Sunday, June 19, 2011

आत्म संघर्ष र कविता

विप्लव ढकाल

नेपाली कविताको पछिल्लो कालखण्ड एउटा स्पष्ट सपनासहित उदाएको छ । धेरै युवाकविहरू निष्ठा र आत्मविश्वासका साथ आफ्नो समयका आवाजहरू खोजिरहेका छन् । आजका कवितामा लाटा शब्दहरूको साम्राज्य समाप्त हुँदै छ । शास्त्र र सिद्धान्तहरूको आतङ्क समाप्त हुँदै छ । झोक्राएका, मुर्झाएका, कुपोषणग्रस्त विचार र बिम्बहरूको बिलौना पनि क्रमशः इतिहासको कुनै मोडतिर विलीन हुँदै छ । नयाँ बाटो र नयाँ गन्तव्यको खोजीमा नयाँ कविहरू क्रियाशील छन्- त्यसैले हाम्रा सपनाहरू बाँचेको प्रमाण छ ।

सपनाहरू बाँच्नु नै जीवनको पहिलो ऊर्जा हो र समयको शक्ति पनि त्यही नै हो । समकालीन कविहरूको एउटा ठूलो भीडमा कवि अनमोलमणि पनि आफ्नो समयको त्यही शक्ति खोजिरहेका छन् । कविता मार्फत आफूलाई सार्वजनिक गर्नु एउटा जोखिमपूर्ण कुरा हो । उनी पनि अब यो जोखिममा सामेल भएका छन् । उनको नवप्रकाशित कविताकृति सबुतले नयाँ कविताको शक्ति र जोखिम दुवैलाई प्रतिबिम्बित गरेको छ ।

कविता लेख्नु भनेको शब्दको जीवन खोज्नु हो, अर्थात् जीवनको शब्द खोज्नु हो । लगभग डेढ दशकदेखि कविताकर्ममा संलग्न हुने क्रममा कवि अनमोलले यो सत्यलाई अवश्य बुझेका छन् । जीवन आफैमा एउटा सुन्दर कविता हो, प्रेम कविता हो, विद्रोह कविता हो, निराशा कविता हो । हामीले आफ्नो समयलाई सोधेका निर्मम प्रश्नहरू र हामी निरुत्तर बनेका थकित र पराजित क्षणहरू नै कविता हुन् । कवि अनमोलका कविता पनि यिनै सत्यका पछिल्ला साक्षी बनेका छन् र तिनले आजको जीवनका त्राश र पीडाहरूको अन्धकारलाई आवाज दिएका छन् ।

फरकफरक समय र परिस्थितिमा लेखिएका तेत्तीसवटा कविताहरू रहेको यस सङ्ग्रहभित्र मूलतः तीन प्रमुख विषयवस्तुमा आधारित कविताहरू समेटिएका छन्- प्रेम, राजनीति र समाज । कविताको समग्र कोरियोग्राफी र सौन्दर्यचेतनाको गुणस्तरका दृष्टिले पनि यस सङ्ग्रहभित्र तीन स्तरका कविताहरू रहेका छन्- उच्च, मध्यम र निम्न । कवि अनमोलले सबैभन्दा बढी शब्द र आँसु खर्च गरेको विषय प्रेम हो ।

कुनै अज्ञात प्रेमिकालाई सम्बोधन गर्दै उनले अधिकांश कविताहरूमा वियोग, विरह, गुनासो, छटपटी र आत्मपीडाका एकालापहरू प्रस्तुत गरेका छन् । शायद यो उनको भोगाइ हो र उनको जीवनको विश्वास पनि हो । तर रोइरहेको प्रेमीलाई उनले दया र सहानुभूतिको पात्र बनाउन खोजेका हुन् कि स्नेह र सद्भावको पात्र ? स्पष्ट छैन । उनको प्रेमीले कवितामा रोएरै जीवन बिताएको छ । आँसु पातलिँदै गएपछि त्यसको शक्ति समाप्त हुन्छ । यस सङ्ग्रहका अन्य विषयका केही राम्रा कविताहरूलाई अलग गरिदिने हो भने यो एउटा वियोगी पात्रको छटपटीले भरिएको आलाप काव्य बन्नेछ ।

त्यसो त उनका केही प्रेमकविताहरू व्यक्तिगत क्रन्दन र आत्मपीडाबाट माथि उठेका छन् र तिनले समकालीन समाजसँग प्रत्यक्ष सरोकार राख्दै द्वन्द्वकालीन जीवनका गहिरा घाउ र अभिघातहरूलाई सूक्ष्म रूपमा स्पर्श गरेका छन् । उनको 'प्रेमबिरुद्ध' कविता प्रेम र बारुदको विपर्यासबाट जन्मिएको एउटा शक्तिशाली बिम्ब हो । त्यस्तै 'टेस्टटयुब छोरो र मेरी प्रेमिका' आजको मान्छेले भोगिरहेको यान्त्रिकता र जडता बिरुद्धको विद्रोह हो । 'साउनको अन्तिम दिन', 'डिसेम्बरको जाडो' र 'बिदाई' जस्ता कविताहरूले पनि प्रणयपीडा, उदासी र निराशाका घाउहरूलाई सरल, स्वाभाविक र मर्मस्पर्शी रूपमा अभिव्यञ्जित गरेका छन् । यी यस सङ्ग्रहका केही गम्भीर कविता हुन् । त्यसबाहेक कविले आफ्ना अधिकांश प्रेमकविताहरूमा शब्दका संगमर्मरहरू जोडेर प्रेमको नाममा सानोसानो ताजमहल बनाउन खोजे पनि र आफूलाई एउटा सानोसानो वियोगी शाहजहाँको रूपमा प्रस्तुत गर्न खोजे पनि उनको प्रेम 'कस्मेटिक प्रेम'भन्दा माथि उठ्न सकेको छैन ।

कवि अनमोलका सामाजिक तथा राजनीतिक चेतनासँग गाँसिएका कतिपय कविताहरू यस सङ्ग्रहका सबैभन्दा सुन्दर र मूल्यवान् कविता हुन् । तिनले आजको जीवनका कारुणिक सत्यहरूलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेका छन् । खास गरी 'शर्मिलाको मृत्यु', 'बन्धन', 'सहरयात्रा', 'उमेरको काँडा', 'मेरो गल्ती', 'बाहिर फूल फुल्दै छ', जस्ता कविताहरू मान्छेको जीवन र स्वतन्त्रताप्रति समर्पित आजको चेतनाका बलिया सबुत हुन् । तिनले हतियारलाई होइन विचारलाई सत्य मानेका छन् र नागरिकहरूको आत्मसम्मानलाई मूल्यवान् ठानेका छन् । राज्यले गरेको मौन हिंसाबाट एउटा नागरिकको मात्र होइन उसका भावी सन्ततिहरूको पनि सपनाको मृत्यु कसरी हुन्छ भन्ने कहालीलाग्दो तस्वीरलाई यी कविताहरूले नजिकबाट प्रस्तुत गरेका छन् । आजका कविताहरूको मूल आवाज पनि यही नै हो ।

एउटा प्रेमीले कवितालाई प्रेमीजस्तै बनाउँछ, शिक्षकले शिक्षकजस्तै र पत्रकारले पत्रकारजस्तै । देखेको संसार र भोगेको जीवन नै हाम्रा कविताहरूको सबैभन्दा प्रामाणिक धरातल हो । आजका कविहरू यो सत्यसँग परिचित छन् र उनीहरू आफ्नो समयको वास्तविक अनुहार खोज्न आत्मसङ्घर्ष गरिरहेका छन् । यो आत्मसङ्घर्ष कवि अनमोलका कवितामा पनि प्रस्टै देखिन्छ । आजको संवेदनाबाटै उनले आफ्ना कविताको समाजशास्त्र निर्माण गरेका छन् र सौन्दर्यचेतनाको समकालीन अर्थलाई खोजेका छन् ।

उनको यस सङ्ग्रहको भूमिका आफैमा एउटा सुन्दर कविताजस्तो छ, जो उनको आत्मसङ्घर्ष र आत्मसम्मानको साक्षी पनि हो । त्यहाँ उनले एउटा मार्मिक प्रश्न गरेका छन्- संसारमा कविता किन धेरै लेखिन्छ र किन सबैभन्दा कम पढिन्छ ? आजको एउटा संवेदनशील कविले सोधेको प्रश्न हो यो । बहस गर्नु जरुरी छ- हामी आफ्ना कविताप्रति कति सचेत र इमानदार छौँ ? कतै कविता र जीवनको आधारभूत बाटो नै फरक परेको त छैन ? लेखिएका सबै कुराहरू सुन्दर हुन्छन् भन्ने भ्रमबाट आज थुप्रै कविताहरू कुरूप बनेका छन् । कवितामा पाठकको विश्वास घट्नुमा कविको भ्रम नै सबैभन्दा बढी जिम्मेवार छ ।

कवि अनमोलमणि र आजका थुप्रै जुझारु र क्रियाशील कविहरूले नेपाली कविताको पछिल्लो युगलाई कसरी हाँक्ने हुन् ? भोलिको इतिहासले आजलाई सोधेको प्रश्न हो यो ।

1 comment:

MANJU CHHETRI said...

namaste!!.. nice article :)