Saturday, February 1, 2014

'प्रवेश निषेध’ बाहिर पुरुष

त्यो एउटा संयोग थियो । साँझको ६ बज्नै लाग्दा म त्यो 'पुरुष वर्जित' ढोका अघि उभिएको थिएँ । महिला शौचालयबाहेक सूचना टाँसेरै पुरुषलाई प्रवेश निषेध लेखिएको छुट्टै ठाउँ मैले आजसम्म देखेको थिइनँ । 

ढोकाको एउटा खापा खुला थियो । मेरो टाउकोभन्दा झन्डै एक फिटमाथि ढप्काइएको खापामा टाँसिएको सूचना मैले उभो मुन्टो लगाई दोहोर्‍याएर पढें । मैलो सिसाजडित पुरानो ढोकाको सूचना पढेपछि पहिले म एक्लै मुस्काएँ । मनमनै लाग्यो, 'संसारमा यस्तो ठाउँ पनि रहेछ । जहाँ पुरुष बाहिर र महिलामात्रै भित्र हुन्छन् ।' अरू केही महिला पुरुष भिजिटर पनि सूचना हेर्दै थिए । मेरो मन कुतकुति लगाउने सूचनामा लेखिएको थियो, 'पुरुष भिजिटर भित्र पस्न सख्त मनाही छ ।'

मैले बल्ल पत्तो पाए त्यो पुरुष बर्जित ठाउँ रहेछ । सेतो एप्रोनमाथि सानो सर्पजस्तो कालो स्टेथेस्कोप काँधमा बेरेर बाहिर निस्केकी चिकित्सकले बरन्डामा राखिएका कुर्सी देखाउँदै उभिएका पुरुषहरूलाई भनी, 'त्यता बसिदिनुस् न है भित्र नआउनुस्, ह्याँ केटाहरू पस्न पाइन्नँ ।'

आज्ञाकारी भएर पुरुषहरू पाटन अस्पताल नयाँ भवनको पहिलो तल्लामा अडिए । जुन ढोकाभित्र प्रशव पीडाले छटपटाइरहेका महिलामात्रै थिए ।

 तिनका पुरुष र पुरुष आफन्तहरू ढोका बाहिरै रहे । तिनले छोराछोरी पाउने बेला आमा छटपटाएको देखेनन् । देख्नबाट वञ्चित भए । 

छेउको एउटा कुर्सीमा मैले पनि आफूलाई बिसाए । त्यसपछिको एक्काईस दिनसम्म मैले निरन्तर सूचना पढिरहेँ । हरेक दिन त्यहाँ भेटिने पात्रहरू फेरिए । हान्निएर आउथे, ढोकामा पुगेपछि सूचना पढ्थे वा सुरक्षा गार्डले रोकेपछि हिस्स भएर यताउता हेर्थे । कुनै दिन नर्सहरू रिसाउँदै भन्थे, 'सूचना पढ्नु भएन । किन सरासर भित्र ? केटामान्छे आउन पाइन्न भन्ने थाहा छैन ?' आफन्त भेट्न हुरिँदै आएकालाई चिरकट्टोमा लेखिएको कुरा के थाहा ? नर्सहरू बित्थामा रिसाए ! 

हरेकका भिन्न समस्या थिए । त्यहाँका चिकित्सकका आफ्नै समस्या । ती हान्निदै आउँथे । हान्निदै जान्थे । बेफुर्सदी । नर्सका आफ्नै समस्या । ती लस्याक लस्याक आउँथे, लस्याक लस्याक जान्थे । अल्छीलाग्दो गरी । प्रसव पीडामा रहेका र गर्भवती महिलाको आफ्नै समस्या । ती कराउँथे । चिच्याउँथे । आफ्नो बढेको भुँडी ढल्काउँदै बाहिर भित्र, तलमाथि गर्थे । बाहिर बस्ने तिनका पुरुष र पुरुष आफन्तको आफ्नै समस्या । ओठ कलेटी पारेर बाहिर बस्थे । छेवैकोसित सोध्थे, तपाईं आएको कति दिन भयो ? अनि के भएर ल्याउनु भा हो ? पुरुष बर्जित ढोकामा कुनै नर्सले तिख्खर आवाजमा कसैको नाम बोलाएर 'फलानोका मान्छे कोही छ' भन्दा तिनको कान निकै चनाखो हुन्थ्यो । र आफन्तको नाम आउने आशामा कान तिखो पारेर राख्थे ।

'पश्चिमा मुलुकमा त्यस्तो हुँदैन, श्रीमान् वा उसको पुरुष साथीलाई प्रवेश दिइन्छ । हामीकहाँ त्यो चलन आइसकेको छैन,' पाटन अस्पतालका 

मेरा मित्र चिकित्सकले एक दिन भने, 'सबैलाई एकै ठाउँ राखिएको हुन्छ । सेपेरेट छैन । त्यसैले पुरुष 

प्रवेश निषेध गरिएको हो ।' तिनको कुरो सही हो । प्रसूति गराउने ठाउँमा पुरुष प्रवेश गराउनु त्यति वैज्ञानिक छैन । पुरुष छिरेर तिनको व्यथा कम हुने भए पो !

एकखाले र्‍याडिकल फेमिनिस्टहरू भन्छन्, 'बच्चा पाउने काम अब पुरुषले पनि गर्नुपर्छ ।' तीनहप्ते पाटन अस्पतालको आउजाउमा एक दिन मैले चिनजानकी नर्ससित सोधें, 'पुरुषले गर्भ बोक्न थाले भने महिलालाई प्रवेश निषेध हुन्छ होला हैन ?' ऊ बेस्मारी हाँसी । हल्का उछिट्टएिका आफ्ना दाँत दाहिने हातले छेक्दै भनी, 'छ्या ! तपाईं त कस्तो कस्तो कुरा सोध्नुहुँदो रैछ ।'

यसमा छ्या भन्नुपर्ने कुनै कुरै छैन । यौन, गर्भ वा प्रसूति प्राकृतिक नियम हो । हामी छ्या भनेरै टार्दै पछि परिरहेका छौं । छ्या भन्दै आमाले छोरीलाई यस्ता कुरा बताउँदैनन् । बाउले छोरालाई यस्ता कुरा सम्झाउँदैन । शिक्षकले विद्यार्थीलाई पढाउँदैनन् । अभिभावक, परिवार, समाज छ्या भन्दै यसलाई गुपचुप बनाउन चाहन्छ । प्रजनन् स्वास्थ्य र मातृशिशुबारे कक्षामा पढाउँदा केटीसाथीले घोसे मुन्टो लगाएको, केटाहरूले अनुहार र कान रातो पारेको मलाई हिजैजस्तो लाग्छ । 

त्यै भएर धेरै नेपालीलाई थाहा छैन, सयजना गर्भवतीमध्ये ८४ जनाले मात्रै जीवित बच्चा जन्माउँछन् र १६ प्रतिशतले मृत । सय गर्भवतीमध्ये ७ प्रतिशतको गर्भ छोटो समयमै खेर जान्छ । त्यस्तो बेला के गर्ने, कसलाई भन्ने तिनलाई लाज, धक र डर एकसाथ हुन्छ । अध्ययनहरूले भन्छ, नेपालमा प्रसूतिका बेला प्रतिलाखमा २ सय २९ जना आमाहरूको ज्यान जान्छ । यसरी ज्यान जाने थोरै आमाहरूको मात्रै बच्चा जीवित रहन्छ ।

पुरुष प्रवेश निषेधबाहिर लबीमा मैले भेटेका केही पात्र यस्ता थिए, आमालाई पुरुष बर्जित ठाउँमा राखिएको थियो । छोरी स्नातककी विद्यार्थी थिई । पहिले त उसले कुरा गर्न धक मानी । जब खुलेर कुरा गर्न थाली उसले भनी, 'मैले दिदी भन्ने गरेकी छु । आमालाई डेलिभरी गर्न ल्याएको भन्दा लाज लाग्छ । मेरी बहिनी कक्षा १० पढ्दै छे । छोराको रहरले आमा फेरि गर्भवती हुनुभयो । म स्याहार्दै छु ।'

एक मध्याह्न उनका पिताजी भेटिए । छोराको इच्छाबारे कुरा गर्दा फिस्स हाँसे । पटक पटक कुरा दोहोर्‍याएपछि सायद दिक्क लागेर होला मध्यम वर्गीय शिक्षित र सरकारी जागिरे उनले भने, 'पछि थाहा पाउँछौ भाइ । आफ्नो मात्रै इच्छाले मुलुक चल्दैन ।' एक्काईसौं दिन पनि मैले बाउ छोरीलाई देखेको थिएँ । भेटिहाल्दा छोरी मुसुक्क हाँस्थी । बाउचाहिँ नदेखे हुन्थ्योझैं गर्थे । 

एकजना टेलिकमका कर्मचारी थिए । पानीको मात्रा कम भएकाले उनको बच्चा खेर गएकोमा चिन्तित थिए । अर्का सामान्य नागरिक, ब्लड प्रेसरका कारण पाठेघरमा भ्रूणको विकास राम्ररी नभएर ७ महिनामा बच्चाको तौल जम्मा १ केजी पनि पुगेन र बचाउन सकिएन । अर्का थिए शिक्षक । ललितपुरको ग्रामीण भेकका । दोस्रो बच्चाका लागि पाटन आएका । भन्थेे, 'तालिममा गएकी श्रीमती एक्कासि फेन्ट भई । कारण थियो, ब्लड प्रेसर हाई । घरमा कोही छैन । एक्लो छु । सारै गारो परिरहेको छ ।' उनले आफू सुत्न मिल्ने म्याट, एक थान तन्ना र केही भाँडाकुँडा पनि ल्याए । सधैं बाहिरबाट चिया, बिस्कुट, रोटी, खाना ल्याउँथे । पुरुष प्रवेश निषेध थियो । कोही महिलालाई उनी अनुरोध गर्थे भित्र पठाउँथे । धेरैजसो श्रीमतीलाई फोन गर्थे र बाहिर बोलाएर सामान भित्र पठाउँथे ।

साँझको बेला त्यहाँको दृश्य हेर्नलायक हुन्थ्यो । हटकेसमा खाना बोकेर आउने जानेको लाम नै देखिन्थ्यो । म्याट र तन्ना ओछ्याएर सुत्न ठिक्क ओच्छ्यान देख्दा लाग्थ्यो त्यो अस्पताल होइन सस्तो खालको लज हो । कक्षा ३ पढ्दा ढिँडो खाएर म हेटौंडाको त्यस्तै लजमा सुतेको थिएँ ।

चिकित्सकहरूका अनुसार पछिल्लो समय मान्छेमा चेतना पनि बढ्दै छ र समस्या पनि बढ्दै छ । सहरका गर्भवती महिलामा प्रेसरको समस्या छ । प्रेसर बढी भए पनि समस्या, कम भए पनि समस्या । गाउँका महिलामा पोषणको समस्या छ । सहरका महिला डाइटमा जोड दिइरहेका छन् । जंक फुडले बच्चा जन्मिँदै साथमा जन्डिस पनि लिएर आउँछ । सहरको तरकारी स्वस्थ छैन । पानी स्वस्थ छैन । वातावरण स्वस्थ छैन । 

मलाई लाग्यो दैनिक सयौं बिरामीको उपचार भइरहने अस्पताल यस्तो ठाउँ रहेछ, जहाँ बिरामी निको हुने र सद्देहरू बिरामी हुने रहेछन् । धन्न पाटन अस्पतालको सेवा नेपालका सामुदायिक अस्पतालमध्येकै अब्बल छ र सामान्य मान्छे पनि स्वास्थ्यको पहुँचमा सजिलो गरी पुग्न सकेको छ । यदि निजी अस्पतालमा त्यही सेवा लिनुपर्दो हो त हुँदा खाने आम नागरिक कसरी बाँच्दा हुन् ?

अस्पताल गएपछि थाहा हुन्छ, प्रसूति वा अन्य जे सुकै व्यथा लिएर अस्पताल आउने आम मान्छेका पीर, दुःख र व्यथाहरूमा कुनै वर्ग छैन, समानता छ । मान्छेको जीवनमा बच्चा जन्मिनु खुसी हो । खुसी खोज्न अस्पताल पुग्नेहरू पनि दुःखी भएका छन् । जन्माउने आमाको दुःखको फेहरिस्त लामो हुन्छ । त्यही भएर आमाले कहिल्यै छोराछोरीलाई ठूलो देख्दिनँ । संसारमा आमाभन्दा अग्लो मान्छे अरू हुनै सक्दैन । दुई दशकपहिले संसार छाड्नुअघि आमाले मलाई भनेकी थिइन्, 'तँ नाथु मेरो पेटिकोटमा जन्मेको होस्, जुठेल्नामा ।' आमाको यो आवाज मेरो कानमा अहिले पनि गुन्जिरहन्छ । 

निकै दिनको लबीको अवलोकनपछि एक दिन मलाई ढोकामा टाँसिएको 'पुरुष प्रवेश मनाही' गरिएको सूचनाको तस्बिर लिन मन लाग्यो, एक क्लिक दिएँ । 

त्यतिबेला २ जना पुरुष भित्र जान नर्ससित अनुनय गरिरहेका थिए ।

2 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

ONLINE SHOP IN NEPAL said...

DAMI RAHECH TA ARTICAL

online shopping in Nepal