Wednesday, May 8, 2013

उमेरको कांढा

समयको अग्लो ऐनामा हेरेपछि आफूलाई
थाहा पाएँ
म यो धर्तीको तीस वर्ष पुरानो मानिस हुँ

मैले मानेँ—
पृथ्वी गोलो छ
सूर्य ब्रम्हाण्डको सबैभन्दा ठूलो ग्रह हो
यो जमिन अडिएकै ठाउँमा तीन भाग पानी पनि अटाएको छ
र आकाशमा ताराहरु छन् असंख्य
मैले विताएको यो तीस वर्षमा
किन घटेनन् यी सबै मेरो उमेर जसरी
वा किन बढेनन् मेरो उमेर जसरी

एकनास अटल छन् यी सब
ममात्रै छु बदलिएको— वर्षौं पुरानो ।

देशको प्रजातन्त्रजस्तो फुल्दै गएको छ कपाल र दारी
लोकतन्त्रजस्तो चाउरिदै गएको छ छालाको तन्काइ
जनआन्दोलनमा लागेको गोलीको दागजस्तो
गालामा बसेको छ डन्डीफोरको खत


कुनै कम्युनिष्ट नेताको सिद्धान्तजस्तो
मैलिदै गएका छन् पुराना दाँत
स्वादविहीन बन्दैछ जिब्रो
धमिलिदै गएको छ आँखाको तेज
आफन्त पराइ छुट्याउन नसक्ने गरी
कमजोर बन्दै छ घ्राण

कुसुमको बुढो रुखजस्तो
बदलिदै गएको छु म — वर्षौं पुरानो ।


मलाई थाहा छ म अब नमरुन्जेल बाँच्छु मेरा प्रियजन
म बाँचुन्जेल मसँगै रहनेछन्
यो पृथ्वी
यो हावा
यी ताराहरु
त्यो कालो बादल
मेरो कपाल र दारी
गोलीको दाग
मैलिदै गएको दाँत
स्वादविहीन जिब्रो
तेज धमिलिदै गएको आँखा
कमजोर घ्राण

अझ यी सबैभन्दा फरक
मेरो मुटुमै एकनास घोचिरहनेछ बुढिदै गएको आफ्नो उमेरको काढा
र, तिम्रो सम्झना एकसाथ

No comments: