Thursday, August 4, 2011

स्रोतव्यक्ति स्कुलै पुग्दैनन्

काठमाडौ, श्रावण ९ -
देशभरका विद्यालयको शैक्षिक गतिविधि अनुगमन तथा निरीक्षणका लागि खटाइएका स्रोतव्यक्तिमध्ये ७५ प्रतिशतले जिम्मेवारी पूरा नगरेको देखिएको छ । शिक्षा विभागले स्रोतकेन्द्र र व्यक्तिको प्रभावकारिताबारे गरेको अध्ययनले विद्यालयको निरीक्षण नगरी उनीहरूले प्रतिवेदन बनाउने गरेको देखिएको हो । यसले देशभर रहेका करिब १५ सय स्रोतकेन्द्रको गतिविधि तथा औचित्यबारे गम्भीर प्रश्न खडा गरिदिएको छ ।

अध्ययन अनुसार स्रोतव्यक्तिमध्ये ८ प्रतिशतले वर्षमा एकपल्ट र १६ प्रतिशतले ६ महिनामा एकपल्ट कक्षा अवलोकन गर्छन् । विभागका लागि सान्त्वना मेमोरियल एकेडेमीले ६ जिल्लाका ३० वटा स्रोतकेन्द्र र विद्यालयलाई नमुनाका रूपमा लिएर अध्ययन गरेको हो । विद्यालयको शिक्षण गतिविधि अध्ययन गर्नेमध्ये १५ प्रतिशतलेमात्रै 'गुणस्तरीय काम' गर्ने गरेको, २० प्रतिशतले प्राविधिक काममा समय खर्चेको र ७५ प्रतिशत स्रोतव्यक्ति प्रशासनिक काममा अल्झेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा संलग्न गोपाल शुभेच्छुकका अनुसार विद्यालयमा स्रोतव्यक्तिको कामको प्रभाव शून्यप्रायः छ । शिक्षा विभागले ३३ हजार १ सय ६० विद्यालयका लागि सञ्चालन गरेको १ हजार ९१ वटा स्रोतकेन्द्रमा १ हजार ५३ जना स्रोतव्यक्ति कार्यरत छन् । त्यस्तै ४ सय ८० जना विद्यालय निरीक्षक छन् । स्रोतव्यक्ति निरीक्षक मातहत रहेर काम गर्ने गर्छन् ।

शिक्षा विभागका निर्देशक खगराज बरालले बढ्दो विद्यालय र शिक्षक संख्या तथा दक्ष स्रोतव्यक्ति छनोट हुन नसक्दा उनीहरूले प्रभावकारी काम गर्न नसकेको बताए । 'सक्षम व्यक्तिले यसमा प्रवेश पाउन सकेका छैनन् । उनीहरूको कमजोर क्षमताले शिक्षकले सिक्न सकेका छैनन्,' उनले भने, 'राम्रा मान्छे टिक्न सकेनन् । कक्षाको सिक्ने सिकाउने वातावरणमा स्रोतव्यक्ति सहयोगी बन्न सकेका छैनन् । उनीहरू बढी प्रशासनिक भएका छन् ।'

विभागको तथ्यांकअनुसार एक स्रोतव्यक्तिले बढीमा ६० वटासम्म विद्यालय अनुगमन गर्नुपर्छ । त्यसका लागि सबैभन्दा बढी खोटाङमा २७ र मनाङमा ३ वटा स्रोतकेन्द्र व्यवस्था गरिएको छ ।

No comments: