Sunday, December 9, 2012

डिसेम्बरको जाडो



  • अनमोलमणि

तिम्रो सम्झनाको तातो बाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।

रातो गुलाफजस्तो तिम्रो यौवन
प्रेमपूर्ण स्पर्श
मसँग हाँस्ने ओठ
र रुने आँखाहरु थिए तिमीसँग,
एउटै मुटु थियो हामीसँग
जुन तिमीसँगै गएको छ
मलाइ विना मुटु पारेर,
यतिखेर बाँकी छ मसँग
ढोकाको कापमा सप्को अड्किएर छाडिएको
तिम्रो पछयौरीको सुगन्ध
सम्झनाको तातोले ओभाएका मेरा एकजोर आँखा
फुल्दै गरेको केश
चाउरिँदै गएको गाला
मक्किँदै र कमजोर बन्दै गएको
कुसुमको बुढो रुखजस्तो यो शरीर
जसलाई धावा बोलिरहेछ यो डिसेम्बरको जाडो ।


यहाँ छोडिएको छ
प्रत्येक हावाको झोँक्कामा खस्ने
चैतको चिल्लो पहेँलो पातजस्तो
हाँसिरहने तिम्रा निर्जिव तस्वीरहरु
याद गर्न
जो बोल्दैनन् तिमीले जस्तो मीठो,
तिम्रो अनुहारजस्तो छ घाम
उदाउँछ — अस्ताउँछ
तिम्रो मुस्कानजस्तो छ जून
बादलमा लुक्छ—देखिन्छ
मेरो मनमा सम्झनाको सिरेटो
चल्छ — थामिन्छ
यी सब अनुभव गर्न
कुनै वृद्धाश्रमको वृद्धजस्तो म छु एक्लो
यो डिसेम्बरको जाडोमा

बाहिर आगो नै आगोको महोत्सव चलिरहेछ
चीसो सडकमा
मान्छेहरु प्रत्येक मध्यान्ह
वैशालु सूर्यलाई आफूसँग दाँज्दै
हत्केलाले छेकेर सलाम गरिरहेछन्
तिमी नहुदा पनि मसँग बाँकी छ
बतासभन्दा पनि छिटो कुद्ने समय
चट्टानजस्तो कहिल्यै नपग्लिने गरी जमेको दुख
ऐनाजस्तै चर्किएको सपना
र बनाउँदा बनाउँदै पूरा नभएको
जिन्दगीको अधुरो चित्र

प्रिय, साच्चै तिम्रो सम्झनाको तातो बाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।

No comments: