Thursday, August 4, 2011

सामुदायिकका ५४% फेल


सरकारी तलब सुविधाका दक्ष शिक्षक र आफ्नै भौतिक पूर्वाधार भएर पनि सामुदायिक विद्यालयको एसएलसी नतिजा कमजोर देखिएको छ । नतिजा प्रकाशनको तीन दिनपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले गरेको प्रारम्भिक तथ्यांक विश्लेषणमा सामुदायिकको उत्तीर्ण दर ४६ दशमलव ६२ मात्रै देखिएको छ । यसमा शिक्षकको लापरबाही, विद्यालयमा राजनीतीकरण र विद्यालयप्रति राज्यको बेवास्ता जस्ता पक्षहरू जिम्मेवार रहेको विश्लेषकहरूले औंल्याएका छन् । नतिजाअनुसार निजीको उत्तीर्ण दर भने ८९ दशमलव ५१ प्रतिशत छ ।

परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले सामुदायिकको नतिजा निराशाजनक देखिएको बताए । 'विद्यालयमा शिक्षणमात्रै भएको छ, सिकाइ भएको छैन भन्ने यसले देखाउँछ,' नियन्त्रक गौतमले कान्तिपुरसित भने, 'सामुदायिक विद्यालयलाई प्रभावकारी नबनाएसम्म नतिजा सुधि्रन गाह्रो छ ।'

प्रारम्भिक विश्लेषणअनुसार देशका केही सामुदायिक विद्यालय नील समेत भएका छन् । सीमित सामुदायिकले मात्रै विशिष्ट श्रेणीमा विद्यार्थी उत्तीर्ण गराएका छन् । दोस्रो श्रेणीमा उत्तीर्ण हुने अधिकांश सामुदायिकका छन् । कमजोर नतिजा दिनेमा राजधानी, तराई र पहाडी क्षेत्र सबैतिरको अवस्था उस्तै रहेको पनिकाले जनाएको छ । उपत्यका र जिल्ल्ाा सदरमुकाम क्षेत्रका केही सामुदायिकको नतिजा भने राम्रो छ ।

यसपालि सामुदायिक विद्यालयबाट एसएलसीमा सहभागी ३ लाख ७ हजार ६ सय ११ विद्यार्थीमध्ये झन्डै ५४ प्रतिशत फेल भएका छन् । निजी विद्यालयबाट सहभागी ८४ हजार ६ सय १३ परीक्षार्थीमध्ये १० प्रतिशतमात्रै फेल भएका छन् । त्यस्तै, प्राइभेट परीक्षा दिएका ५ हजार ५ सय ३५ मध्ये ७० प्रतिशत फेल भएका छन् ।

शिक्षाविद् प्रा. केदारभक्त माथेमाका अनुसार सामुदायिक विद्यालयको सुपरिवेक्षण र शिक्षकलाई उत्तरदायी बनाउन राज्यले पहल नगर्दा यस्तो परिणाम आएको हो । 'जिल्ला शिक्षादेखि स्रोत व्यक्तिसम्मका व्यक्तिले दायित्व निर्वाह गरेका छैनन् र त्यसमा कसैको अनुगमन छैन भन्ने यसबाट छर्लङ्ग हुन्छ,' उनले भने । 'सामुदायिकका केही शिक्षक राम्रा छन्, धेरै शिक्षक पढाउनभन्दा राजनीतिमा बढी लगाव राख्छन् ।'

शिक्षा मन्त्रालयका अनुसार देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तालिमप्राप्त छन् । सरकारले कुल बजेटको १७ प्रतिशत शिक्षामा र त्यसमध्येको अधिकांश बजेट विद्यालय शिक्षामा खर्चिने गरेको छ । दाताले पनि विद्यालय शिक्षालाई प्राथमिकतामा राखेर सघाउने गरेका छन् । हरेक साल विद्यार्थी अनुत्तीर्ण दर नघट्दा सामुदायिक विद्यालयको आलोचना हुने गरेको छ ।

पटकपटक उत्कृष्ट विद्यालयको राष्ट्रिय पुरस्कार विजेता काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनञ्जय शर्माले शिक्षक कक्षाप्रति भन्दा राजनीतिक पार्टीप्रति बढी उत्तरदायी हुँदै गएकाले सामुदायिक विद्यालयको स्तर खस्केको बताए ।

राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले भने नतिजा खस्किनुमा शिक्षाका प्रशासक, विद्यार्थी, अभिभावक र शिक्षक सबै दोषी रहेको दाबी गरे । 'केही शिक्षक राजनीति गर्लान्, सबैलाई एउटै घानमा हाल्न मिल्दैन,' उनले तर्क गरे, 'दोष शिक्षकलाई दिएर सरकार दायित्वबाट उम्किन खोज्दै छ ।'

No comments: