Saturday, April 13, 2013

एउटा बजारु किताब


  • अनमोलमणि
केही चल्तीका गीतका लेखक हुन् राजेन्द्र थापा । आख्यानकार बन्ने रहरमा उनी सतही प्रस्तुतीको पुस्तक ‘खेलौना’ (उपन्यास ?) लिएर पाठकमाझ आएका छन् । पुरुष गमनकी लती कामुकपात्र स्मितालाई केन्द्रमा राखेर लेखिएको खेलौनामा उनले अपनाएका समागम आसनको ठाडो वर्णनबाहेक कुनै कला छैन । पुस्तक एक रेखीय ढाचामा छ । १८ अध्यययमा पात्रको वर्णन सकिएको छ र उपन्यास पनि ।

यौन आफैमा रहस्य, रोमान्चक र जीवित प्राणीका लागि अत्यावश्यक उर्जावान चिजका रुपमा प्रकृतिमा आदिकालदेखि स्थापित छ । यौनका बारेमा लेख्नु एउटा जोखिम हो । जोखिम उठाउने थापाको आट सकरात्मक मान्नु पर्छ । विचारोत्तेजक अन्तरवार्तामा सीमित एउटी केटीलाई उपन्यासको पात्र बनाउने उनको प्रयासलाई नकरात्मक ठान्नु पर्दैन । तर पात्रको एकसरो अन्तरवार्तालाई ‘डिकोड’ गर्नुमात्रै उपन्यास होइन भन्ने नबुझ्दा किताब बलियो हुन सकेको छैन । रिटायर्ड जर्नेलका लागि व्यापारिक हिसाबले यौनमाथि कलम चलाउने जोखिमको यात्रा फलदायी भएको हुन सक्छ तर सिर्जनात्मक हिसाबले खैलौना अत्यन्त कमजोरमध्येको किताब हो । यसले नेपाली साहित्यमा चिम्टी पनि योगदान गर्दैन । बरु यसले छद्यम नाममा छापिने ‘एडल्ट’ लेखनलाई ‘साहित्य’को कानुनी मान्यता दिन मद्यत पु¥याउने छ । पटक पटकको यौन प्रसंग र पुरुषलाई गरिएको गाली बाहेक थापाको खेलौनामा पाठकले कुनै सिर्जनात्मक उर्जायुक्त नयापन पाउने छैनन् ।

वर्षौ अघि कथाकार सीता पाण्डेकै शैलीमा पात्र स्मिताले भनेकी छिन्, ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ ।’ पाण्डेले बच्चा जन्माउने सन्दर्भमा यसो भनेकी थिइन् । स्मिताले संसर्गलाई केन्द्रमा राखेर भनिन् । छानी छानी इच्छाअनुसार लोग्ने मान्छे प्रयोग गर्नु खेलौनाकी पात्रको व्यक्तिगत इच्छा हो । कुनै बाध्यात्मक परिस्थिति वा परिबन्द बिना आफ्ना निहित स्वार्थ पूरा गर्न स्वेच्छिक वेश्यावृत्ति अपनाउने वयस्क युवतीले ‘केटा’मात्रै खोज्नुलाई क्रान्ति ठानेर ठूलो हल्ला फैलाउनु जरुरी छैन । उनले प्रयोग गरेका आसनको वर्णनलाई उपन्यासको दर्जा दिदा खास उपन्यासको मानहानी हुनेछ ।


यौनलाई लुकाउनु पाखण्ड हो । भनिन्छ मान्छेले यौनका बारेमा धेरै सोच्छ । त्यसको मतलब अत्यावश्यक चिज भन्दैमा कसैले संसर्गको छाडा व्याख्या गर्नु रोगी मानसिकताको उदाहरण हो । दार्शनिक ओशोले कतै भनेका छन्, ‘जुन चिज धेरै दबाएर राखिन्छ त्यो त्यतिनै बाहिर आउन खोज्छ । यौन पनि दवाएर राख्ने चिज होइन । यौन आखामा आखा राखेर होश पूर्वक हेर्ने ज्ञान हो ।’ छाडा व्याख्या र ज्ञान फरक हुन् भन्ने नबुझ्नु लेखनमाथिको खेलबाड हो । यसले ढिलो चाडो लेखक र प्रकाशकको सोचाइ तथा सिर्जनात्मक स्तर र विश्वसनीयतामा प्रश्न उठाउने पक्का छ ।

पुस्तकको प्राक्थनमा लेखक थापाले गरेको ‘स्मिता अहिलेको पुस्ताको रोलमोडेल’ भन्ने हावादारी दावीको आधार के हो ? रोलमोडेल हुन अब पुरुष÷नारी र संसर्गको आसन फेर्दै त्यसको व्याख्या गर्नुपर्ने थापाको कमजोर बुझाइ हो भने उनले आफ्नो सोचको दायरा कुण्ठितबाट फराकिलो बनाउनु जरुरी छ । भन्नै पर्छ, पछिल्लो समय ‘युवा पुस्तालाई केन्द्रमा राखेर लेखेको÷छापेको’ भन्दै यौन बेच्न लेखक प्रकशकहरु जुर्मुराएका छन् । यसले व्यापार बढाउला साहित्यप्रतिको दृष्टिकोण नकरात्मक बन्ने कुरा तिनले भुल्नु हुदैन । अहिलेका युवाको जीवन शैली यौनमात्रै हो ? कुनै वयस्क युवा÷युवतीको यौन अनुभव ‘युवाको आवाज’ हो ? लाज नमान्नुको अर्थ नांगो हिंड्नु हो ? लेखक प्रकाशकले बुझ्नु पर्छ, लाज पनि सौन्दर्य हो । लेखनमा त्यो सौन्दर्य गुम्यो भने सिर्जना मुर्कट्टा वा किचकन्याजस्तो हुन्छ—टाउको नभएको खोक्रो । लेखन त्यसमाथि उपन्यास लेखनमा प्रयोग राम्रो कुरा हो । जस्तोसुकै प्रयोग गरेर लेखिए पनि त्यसका आधारभूत तत्वहरु हुन्छन्—विषयवस्तु र पात्र चयन, पात्रको चरित्र र चरित्र अनुसारको व्याख्या, त्यसमा आउने आरोह अवरोह, द्वन्द्व, विचार र भाषा शैली । सबै तालमेल मिलेन भने लेखन यसरी चिप्लिन्छ कि अन्तमा त्यो साच्चैको खेलौना बन्छ ।

यौन मनोविज्ञानसित जोडिएर आउने चिज हो । खेलौनामा पात्रको त्यही कुरामा लेखकको अलिकति पनि ध्यान पुगेको छैन । वीच वीचमा अक्षर बोल्ड गर्दैमा सिर्जना बोल्ड हुदैन । कभरमा कामुक तस्वीर राख्दा विकाउ चिज होला, त्यो साहित्यको गणनामा रहदैन । उन्मुक्त जीवन बाच्न चाहने केटीका पछि आउने पुरुषपर्तिर लेखक जान नसक्नु लेखकको कमजोरी हो । प्रकाशकले उपन्यास भनेर बेचे पनि लेखन चाहि उपन्यास नबनाउन गरिएको प्रयोगहरुमा केन्द्रीत छ र नांगो छ ।

अन्तमा, युवाकवि मणि लोहनीको एउटा कविताले भन्छ, ‘नदेखाउ मलाई तिम्रो नांगो शरीर, स्त्रीहरु कपडाभित्रै सुन्दर देखिन्छन् ।’ पात्र, लेखक, प्रकाशक र पाठक सबैले सोच्नु पर्ने बेला आएको छ, कपडा लगाएरनै सुन्दर हुने कि आफूलाई नांगो बेच्ने ?

2 comments:

Anonymous said...

साहित्य मालतीको भट्टीमा राखेको रक्सीजस्तै हो जो हरेक जँड्याहाका लागि अमृतसमान छ, किनकि त्यहाँ मालतीको भावना पनि मिसिएको हुन्छ । तर, लेख्नका लागि मात्र लेखिएको रचनामा भावना मिसिन्न । त्यहाँ फगत कलम दगुर्छ ।
***
मलाई पनि साहित्यलाई हलुका बनाउने प्रयत्न कसैबाट नहोस् जस्तो लाग्छ...

Gajendra Budhathoki said...

करिब १५ वर्षअघि रत्नपार्कका छदम नाममा पुस्तक छाप्ने माइला दाइ भन्न त भन्थेः मैले अभिसारिका छापेबापत आज मलाई पक्रन्छन, भोलि नेपालकै कुनै चलेका साहित्यकारले लेखेभने सलाम गर्दै किन्छन