Wednesday, May 8, 2013

हत्याराहरुको नाममा

गोली लागेर छिनेको मेरो खुट्टो फिर्ता देऊ
छर्रा लागेर चुडिएको मेरो दाहिने हात फिर्ता देऊ

देशमाथि बलत्कार गरेर
आफ्नो मृत्युको दस्तावेजमा हस्ताक्षर गर्दै गरेका
ओ प्रचण्ड  ओ बाबुराम, ओ झलनाथ, ओ शुशील कोइराला ?

फिर्तादेऊ मलाई
कुयौं दिन झण्डा ओढेर सुतेको मेरो फराकिलो छाती


जहा टाउको अड्याएर रोएकी थिइ मेरी मायालु
बगाएकी थिइ एक गह आसु
भिजाएकी थिइ मेरो छातीको फाट
(धन्न मुटु नछोइ छेडेको गोलीले मेरो २, ३ र ४ नम्बर करंगमात्रै भाचिएको छ)
फिर्ता देऊ मलाई बारुद बोक्दा बोक्दा
थलिएको मेरो पिठ्यु
फिर्ता देऊ एम्बुर पड्केर नसुन्ने भएका मेरा दुवै कान
फिर्ता देऊ छर्राले अध्यारो बनाएको मेरो दाहिने आखा


यो देशको
म जन्मराम थारु
म डोलबहादुर लामा
म भूमिराज लिम्बु
म गुलाब शर्मा
म पुष्पबहादुर महर्जन
म चैनशोभा मगर
अर्थात् हामी नेपाली
फिर्ता मागिरहेछौं
क्रान्तिका नाममा बिताएको
एक दशक जीवनका एक एक सेकेन्ड ।

No comments: