Monday, January 21, 2013

चेन यानको अंग्रेजी कक्षा


हामी छिर्दा मिस चेन यान अंग्रेजी कक्षाको तयारीमा थिइन् । मध्यान्तरमा निस्केका विद्यार्थी कक्षामा आइसकेका थिएनन् । खाली समयको सदुपयोग गर्दै पाठ योजनाको पावर प्वाइन्ट प्रेजेन्टेसन तयारी चल्दै थियो । विद्यार्थी हस्यांग फस्यांग गर्दै कक्षा पस्दै थिए । टेबुलमै अड्काएर राखिएको आफ्नो सानो मेच निकालेर बसेका करिब ४० विद्यर्थी हेर्दै उनले भनिन्, ‘सबै बसिसक्यौ ? अब हामी पढ्न सुरु गरौं ?’ अप्ठेरो जस्तो सुनिने चीनिया शैलीको अंग्रेजी उच्चाण कक्षामा एकसाथ गुन्जियो, ‘हुन्छ मिस, हामी तयार छौं ।’ त्यसपछि सुरु भयो चेन यानको अंग्रेजी कक्षा ।
यो २८ नोभेम्बर २०१२ को कुरा । ‘एक्काइसौं शताब्दीका लागि नेतृत्वदायी शिक्षा’ नामको अन्तराष्टिय शैक्षिक सम्मेलनको अन्तिम दिन । चीनको राजधानी बेइजिंगको रितन हाइस्कुल । कान चीसो पार्ने गरी सडकमा एक तमासको स्यांठ छ । झण्डै हाम्रो रंगाशाला सम्झाउने विशाल चौर घेरेर धम्रधुस बसेको सरकारी विद्यालयभित्र हामी छिरेका छौं । सफा र फराकिलो कक्षा कोठा । चिरिच्याट्ट राखिएका डेस्क बेन्च । भित्तामा खरीपाटी थिएन । शिक्ष्ँकको हातमा ज्यानै धूलाम्मे बनाउने चकडस्टर थिएन । कमजोर विद्यार्थीलाई दुई चार स्वांठ दिन शिक्षकले सिर्कनो पनि बोकेका थिएनन् । हरेक कक्षा कोठा वातानुकुलित थियो । भित्तामा विद्युतीय गतिमा चल्ने बडेमाको सेतो पर्दा झुन्डिएको थियो । कक्षाको सिरानमा पावर प्वाइन्टप्रजेन्टेशनका लागि अड्याइएको प्रकाश । सुविधा हेर्दा लाग्थ्यो यो विद्यालय होइन, कुनै सभा हल हो । मध्यम कदकी गोरी चेन यानका खिरिला औंलाहरु सानो ल्यापटपमा चलिरहेका थिए । उनका चनाखा आखाले विद्यार्थीलाई पनि त्यतिकै ध्यान दिइरहेका थिए । अंग्रेजी कक्षा भएर हो कि विद्यार्थीको कक्षामा प्रस्तुत भएको शैली चाहि निकै बोदो थियो ।

सम्मेलनमा सहभागी १३ देशका सहभागीलाई चीनको शिक्षा मन्त्रलाय र ब्रिटिश काउन्सिलले विद्यालय भ्रमणको चाजो मिलाएका थिए । नेपाल, बंगलादेश, कोरिया, स्कटल्याण्ड, श्रीलंका, इरान, लेवनन, वेलायतका सहभागीको भागमा परेको थियो रितन स्कुल । साथमा हंगकंग र सिंगापुरका शिक्ष्ँक र विद्यालय निरीक्षक पनि थिए । चीनका केही शिक्षक विद्यार्थी पनि हाम्रो साथ थिए । नेतृत्व गरेकी थिइन शेलीले । संयोगले चेन यानको कक्षा हुने बेला हामी पुगेका थियौं ।
उनले पाठ सुरु गर्नु पहिले कक्षामा दुई थान चिर्कटो बाडिन् । त्यसमा पाठ योजना थियो । अभ्यासका लागि केही प्रश्नहरु थिए । उनको कक्षा मल्टि मिडिया पावर प्वाइन्टमा सुरु भयो । विद्यार्थी एक टकले भित्तामा हेर्न थाले । उनले द्यिार्थीलाई क्रमैसित ग्रेट वाल, तियानमेन स्क्वायर र केही कलात्मक सेरामिक्सका घैटाहरु देखाइन् । विद्यर्थाी तोकेर त्यसबारे सोधिन् । चित्र हेरेर विद्यार्थीले फटाफट जवाफ दिए । चित्र देखाउने, सोध्ने र जवाफ लिने प्रकृया सकिएपछि उनले विद्यार्थीलाई हेरिन् र भनिन्, तिमीहरुले चित्रमा देखेका यी सबै हाम्रा सम्पदा हुन् । यसलाई जोगाउनु पर्छ ।
उनले पढाउने पाठ थियो, सांस्कृतिक सम्पदा । त्यही क्रममा त्यस पाठको केही अनुच्छेद उनले विद्यार्थीलाई सस्वर वाचन गर्न लगाइन् । गल्तीहरु कक्षाका अरु विद्यार्थिलाई टिपोट गर्न लगाइन् । उच्चारणहरु पटक पटक दोहोरयाउन लगाइन् । पाठमा भएजस्तै सम्पदा र संस्कृतिका अन्य बिम्बहरु के के हुन् भन्न र टिपोट गर्न लगाइन् । पाठबारे विद्यार्थीको समूह बनाएर छलफल गर्न लगाइन् । कक्षामा उनी यति व्यस्त भइन् कि सबै क्रियाकलपा आफ्नो कक्षा समयभरि गराइन् । करिब ५० मिनेटको कक्षामा उनले मल्टिमिडिया प्रस्तुती गरिन् । प्रश्न सोधिन् । पढ्न लगाइन् । र अभ्यासहरु गराइन् । उनी कक्षामा आफू पनि सक्रिय भइन् र विद्यर्थाीलाई पनि सक्रिया बनइरहिन् ।
‘ओ हो, थकान त भनिसाध्य छैन’, कक्षा सकिएपछि उनले भनिन्, ‘तयारी यति धेरै गर्नु पर्छ कि हरेक दिन, प्रत्येक कक्षाको पाठ योजना बनाएर विद्यर्थाीलाई दैनिक यस्तै अभ्यास गराउनु पर्छ । पाठ योजना हेड सरलाई बुझाउनु पर्छ ।’
उनले यसो भनिरहदा मैले नेपालको धूलो मैलो भएका झण्डै ३४ हजार सामुदायिक विद्यलायको कमजोर हविगत सम्झिए । काम चोरेर राजनीतिक दलका झोला बोक्ने अनुत्तरदायी शिक्षक सम्झें । कमजोर सरकारी नीतिको शिकार भएका सहरका कुनै बेलाका नामी सामुदायिक विद्यालयका विशाल भवन सम्झे । जहा मध्य सहरमा भएर पनि तिनका भित्ता भरि लेउ लागेको, पर्खाल भत्केको छ । बा भाच्चिएर कुनै पनि बेला दुर्घटना होलाकि भन्ने भयले शिक्षक विद्यार्थी त्राहिमाम छन् । झ्यालको कब्जा खुस्केको, ढोकामा छेस्किनी नभएको कमजोर अवस्था छ । खेल्न फराकिलो सफा चौर छैन । विद्यार्थी धूलो मैलो छन् । देशका ८४ प्रतिशत आम नागरिकका छोराछोरी पढ्ने सामुदायिक विद्यालय दुर्दशाको अवस्थामा छन् । वर्षेनी विद्यार्थी पातलिएका छन् । शिक्ष्ँक वर्षौ देखि कक्षा कोठा नपसेरै निर्लज्ज सरकारी तलब पचाइरहेका छन् ।
र हाम्रो अंग्रजी कक्षा पनि उही पुरानै रटान शैलीमा चलिरहेको छ । अंग्रजी पढाउने गतिला शिक्षक छैनन् । अरु बेला त अंग्रेजीमा फेलनै भए पनि विद्यार्थी घिस्रेर कक्षा चढ्छन् । नया कक्षामा पुग्यो हविगत उही । सामुदायिक विद्यालयको अंग्रेजी शिक्षण कमजोरी कहिल्यै सुध्रिएको छैन । कक्षा १० मा लिइने एसएलसीमा जब विद्यार्थी फेल हुन्छन् अनि सबैको चासो हुन्छ, विद्यार्थी किन फेल भए ? हामीले फर्केर हाम्रो कक्षा कोठा, शिक्षक, विद्यार्थीको आर्थिक सामाजिक अवस्था हेरेकै छैनौं । विषयगत शिक्षक दिएकै छैनौं । शैक्षिक उपलब्धिबारेक हिल्यै बहस गरेकै छैनौं । काम चलाउ शैलीको अंग्रेजीले पाठ धानिएको हामो पढाउने शैली बदलिएको छैन, ब्ल्याक बोर्डमा लेखाउने र माने घोकाउने । पाठ घोकाउने । प्रश्न उत्तर घोकाउने ।
मैले कक्षा ६ पुगेपछि अंग्रेजीका साउ अक्षर चिनेको विगत झल्झली सम्झे । किताबको अंग्रेजीलाई नेपालीमा अनुवाद गरेर नेपालीमा पढाउने गुरुहरु सम्झें । हाम्रा सामुदायिक विद्यालयमा अंग्रेजी कहिल्यै अंग्रेजीमा पढाइ नभएको सम्झें ।
चीनका विद्यार्थी पनि अंग्रेजीमा कमजोर छन् । अंग्रेजी जान्नेहरु चीनमा ’अंग्रेजी पनि बोल्दछ‘ मा पर्दा रैछन् । ग्लोबल मार्केटको सीप अंग्रेजीसित टासिएको छ । भाषा हो, नजान्दा केही विग्रन्न । क्षम्य छ । तर ग्लोबल मार्केटको सीप अंग्रेजीसित जोडिएकाले अब अंग्रेजी विनाको संसार सारै साघुरो हुन्छ । चीनियाहरुले यसालई बुझे । उनीहरुले अंग्रेजी सुधार सुरु थालिहाले । भेटिएका सरकारी अधिकराीहरु भन्छन्, अबको पुस्ता अंग्रेजीमा पनि पोख्त भएर निस्कने छ ।
अंग्रेजी मातृ भाषा नभएकाले त्यसमा कमजोर हुनु कुनै अनौठो होइन । तर जान्ने पर्ने बाध्यता पनि छ । विश्वका उत्कृष्ट साहित्य अंग्रेजीमै छन् । इन्टरनेटले ल्याएको ज्ञान भण्डार अंग्रेजीमै छ । अंग्रेजी जान्नेका लागि धेरै थोक सहज छ । विश्वबजारमा माध्यम भाषाका रुपमा अंग्रेजी प्रचलनमा छ । यसले पनि अंग्रेजीप्रतिको मोह बढ्दो छ । नेपालमै पनि अंग्रेजी जानुन् भन्नकै लागि छोराछोरी बोर्डिंग पढाउनेहरु छन् ।
नेपालबाट शिक्षा मन्त्रालयका दुई जना सहसचिव जीवन शर्मा पौडेल र खगेन्द्र नेपाल सम्मेलनमा सहभागी थिए र विद्यलाय भ्रमणमा पनि । सम्मेलनमा सहभागी झण्डै ३ सयमध्ये सञ्चारकर्मी चाहि म एक्लो थिए । हाम्रो स्वागतमा विद्यालयका प्रधानाध्यापकले झण्डै आधा घण्टा चीनिया भाषामा भाषण ठोके । हामी ट्वाल्ल परेर सुनिरह्यौं । पछि खगेन्द्र सरले खाटी पूर्वेली शैलीमा भनेका थिए, ‘लु अंग्रजी चै हाम्रो भन्दा कमजोर र छ है । प्रअजस्तो मान्छेले पनि एक शब्द अंग्रेजीमा बोलेनन् । चीनिया भाषण हामीले चिम्टी पनि बुझेनौं ।’
उनको कुरा यानले पनि स्वीकारिन् । ‘अंग्रेजी हाम्रो पहिलो भाषा होइन त्यसैले सिकाउनु रामइलो छ तर जटिल पनि’, चेनले अंग्रेजी शिक्षण अनुभव सुनाइन, ‘हामी अंग्रेजीमा केही कमजोर पक्कै छौं । सरकाररले सुधार थालि सकेको छ र यो छिट्टै सफल हुनेछ ।’
अघिल्लो दुई दिनको सम्मेलन भएका प्रस्तुती उल्था गर्न भएको दोभासेको व्यस्तताले हमीलाई त्यसको छनक मिलिसकेको थियो । गोन्जाउ विमानस्थलदेखिनै हामीले सञ्चार समस्या भोगिसेका थियौं । अनअराइभल भिसाबारे सोधपुछ गर्न खगेन्द्र सर र जीवन सर यता उता भौतारिदा कसैले अंग्रजी बुझेनन् । ‘होइन भाषा नबुझेरै बिताउन् कि के हो’, खगेन्द्र सर बेला बेला भन्थे । सम्मेलनमा चिनको शिक्षा मन्त्रालयका उच्च अधिकारीहरुले गर्ने प्रस्तुती चीनिया भाषामै थियो, शायद मातृभाषा प्रतिको मोह पनि होला । अनुवादकका माध्यमबाट हामीले त्यसलाई बुझ्यौं ।
सम्मेलन अंग्रेजी शिक्षणका विषयमा थिएन । एक्काइसौं शताब्दीको शिक्षा कस्तो हुनु पर्छ भन्ने बारे थियो । सबैले आआफ्नो देशको भइरहेको प्रयोग बताए । नया योजना सुनाए । र सार निकाले, ‘नीति बनाउने राज्यले हो । कक्षा सुधार्ने शिक्षकलेनै हो । शिक्षकको काम कक्षामा पस्नेमात्रै होइन । उनीहरु विद्यार्थीलाईमात्रै होइन आम नागरिकलाई कसरी पढाउने, सिकाउने र सक्षम बनाउने हरेक क्षण त्यसमा ध्यानमग्न भइरहनु पर्छ ।’
विद्यालयबाट फर्किदै गर्दा जीवन सरले भेनका थिए, ‘नीतिका हिसबाले हामी कमजोर छैनौं । सिकाइ शैलीमा थप सुधार गरे हामी अन्तराष्टिय बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न पछि पर्दैनौं ।’ सम्मेलनको अन्तिम दिन चीनस्थित ब्रिटिश दूतावासकी सुसन मिलरले पनि भेनकी थिइन, ‘अबको विश्वमा शिक्षाका चुनौति समान छन् । दक्ष शिक्ष्ँकको नियुक्ति, समग्र शैक्षिक प्रणालीको परिवर्तन, शिक्षाको समग्र विकासमा जोड । र भोलिको सुन्दर विश्व निर्माणका लागि आजैबाट बालबालिको सही शिक्षामा जोड ।’

No comments: