Thursday, August 4, 2011

पाठ्यपुस्तक अभाव नियोजित

काठमाडौ, वैशाख २७ - जनक शिक्षाले नियोजित रूपमा कागज अभाव सिर्जना गरेपछि देशभर पाठ्यपुस्तकको हाहाकार भएको छ । सञ्चालक समितिको निर्देशनअनुसार बेलैमा कागज खरिद नगर्दा करिब १५ लाख थान पाठ्यपुस्तक अभाव भएको हो । आधारभूत र माध्यमिक दुवै तहको अनिवार्य तथा ऐच्छिक विषयका पाठ्यपुस्तक अभाव देखिएको छ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थी प्रभावित भएका छन् ।

जनक शिक्षाका महाप्रबन्धक रामचन्द्र सिलवालले भृकुटी कागज कारखाना बन्द भएको र टेन्डर प्रक्रिया नियमित हुन नसकेकाले पाठ्यपुस्तक छाप्न समस्या भएको कारण बताएका छन् । कागज अभाव हुन सक्ने भन्दै सञ्चालक समितिले ६ सय ५० मेटि्रक टन कागज खरिद गर्न दिएको निर्देशन भने उनले बेवास्ता गरेका छन् । आवश्यक ६ सय ५० मेटि्रक टन किन्नुपर्नेमा उनले २ सय मेटि्रक टनका लागिमात्रै एलसी खोलेर नियोजित अभाव सिर्जना गरेको मन्त्रालयको ठहर छ । जसले गर्दा शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक प्रकाशन पूरा हुन नसकेको हो ।

शिक्षामन्त्री गंगालाल तुलाधरका अनुसार पुस्तक अभावमा महाप्रबन्धकको नियत गडबढ देखिएको छ । 'कि कागज नै खरिद गर्नुभएन, खरिद गर्दा सञ्चालक समितिले गरेको निर्णयभन्दा कम कागज खरिद गर्नुको चित्तबुझ्दो जवाफ उनले दिन सकेका छैनन्,' तुलाधरले सोमबार कान्तिपुरसित भने, 'मैले चासो लिँदा महाप्रबन्धकले 'मन्त्रीज्यू ढुक्क हुनुस्, किताब अभाव हुँदैन' भने । अहिले आम विद्यार्थी अभिभावकलाई सास्ती दिइयो । ६ सय ५० मेटि्रक टन पूरै कागज नकिन्नुमै शंका देखिएको छ ।'

जनकले गरेको पाठ्यपुस्तक अभावबारे अध्ययन गर्न मन्त्रालयले पूर्वशिक्षा सचिव जयराम गिरीको संयोजकत्वमा छानबिन तथा अध्ययन समिति गठन गरेको छ । मन्त्रालयको निर्देशनमा जनककै कर्मचारीहरूसमेत यसको वास्तविक कारण पत्ता लगाउन गोप्य रूपमा खटिएका छन् । जनक शिक्षाका एक उच्च अधिकारीका अनुसार पाठ्यपुस्तक अभाव हुन्छ भन्ने जान्दाजान्दै सिलवालले नियोजित रूपमा पूरै कागज खरिद नगरेका हुन् । मन्त्रालयमा उनले पेस गरेको तथ्याङ्क र रिपोर्टमा भने पाठ्यपुस्तक प्रकाशन बेलैमा सकिने उल्लेख छ । 'उनले २ सय मेटि्रक टनले पुग्छ भन्ने जवाफ दिए,' मन्त्रीले भने, 'नयाँ शैक्षिक सत्र सुरु भएका हप्तापछि पुस्तक छाप्न सकिन्न भन्न थाले । कागज पुग्दैन भन्ने कुरा पहिल्यै किन जानकारी भएन ? यसमा केही खोट छ । छानबिनको रिपोर्टमा दोषी देखिनेलाई कारबाही हुन्छ । म दोषी भए ममाथि पनि कारबाही होस् ।'

भृकुटी बन्द भएपछि जनकले एभरेस्ट कागज कारखानाबाट दैनिक करिब ७ मेटि्रक टनका दरले कागज खरिद गरिरहेको छ । एभरेस्टले दैनिक करिब १५ मेटि्रक टन कागज उत्पादन गर्छ । महाप्रबन्धक सिलवालले अख्तियार तथा लेखा समितिले समात्ने डरले सञ्चालक समितिले भनेअनुसार ६ सय ५० मेटि्रक टन कागज खरिद नगरेको बताए । त्यही निर्देशनअन्तर्गतको २ सय मेटि्रक टन किनेको बारे भने उनले आलटाल जवाफ दिएका छन् ।

'त्यो तत्कालका लागि किनिएको थियो,' उनले भने, 'मलाई मन्त्रीज्यूले कुनै काममा रोक्नुभएको छैन । भनेजति कागज किन्न सञ्चालक समिति र मन्त्रीज्यूले अनुमति दिएको हो । मैले बेलैमा पाठ्यपुस्तक दिन नसकेकामा विद्यार्थी-अभिभावकप्रति सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ ।' गत साउनदेखि सुरु जनकको कागज खरिद टेन्डर दस महिनापछि यसपालि वैशाख १२ गते टुंगिएको छ । महाप्रबन्धक सिलवालले 'प्राविधिक कारण' टेन्डर प्रक्रिया लामो समयसम्म पूरा हुन नसकेको बताए । त्यो प्राविधिक कारणबारे उनले प्रस्ट्याएनन् । टेन्डर प्रक्रिया टुंगिएकाले अब १० दिनभित्र आवश्यक पाठ्यपुस्तक प्रकाशन सक्ने प्रतिबद्धता उनले जनाएका छन् ।

साझा प्रकाशनले बारम्बार पाठ्यपुस्तक माग गर्दा पनि जनकले छाप्न चासो नदिएको आरोप लगाउँदै आएको छ । 'हामीले मागेजति दिनुस्, बिक्री नभए त्यसको मूल्य तिर्छौं भन्दा पनि जनक शिक्षाले दिएन,' साझा प्रकाशनका बजार प्रमुख रुद्र न्यौपानेले भने, 'अहिलेसम्म हामीलाई ३२ लाख थान पुस्तक वितरणका लागि आएको छ । हामीले सबैतिर वितरण गरेका छौं । अभाव हाम्रो कारण होइन, जनककै कारणले हो ।' सामान्यतया गत वर्षको बिक्री अनुपातमा १० प्रतिशत बढाएर र शिक्षा विभागको विद्यार्थी तथ्यांकका आधारमा जनक शिक्षाले पुस्तक छाप्ने गर्छ । जनकले गत वर्ष १ करोड ६ लाख थान पाठ्यपुस्तक बिक्री गरेको थियो ।

No comments: