Sunday, May 23, 2010

Book REciew

अनमोलको 'नीलिमा र गाढा अँध्यारो'

रमेशमोहन अधिकारी

अनमोलमणि पौडेलको कथासङ्ग्रह नीलिमा र गाढा अँध्यारो पढेँ। नेपाली साहित्यको उत्तरआधुनिकता तर्फको सम्मोहनले म तानिएँ।

पहिलो कथा टेस्टट्युब बेबी र मेरी प्रेमिका' अति यथार्थवादी लाग्यो। यौनको चरम रूप पाइने यस कथामा वैज्ञानिक आविष्कारको दुरुपयोगप्रति चरम व्यङ्ग्य पाइन्छ। यस कथामा वैज्ञानिक आविष्कारले गरेको चमत्कार तथा यसले सिर्जेको जटिलता व्यक्तिएको छ। टुङ्ग्याइ सटीक छ। कथा स्तरीय छ। यस कथामा 'असक्षम' जस्तो अशुद्ध तथा 'प्रोफेस' जस्तो अनेपाली प्रयोग पाइन्छ। लिङ्गगत विचलन पाइन्छ।

'पीडानायक' मा मन्दिरहरू प्रेमको अखाडा बन्ने गरेको यथार्थता पाइन्छ । विसङ्गतिवादको झल्को पाइने यस कथामा 'लेउ लागेको पोखरी', 'खुँडे जून' जस्ता प्राकृतिक तथा सुन्दर बिम्ब प्रयोग भएका पाइन्छन् भने 'लती' जस्तो शब्द निर्माण पनि गरिएको पाइन्छ। अङ्ग्रेजी शब्द 'मास्टर' शब्दको प्रयोग पाइन्छ। हिन्दीप्रभावित वाक्यको प्रयोग पाइन्छ। पर्यावरणबाट स्थिति वा घटनाको सङ्केत गर्ने क्रम देखिन्छ। कवितात्मक शैलीको प्रयोगले कथा सुन्दर भएको छ।

'अनुत्तरित' कथामा विज्ञानले उत्पन्न गरेको जटिलताप्रति प्रश्न र व्यङ्ग्य छ। यस कथामा अस्तित्ववाद तथा विसङ्गतिवादको प्रभाव पाइन्छ।
'जेब्राक्रसमा उभिएर' मा द्वन्द्वकालको यथार्थ चित्रण पाइन्छ। द्वन्द्वको नियतको स्पष्टता पाइने यस कथामा फ्ल्यासब्याकमा द्वन्द्वकालीन अपराधको लघुवृत्तचित्र हेर्न पाइन्छ। वर्णविन्यासगत त्रुटि तथा लिङ्गगत विचलन पाइने यस कथामा मुद्रणत्रुटि पनि पाइन्छ। अप्रचलित शब्द 'राँटा' को प्रयोग भेटिन्छ। कथा स्तरीय छ।

'नीलो रुमाल हराएपछि' मायावादी कथा हो। यसमा दार्शनिकता छ। प्रतीकहरू प्रयोग गरिएको यस कथामा सम्बन्ध बिग्रनुलाई 'रुमाल हराउनु' र गहिराइलाई 'नीलो दह' जस्ता सुन्दर प्रतीकले सिँगारिएको छ। अनेपाली 'पिङ्क' शब्द प्रयोग भएको छ भने वर्णविन्यासगत तथा मुद्रणत्रुटि पनि छन्।
'बाँकी प्रश्नहरू' कथामा भोकले स्मरणशक्तिसमेत गुमाउने मानिसक संवेदना जो कोहीले बुझ्न नसक्ने यथार्थता व्यक्त भएको छ। यस कथामा दरबार विवेकहीनहरुको अखाडा भएको भाव व्यक्त गरिएको छ। यसै गरी बुद्धिमानहरूका अगाडि बलशालीहरू डराउने यथार्थता व्यक्त भएको छ। प्रत्येक समस्याको समाधान र अवस्था बुझ्ने क्षमता प्रहरीसँग नहुने भाव व्यक्त गरिएको छ। स्वाभिमानिताको भावसमेत वहन गरेको यो कथा स्वैरकल्पनाले सुन्दर बनेको छ।

'सहरयात्रा' कथामा माओवादीको सक्कली रूपको उद्घाटन गरिएको छ। अनेपाली 'भागारेभाग' शब्दको प्रयोग भएको छ।

'उस्तै' नारीवादी कथा हो। यस कथामा नारी सौन्दर्यको पारख गरिएको पाइन्छ। नारीको अस्तित्व तथा मौलिक पहिचानको खोजी गरिएको पाइन्छ। स्वच्छन्दताको वकालत पाइन्छ। आन्दोलनकारीहरूको सम्झौतावादी प्रवृत्ति तथा नेपालीहरूको फुटवादी प्रवृत्तिप्रति तीक्ष्ण व्यङ्ग्य पाइन्छ। अस्तित्ववादी तथा विसङ्गतिवादी प्रवृत्ति पाइने यो कथा विनिर्माणले उत्तरआधुनिक बनेको छ। उपजीव्य स्रोतको पुनर्लेखन गरिएको छ। कथा लामो छ। वर्णविन्यासगत, मुद्रणत्रुटि तथा अनेपाली प्रयोग 'इमोसनल ब्ल्याकमेल' पाइने यस कथामा आदरगत विचलन पनि पाइन्छ। ज्ञानतावश वा अज्ञानतावश एक अनुच्छेद पुनरावृत्त भएको छ। प्रतीकको प्रयोग भएको छ। कथा स्तरीय छ।
'नीलिमा र गाढा अँध्यारो' मा विज्ञानको चमत्कार तथा त्यसले सिर्जेको भ्रमको व्यक्तीकरण छ। यस कथामा कताकता कथाकारको नामिक मोह व्यक्त भएको छ। भाषिक प्रयोगमा शब्दान्तर पाइन्छ। 'आभास' हुनुपर्ने ठाउँमा 'आवास' पर्न गएको छ।

'यथावत्' कथामा यन्त्रप्रतिको भरोसामा प्रश्नचिह्न लगाइएको छ। यन्त्रले वस्तुतथ्य मात्र बताउन सक्ने तर हार्दिकजस्ता केही पक्ष अप्रकट नै रहने यथाथर्ता औँल्याइएको छ। नारी सौन्दर्यको पारख गरिएको छ भने आधुनिक ठान्ने नारीहरूको पतिफेरुवा प्रवृत्तिको प्रकटीकरण गरिएको छ। ग्यालिलियो चन्द्रमामा पुगेको तथ्यगत असङ्गति तथा मुद्रणत्रुटि पाइन्छ। यसै गरी विवाह गर्नुअघि केटाकेटी दुवैले एकले अर्कालाई बुझ्ने चेष्टा गर्नुपर्ने सन्देश दिन खोजिएको छ।

'कार्नेसन, धुवाँ र तिम्रो झझल्को' उपजीव्य स्रोतको आंशिक प्रयोग भएको कथा हो। यस कथामा हतियारप्रतिको विमोह प्रकट भएको छ ।
कतिपय कथाहरू उत्तरआधुनिक छन् , कतिपय स्तरीय छन् र अझ कतिपयमा कसरमसर पनि छन्।

अनमोलका कथाहरू नेपाली युवा पुस्तामा नाक ठड्याउन मिल्ने कथाहरू हुन्। कथाकार भाषिक प्रयोगप्रति सचेत छन् र पनि अझ आवश्यकता छ परिष्कारको ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Monday, April 12, 2010, 9:42 am

http://www.samakalinsahitya.com/?show=detail&art_id=2022

No comments: