Thursday, August 4, 2011

Mobile Phones Band in Class Room

कक्षामा मोबाइल प्रतिबन्धित

  • प्लास्टिक प्याक, जंक फुड पनि खाजा लान नपाइने




कक्षामा मोबाइल प्रयोग गर्दै आएका विद्यार्थी-शिक्षकहरू सावधान । शिक्षा विभागले कक्षाकोठामा मोबाइल फोनमा प्रतिबन्धित गरेको हो । अबदेखि विद्यार्थी र शिक्षक दुवैले कक्षामा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । 'मोबाइलले पढाइ प्रभावित भएको गुनासो बढेकाले कक्षाकोठामा प्रयोग रोक्ने निर्णय गरेका छौं,' विभागका निर्देशक डिल्ली रिमालले भने, 'यो नियम विद्यालयतह कक्षा १२ सम्म लागू हुनेछ ।'

प्रतिबन्ध लगाउन तीन साताअघि निर्देशन दिएको विभागले कार्यान्वयनका निम्ति सबै जिल्लामा परिपत्र गरेको छ । यसअघि उच्च माध्यमिक विद्यालय संघले विद्यालय हाताभित्र मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

कक्षामा मोबाइल प्रयोग गरिए अब जफत गरिनेछ । विद्यालयले पनि यसमा चासो र निगरानी बढाएका छन् । यस्ता गतिविधि गर्ने शिक्षक-विद्यार्थी आन्तरिक अनुशासन मूल्यांकनमा कारबाहीको दायरामा पर्नेछन् ।

सहरी क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा मोबाइल प्रयोग बढी छ । राजधानीको वनस्थलीस्थित ज्ञानजागृति ज्ञानरश्मि माविका प्रधानाध्यापक कृष्ण कुँवरका अनुसार सञ्चार सुविधा भए पनि यसको गलत प्रयोगले शिक्षण क्रियाकलापमा समस्या पारेको छ । 'कतिपय विद्यालयले स्वविवेकमा प्रतिबन्ध लगाउँदै आएका थिए, अब राज्यले दिएको निर्देशनले कारबाही गर्नसमेत थप सजिलो भएको छ,' उनले कान्तिपुरसित भने, 'यो निर्देशनलाई विद्यालय र अभिभावकले कडाइसाथ लागू गर्नुपर्छ ।' शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थीका अनुसार निर्देशन नमान्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई कारबाही गर्न स्थानीय तहमा अनुगमन समिति गठन गर्न पनि निर्देशन दिइएको छ । देशभरका १ करोड ११ लाख मोबाइल प्रयोगकर्तामध्ये करिब २० प्रतिशत स्कुले विद्यार्थी रहेको अनौपचारिक अनुमान छ । शिक्षकहरू सबैजसोको मोबाइल हुन्छ । जसले अध्यापन प्रभावित हुने गरेको छ ।

सहसचिव अवस्थीका अनुसार बालबालिको स्वास्थ्यमा प्रतिकूल असर पर्ने प्लास्टिक प्याक भएका जंक फुडको प्रयोग पनि विद्यालयमा प्रतिबन्ध गरिएको छ । उनले चाउचाउ, चिजबल, कुरकुरे तथा केमिकल प्रयोग भएका खाजाले विद्यालय आउने उमेरका केटाकेटीको स्वास्थ्य प्रभावित हुने भन्दै प्रतिबन्ध लगाएको जनाए । उनले भने, 'घरमै बनाइएका परिकार खाजाका रूपमा पठाउन अभिभावकलाई आग्रह गरिएको छ । यसको कार्यान्वयन शिक्षा कार्यालय र क्षेत्रीय शिक्षामार्फत विद्यालयले गर्नेछन् ।'

No comments: