Sunday, October 2, 2011

गाउँ छिरेको काठमाडौं

काठमाडौं एउटा बुझिनसक्नुको रहस्य हो । देशभरबाट आउने मान्छे यो गर्तमा भासिन्छन् र अटाउँछन् । काठमाडौं दिन-प्रतिदिन बुझ्न नसक्नेगरी दुरुह र झन्-झन् दुरुह हुँदै गएको छ । यो रहस्य गर्तमा सपना यात्रा गरेर भीडभाड र कोलाहलमा रमाउने हजारौं-लाखौं छन् । हिन्दुहरूको मात्रै भनेर व्याख्या गरे पनि दशैंमात्रै यस्तो एउटा पर्व हो, जसले वर्षैसाल गर्तको दलदलबाट केही दिनलाई छुटकाराको अवसर दिन्छ । राजधानी भासिएका ती हजारौं हुत्तिएर गाउँ पुग्छन् । वर्षमा यही एकपल्ट काठमाडौं सुनसान भएर देशभर छरिन्छ । काठमाडौंका घर, सडक, पार्क, रेस्टुरेन्ट सबैले केही दिन कोलाहलमय भीडभाडबाट फुर्सद पाउँछन् । र सहरचाहिँ कुनै निर्जन गाउँजस्तो एकान्त हुन्छ ।


यतिखेर दशैंका लागि धेरैले गाउँ टेकिसके । कतिचाहिँ कलंकी, कोटेश्वर वा बल्खु नाकातिर पुटुक्क कसिलो पुन्टे झोला लिएर घर जाने सवारी कुरिरहेका छन् । कोही हतारिएर विमानस्थलतिर कुदिरहेका छन् । तिनका झोलामा 'काठमाण्डुको कोशेली' छ, एकथान मोबाइल, एकसरो लुगा, केही मरमसला । काठमाडौं यसरी छरिएर ७५ जिल्लाका ३ हजार ९ सय गाविसका प्रायः सबै टोल, नगर र बस्तीमा पुगेको छ । प्रत्येक गाविस/टोलको एउटा मान्छे काठमाडौं छ । प्रत्येक दशैंमा गाउँका नदी, बगर, आली र पाखापखेरामा काठमाडौंको धूवाँ-धूलो
टक्टकिन्छ ।
काठमाडौं आउने बहाना अनेक छन् । सजिलो बहाना हो, गाउँमा अवसर छैन । अवसरका लागि सडक छैन । बिजुली छैन । औषधीमूलो छैन । पढ्न राम्रो स्कुल-कलेज छैन । भएकामा चाहेजस्तो सबै विषयको पढाइ हुँदैन । पढाइ हुने ठाउँमा शिक्षक छैनन् । शिक्षक भएकामा विद्यार्थी छैनन् । उब्जनी झन्-झन् घट्दो छ । भएको उब्जनीलाई बजार छैन । समग्रमा मान्छेको आधारभूत आवश्यकता पूरा गर्ने पैसा गाउँमा प्राप्त छैन ।
काठमाडौंले व्यक्तिलाई 'मान्छे' बन्न, छुट्टै पहिचान बनाउन र अवसरको खोजी गर्न सघाउँछ भन्ने अपेक्षा धेरैको छ । पछिल्लो केही वर्षदेखि संघीयताको चर्चामा रमाइरहेको काठमाडौंमा सामान्य मजदुरी गर्नेदेखि देशको नीति बनाउनेसम्म छन् । उनीहरू सिंहदरबार वा कुनै तारेहोटलमा बस्छन् र गाउँ विकासको योजना बुन्छन् । काठमाडौंसित देशका झन्डै ३ करोड नागरिकको भविष्य कस्तो बनाउने भन्ने शक्ति छ । तिनलाई कता डोर्‍याउने वर्षौंदेखि त्यसको लगाम आफ्नो हातमा समातेर बसेको छ, काठमाडौं ।
निर्देशक नवीन सुब्बाले गतसाल माघ १७ गते चलचित्र 'गुडबाइ काठमाडौं' निर्माण घोषणा गर्दाको भाषण मैले डायरीमा यसरी टिपेको थिएँ, 'व्यक्तिको गाउँमा अट्न नसकेको आकांक्षा, साना सहरले थेग्न नसकेको महत्त्वाकांक्षा काठमाडौं आएर पोखिन्छ । व्यक्ति रातारात यो सहरमा आफ्ना  सपना पूरा गर्न सक्छन् । पूरा भएपछि अझ ठूला सपना देख्छन् । जुन सपनालाई काठमाडौंले पनि थेग्न सक्दैन । काठमाडौं मलाई ट्रान्जिटजस्तो लाग्छ । सपना पूरा गर्ने सहरको खोजीमा निस्कँदा एकछिन सुस्ताउने बिसौनीजस्तो ।'
सुब्बाले भनेजस्तै धेरैका लागि काठमाडौं बिसौनी नै हो । यो बिसौनीमा चल्ने अधिकांश मोबाइल अहिले गाउँमा छन् । आँगन, बारीको पाटो, डाँडो, चौतारी वा स्कुल चौरतिर हल्लिँदै काठमाडौं छाडेपछि विछोडिएको हितैषी, प्रेमी वा आफन्तसित ती मस्ताराम बात मारिरहेका
छन् । काठमाडौंका सपिङ मल, फुटपाथ वा सस्ता होलसेलमा किनेका रेडिमेड कपडा, नयाँ ब्रान्डको जुत्ता, मसला, बीउबिजन धेरैथोक अहिले गाउँ पुगेको छ ।
खरकै छानो किन नहोस्, गाउँको धुरीमा काठमाडौंबाट लगिएको एन्टेनाको टुप्पी पलाएको छ । घर-घरमा रंगीन टीभी र सीडी प्लेयरको हल्ला छ । टीभीले दशैंको सुनसान काठमाडौं देखाउँछ, भर्खर काठमाडौं छोडेर पुगेकाहरू जिज्ञासु भएर हेर्छन् । राजधानीको राजनीति के हुँदैछ, चासो लिन्छन् । सीडी प्लेयरमा सहरको पानपसलमा जस्तो हिन्दी वा लोकदोहोरी घन्केको छ । गाउँका बगर-बगर काठमाडौंमा दर्ता भएका मोटरसाइकल कुदेका छन् । अरू बेला देश खुम्चेर काठमाडौंमा जम्मा हुन्छ, दशैंमा छरिएर गाउँ-गाउँ पुग्छ । गाउँ दशैंका बेला हिजोजस्तो सुनसान हुँदैैन । लिपपोतले चिटिक्क भएर पूरै तङ्ग्रेको गाउँमा काठमाडौंको चहलपहल देखिन्छ ।
हिजो वर्षमा एकपल्ट कामविशेषले काठमाडौं सहर आउने थिए । आज वर्षमा एकपल्ट सहर रित्याएर गाउँ फर्किनेहरू छन् । काठमाडौंको धपेडी, सधैंको चटारो, निराशा र कुण्ठा बिर्सेर युवा गाउँ फर्किन्छन् । प्रौढ र वृद्ध आफ्नै थातथलोमा पुग्न चाहन्छन् ।
जानेर-नजानेर तिनलाई के थाहा छ भने काठमाडौंले कहिल्यै आफ्नो भन्दैन भन्ने छैन । जति दुःख पाएको भए पनि आफ्नै थातथलो धेरैलाई पि्रय हुन्छ । त्यसैले पनि दशैंमा सबै गाउँ जान चाहन्छन् । स्वस्थ, शान्त र सुरक्षित मानिने गाउँमा दशैंमा पुग्दा सहरमा बिर्सेको नाता सम्बन्ध खोजबिन हुन्छ । पहिचान हुन्छ । त्यसलाई पुनर्जीवन दिइन्छ । समाजको सम्बन्ध व्यवस्था स्थापित गर्न दशैं एउटा राम्रो अवसर भएको छ । सहरको ब्युटिपार्लरमा आइब्रो मिलाउँदा, कपाल रंगिचंगी पारेर, जिमखानामा ज्यान बनाएर सहरमा ठाटिँदा युवाले गाउँ बिर्सेलान्, तर दशैंमा तिनले कसैगरी आफ्नो गाउँ बिर्सिन सक्दैनन् । जति नै मगमग भएर काठमाडौंमा ठाँटिए पनि तिनको आँतको एक कुन्तरमा आफ्नो नाभी गाडिएको गाउँको हरक ठस्स बसाउँछ । 
काठमाडौं 'ट्रन्जिट'मा सुस्ताउन्जेल सबै काठमाडौंलाई गाली गर्छन् । कारण सबैभन्दा बढी दुर्गन्ध काठमाडौंमै छ । पानी छैन । सुरक्षा छैन । धूवाँ-धूलो, होहल्ला धेरै छ । महँगो कोठाभाडा र घरधनीसित पर्ने ठाकठुक, किन्नै नसक्नेगरी बढेको सब्जी र चामलको मोल, नैतिक-अनैतिक क्रियाकलाप काठमाडौंका विशेषता हुन् । कामकाजीको तलब बाहेकका सबैथोक दिन दुगुना रात चौगुनाले बढ्छ । जति मान्छे आए पनि यहाँ अटेकै छन्/भासिएकै
छन् । जति नै सास्ती भए पनि मान्छे गाली गर्दै यही बिसौनीमा सुस्ताएर भविष्य खोज्न
चाहन्छन् । र वर्षमा एकपल्ट काठमाडौंलाई सुनसान बनाएर गाउँ जान्छन् । काठमाडौंले बुझ्नुपर्छ, यो गाउँको लगन, अनुशासन र शक्ति हो । यस्तो शक्ति सहरमा कहिल्यै पैदा हुन सक्दैन । किनभने गाउँमा कुनै रहस्य छैन । गाउँ खुला किताबजस्तो छ ।