हुनुभन्दा ठूलो कुरा अर्को के हुन्छ ?'