Sunday, May 23, 2010

Book REview Naya Patrika

साइबर युगका कथाहरु

Font size: Decrease font Enlarge font
image

किताब : नीलिमा र गाढा अँध्यारो

विधा : कथा-संग्रह

लेखक : अनमोलमणि

प्रकाशक : ओरिएन्टल पब्लिकेसन

संस्करण : पहिलो, २०६६

फुटकर रूपमा अनमोलमणिका कथा पढिएकै हो । लघुकथा, कविता लेखनमा निकै राम्रा दरिएका यिनका कथा थोक रूपमा पढेको चाहिँ पहिलोपटक हो । साइबरजगत् पसाएर लेखेका अनमोलका यस संग्रहका कथाले मानवीय संवेदना, सम्बन्ध र दुःखका कुरा एकैपटक बोल्छन् ।

अनमोलमणि आफ्ना कथाका संख्या बढाउनपट्टि उति लागेनन्, बरू राम्रा कथा दिनतिर ध्यान दिए । बिस्तारै, रोकिएर लेखे । ६ वर्षमा एक दर्जनमात्र कथा लेखे । यस संग्रहमा देखिएका अनमोलका कथाले बदलिँदो समाज र विज्ञानका चमत्कारलाई अँगालो हालेका छन् । किताबमा भएका कथा प्रभावशाली लाग्छन् । यसको शीर्ष कथा नीलिमा र गाढा अँध्यारो निकै प्रभावशाली प्रयोगवादी कथा हो । शीर्ष कथा पनि संग्रहको पहिलो टेस्ट्युब बेबी र मेरी प्रमिकाजस्तै भर्चुअल रियालिटीमा आधारित कथा हो । संग्रहको पहिलो कथामा लेखक भन्छन्- 'तिमीलाई थाहा छ ? अब सहरका क्लिनिकहरूमा दूध वा तेलका ट्यांकीजस्ता वीर्यका ट्यांकीहरू राखिनेछन् । सहरका डाक्टरहरू वीर्य बेचेको पैसामाथि सुत्नेछन् । वीर्य बेच्ने पुरुषहरू शिथिल भएर कालोपत्रे सडकमा मधुरो छाया हेर्दै लठक-लठक शिथिल हिँड्नेछन् ।' यस कथामा लेखकको विश्वव्यापीकरण र साइबर संस्कृतिप्रतिको दृष्टिकोण मिसिएको छ । टेस्ट्युब छोरोसँगको संवाद र साइबर जीवन उनको कथामा देखिन्छ । त्यो कथा एउटा संवेदनशील समाजको प्रतिविम्ब हो । प्रसव-वेदना सहन नसक्ने आमाहरूको वर्णन पनि हो यो कथा ।

यो शताब्दीमा भएका प्रयोगले मरिसकेको मान्छे बचाउनेबाहेक सबै गरेको छ । तिनै प्रयोगहरूको प्रतिविम्ब हो उनका कथा । कार्नेसन्, धुवाँ र तिम्रो झझल्को, पीडा-नायक, रुमाल हराएपछिजस्ता प्रेमका कथामा उनले नौलो प्रयोग गर्न खोजेका छन् । गि्रकमा पाइने कार्नेसन फूलको प्रसंग, पशुपतिपरिसरमा अन्तिम समयको पर्खाइ, भोटाहिटीको पसलमा भेटिएको बालसुलभता पनि कार्नेसन्, धुवाँ र तिम्रो झझल्को कथामा उनेका छन् । सहर-यात्रा र जेब्राक्रसमा उभिएर कथामा अन्य कथामा पाइएजस्तै माओवादी छापामारलाई नै विषयवस्तु बनाइएको छ, जुन नयाँ प्रयोग होइन । कथामा पाइएका सम्बन्धविच्छेद, लगन जुरेकोजस्ता प्रसंगले पाठक अलमलमा पर्न सक्छन् ।

कतै यस्तो लाग्छ, अनमोलका कथाहरूले अहिलेको नेपालको यर्थाथ खिच्छन् । नारीले गरेको सामाजिक विद्रोह पनि कथामा देखाइएको छ । बदलिँदो परिवेश र मानिसको चेतनामा आएको फरकपन पनि कथामा पाइन्छ । कतै-कतै लेखकले कल्पनासँगको उडान पनि गजबले भरेका छन् । अनमोलमणि प्रयोग रुचाउने युवा कथाकार हुन् भन्न करै लाग्छ । कथाहरू नौला र पठनीय छन् । उनका कथामा पुरानो समाज कतै छेकिँदै गएको हो कि झै लाग्छ । कथामा यन्त्रले शासन गरिरहेको, नौलो परिवेश र भूगोल देखिन्छ । कतै यति प्रयोग भएका छन् कि पाठकले जबजरस्ती पचाउनुपर्ने हुन्छ । आख्यान रुचाउने नेपाली पाठकले यस किताबलाई पढ्नेछन् ।

http://www.nayapatrika.net/newsportal/book_review/7555.html

No comments: