Friday, February 17, 2017

मेरो कफी प्रेम


एक चुस्की ताजा कफीसित मेरो अगाध प्रेम छ ।
त्यो प्रेमको चुस्की मैले कतिपल्ट प्रेमीसित आमनेसामने बसेर लगाएँ, कतिपल्ट साथीभाइको छेउछाउ भएर र धेरैपल्ट चाहिँ एक्लै । दूध र चिनी विनाको कडा कफी भरिएको कपबाट निस्केको वाफको वासनाले म हरेक पल्ट उत्तेजित भएँ, हुन्छु । आनन्दित भएर पग्लिएँ, पग्लिन्छु । सिर्जनशील भएँ, हुन्छु । र एक्लै लट्ठिएँ, लट्ठिन्छु ।
थाहा छैन म कसरी कफीको लती भएँ । सुदूर गाउँबाट काठमाडौं छिर्दा मलाई कफीबारे त्यस्तो कुनै जानकारी थिएन । कक्षा ५को जिल्ला स्तरीय परीक्षापछिको एक मध्यान्ह मलाई कसैले चिया खुवायो । चियासितको पहिलो जम्काभेट सुखद रहेन । मेरा कलिला ओठले चुमेको तातो गिलासको एक घुट्को चियाले जब जिब्रो नराम्ररी दरफर्यायो त्यसपछि चिया मलाई कहिल्यै मन परेन ।
करकापमा कसैको मन राखिदिन एकाध बाहेक त्यसपछि मैले चिया खाइनँ । खान्नँ । मद्यपान र धुम्रपानको अम्मल त मलाई कहिल्यै भएन ।
तर कफी ?

Sunday, August 16, 2015

सपनाको ट्रान्जिट


अनमोलमणि

हुन्हुनाएर एकनास बग्दैछन्
कालो सडकको नांगो छातीमा मेरा सपनाहरु

यो साँझ म सपनाको ट्रान्जिटमा छु !

Saturday, February 1, 2014

'प्रवेश निषेध’ बाहिर पुरुष

त्यो एउटा संयोग थियो । साँझको ६ बज्नै लाग्दा म त्यो 'पुरुष वर्जित' ढोका अघि उभिएको थिएँ । महिला शौचालयबाहेक सूचना टाँसेरै पुरुषलाई प्रवेश निषेध लेखिएको छुट्टै ठाउँ मैले आजसम्म देखेको थिइनँ । 

ढोकाको एउटा खापा खुला थियो । मेरो टाउकोभन्दा झन्डै एक फिटमाथि ढप्काइएको खापामा टाँसिएको सूचना मैले उभो मुन्टो लगाई दोहोर्‍याएर पढें । मैलो सिसाजडित पुरानो ढोकाको सूचना पढेपछि पहिले म एक्लै मुस्काएँ । मनमनै लाग्यो, 'संसारमा यस्तो ठाउँ पनि रहेछ । जहाँ पुरुष बाहिर र महिलामात्रै भित्र हुन्छन् ।' अरू केही महिला पुरुष भिजिटर पनि सूचना हेर्दै थिए । मेरो मन कुतकुति लगाउने सूचनामा लेखिएको थियो, 'पुरुष भिजिटर भित्र पस्न सख्त मनाही छ ।'

मैले बल्ल पत्तो पाए त्यो पुरुष बर्जित ठाउँ रहेछ । सेतो एप्रोनमाथि सानो सर्पजस्तो कालो स्टेथेस्कोप काँधमा बेरेर बाहिर निस्केकी चिकित्सकले बरन्डामा राखिएका कुर्सी देखाउँदै उभिएका पुरुषहरूलाई भनी, 'त्यता बसिदिनुस् न है भित्र नआउनुस्, ह्याँ केटाहरू पस्न पाइन्नँ ।'

आज्ञाकारी भएर पुरुषहरू पाटन अस्पताल नयाँ भवनको पहिलो तल्लामा अडिए । जुन ढोकाभित्र प्रशव पीडाले छटपटाइरहेका महिलामात्रै थिए ।

Sunday, November 17, 2013

प्रेम विरुद्ध


डढेका कंकालहरु मात्र भेटियो साँझमा
झर्नै नसक्नेगरी जमेका आँशुहरु सम्हालेर 
प्रेमीहरु प्रश्न गरिरहेछन् छेउमा—
‘ऊ हिन्दू, इसाइ, मुसलमान केही होइन
सत्य धरोधर्म ऊ कुनै पार्टीको सदस्य होइन
अब भन कुन हो मेरो प्रेमीको लास ?’

पढाइ सकेर विद्यालयबाट फर्किँदै गरेको एउटा केटो
बाटो वीचमा रोकेर गुरुलाई भनिरहेछ—
‘सर, कहीँ नपड्कियोस् बम र बारुदी सुरुङ
कसैले नचलाओस् भरुवा बन्दुक 
खिया लागेको पेस्तोल र भुत्ते तरबार
मेरा आफन्त फर्केका छैनन् यो झम्के साँझसम्म
मेलापात र घाँस दाउराबाट
र मैले पूरा गर्नुछ आजको गृहकार्य,

Saturday, October 5, 2013

शारदाको सान

शारदा शर्मालाई कसैले साहित्य लेख भनेको थिएन । कविता, कथा, निबन्ध, समालोचना, उपन्यास र अखबारी लेखन थाल्दा उनीसित चर्चित हुने सपना थिएन । बिना कसैको करबल आफ्नो मनमौजी लेखन थालेकी थिइन् । पछिल्लो तीन दशकदेखि निरन्तर उनी लेखकको हस्तक्षेपकारी भूमिकामा छिन् । लेखनका कारण सधैं चर्चामा रहने उनको नाम यसपटक तीन मुख्य कारण थप चर्चामा छ । पहिलो, उनको उपन्यास 'ताप' ले प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको छ जसको राशि २ लाख रुपैयाँ छ । दोस्रो, 'ताप' ले मदन पुरस्कार पाउने हल्ला हल्लामै सीमित भएको छ । र, तेस्रो श्रीमान् नरहरि आचार्य मंसिरमा हुने संविधानसभा चुनावमा फेरि उम्मेदवार भएका छन् ।

'जसले गरेको भए पनि मदन पुरस्कारको गलत चर्चा मेरो नाम र पुस्तकमाथि भएको खेलबाड हो,' श्रीमान् आचार्य उम्मेदवारी दर्ताका लागि जानुअघि बिहीबार कार्यकर्ताले निकालेको जुलुसमा सामेल भएर फर्केकी उनले भनिन्, 'मैले कहिल्यै पुरस्कारका लागि लेखिनँ । पुरस्कार संयोग हो, लेख्नु मेरो आदत हो । मलाई लाग्छ, कुनै पनि गम्भीर लेखक पुरस्कारका लागि लेख्दैनन् ।' खास लेखक आफ्नो गुणवत्ता र मेहनत कम नगरी पुरस्कार नपाए पनि लेखिरहन्छ । शारदा शर्मालाई पनि के लाग्छ भने पाठकको प्रतिक्रिया जतिको ठूलो पुरस्कार एउटा लेखकका लागि संसारमा अरू केही छैन ।

लेखन कसरी सुरु भयो, उनलाई ठ्याक्कै हेक्का छैन । ८ वर्षको छँदा कविता लेखिन् । त्यसपछि जीवनसित जोडिने हरेक कुरालाई उनले सिर्जनात्मक आँखाले हेरिन् । जसले उनलाई जीवन बुझ्न सघायो । हरेक लेखनमा उनको दृष्टिकोण अरूको भन्दा फरक भएर आउन थाल्यो । शैलीमा नयाँपन देखियो । सुरुमा कवि भएर चिनिइन् । त्यसपछि निबन्धकार, कथाकार । समसामयिक विषयमा लेख्ने अखबारी स्तम्भकार र पछिल्लोपल्ट उपन्यासकारका रूपमा उनी पाठकमाझ छाइरहेकी छन् । यही बीचमा उनका ८ वटा किताब छापिएका छन् । र, हरेक पुस्तकले उनलाई एक न एक रूपमा चर्चाकै केन्द्रमा राखेको छ । 'कविता भावनात्मक आवेग हो । एउटा कवितामा मनमा आएजति सबै कुरा अटाउन सकिन्न । निर्बन्ध रूपमा आफ्ना प्रस्ट अनुभूतिहरू पोख्न म निबन्ध, कथा र उपन्यास लेख्छु,' उनले भनिन्, 'लेखेर कुनै कुरा लेखेपछि म आफूलाई हलुङ्गो र आनन्दित अनुभव गर्छु । आनन्दित हुनुभन्दा ठूलो कुरा अर्को के हुन्छ ?'

Friday, August 16, 2013

साउनको अन्तिम दिन

  •  अनमोलमणि
त्यसै गरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रातरातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रैजस्ता केहीछायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती।

Tuesday, August 13, 2013

विवाहेत्तर सम्बन्धका दुष्परिणाम

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ ।
यौन, अपराध र परिवार विखण्डन
  • अनमोलमणि
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया 
नचाहँदा(नचाहँदै छुट्यो हाम्रो माया 
अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको

सम्बन्ध टुक्रिनका कारण पहिल्याउन गीतकार राजुबाबु श्रेष्ठका यी शब्द काफी छन् । हरि लम्सालको संगीतमा मनोजराजले यी शब्द गाउँदा संयोग कस्तो परेको थियो भने गायिका श्रीमती अन्जु पन्तसित भर्खर(भर्खर उनको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको सम्बन्धविच्छेदको कारण थियो, विवाहेत्तर सम्बन्धको शंका । दुवैले दुवैलाई गरेको शंकाले संगीत बजारमा जमेको एउटा जोडी टुक्रियो । गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ुविवाहेत्तरको सम्बन्धले समाजमा श्रीमान्(श्रीमतीको कसिलो प्रेम पानीको फोकाजस्तो नचाहँदा(नचाहँदै फुटिरहेको छ ।ु २५ हजारले सीआरबीटी प्रयोग गरेको र करिब २ लाखले फेसबुक पेजमा मनपराएको यही गीतको भावजस्तै कहिल्यै नटुट्लान् भन्ने ठानिएका सम्बन्धहरू विवाहेत्तर सम्बन्धका कारण फेरि नजोडिनेगरी टुक्रेका छन् । कतिले आत्महत्या गरेर अमूल्य जीवन सकेका छन् । कति आपराधिक क्रियाकलापमा लागेर जेल जीवन बिताइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमडौंका डीएसपी वसन्त थापाले १५ कात्तिकमा आत्महत्या गर्नुको कारण पनि विवाहेत्तर सम्बन्ध नै भएको अनुसन्धानले देखायो । थापाको आत्महत्या खबर आएपछि प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी जवान प्रमिला भट्टराईले पनि त्यही बाटो रोजिन् । घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार, विवाहित थापा र अविवाहित भट्टराई बीचको घनिष्ट सम्बन्धले दुवैलाई मृत्युको मुखमा पुर्‍यायो । भन्छन्, गुपचुप सम्बन्धबारे परिवारको चियो र सम्बन्ध सार्वजनिक हुने भयले दुवैले आत्महत्या रोजेको देखिन्छ ।

 केही हप्ताअघि राष्ट्रिय महिला आयोगमा आएको एउटा उजुरी यस्तो थियो, मेरा श्रीमान् बाहिर अर्की केटी लिएर हिंँड्छन् । घर कम आउँछन् । दुई बच्चा र मेरो वास्ता गर्दैनन् । उनलाई सम्झाइ(बुझाइ मेरो परिवारको खुसी फिर्ता ल्याइदिनुपर्‍यो । आयोगले दुवैलाई झिकाएर सम्झायो ।

३ वर्ष कतार बसेर फर्केका पर्वतका दीपक चापागाईंकी श्रीमती मन्जु उनी आएको महिना नपुग्दै २ छोरीलाई अलपत्र छाडेर भिनाजू नाता पर्ने राजु पौडलसित भागिन् । गत असार ३१ मा म्याग्दीको बेनीमा भएको उक्त घटनापछि दीपक अहिले मानसिक रूपमै विक्षिप्त छन् । पोइल जाँदा श्रीमतीले लगेको ३ तोला गहना र १७ हजार रुपैयाँ उनका लागि ठूलो विषय भएन, समाज र परिवारमा उनीबारे हुने टिप्पणीले दुःखी बनाएको छ ।

धेरैलाई लाग्दो हो, श्रीमान्(श्रीमतीको सम्बन्ध भनेको नितान्त व्यक्तिगत कुरा हो । हुन पनि श्रीमान्(श्रीमती सबैभन्दा नजिकका साथी हुन् । सुखमा सँगै हाँस्ने, दुःखमा सँगै रुने र समस्यामा मिलेर त्यसलाई परास्त गर्ने आदर्श यी दुई साथीले बोकेका हुन्छन् । तर पछिल्लो समय लोग्ने(स्वास्नीबीचको यो आदर्श क्षय हुँदै गएको छ । जीवनभर सँगै बाँच्ने वाचाबन्धन गरेकाहरू सधैंलाई छुट्टनिे बाटोमा अग्रसर छन् ।


केहीअघि लक्ष्मीपूजाको अघिल्लो दिन काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्धविच्छेदका ३ वटा मुद्दामा बहस भयो भने गतसाता झन्डै ७ वटा यस्ता मुद्दामा बहस भयो । अदालतले सकेसम्म मिलाउने तर केही सीप नलागे मात्रै सम्बन्धविच्छेदको अन्तिम फैसला गर्ने गरेको छ ।

अपराधको स्रोत

घरमा श्रीमान् वा श्रीमती हुँदाहँुदै बाहिर मन डुलाउनेहरूले दाम्पत्य जीवनमात्रै धरापमा पारेका छैनन्, आफैं आपराधिक क्रियाकलापमा समेत मुछिएका छन् । कतिले पदरप्रतिष्ठा गुमाएका छन् । यस्तै सम्बन्धका कारण सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइराला श्रीमती हत्या अभियोगमा अहिले जेलमा छन् । महाबौद्धमा रेस्टुरेन्ट चलाउने एक महिलाले भाइ बनाएका व्यक्तिसँगको सम्बन्धका कारण श्रीमान्को हत्या गरिन् । हत्याले उनको इच्छा पूरा भएन, बरु योजना नै चकनाचुर भयो ।

Saturday, August 10, 2013

त्यो महेन्द्र माला

कक्षा ९ र १०मा दुई दशक पढाइ भएको महेन्द्रमालाको नियात्रा घनघस्याको उकालो काट्दा हजारौं लाखौले पढे । पाठ्यपुस्तक लेखेवापत ताना सर्माले चाहि एक पैसो रोयल्टी पाएनन् ।

  • अनमोलमणि

चीसो बढ्दै गएको पुसको एउटा मध्यान्ह भेट्दा उनी सरस्वती नगरको घरनं ५०५ मा भाषा बारे कार्यपत्र लेख्दै थिए । भीडभाड र होहल्लावीच पनि म शान्तसित बसेको छु, कपन जादा गोपिकृण सिनेमा हललाई देब्रे परेर ठडिएको घरमा उनले भने, यहा घर र सडक यसरी बढ्यो, पाच वर्ष अमेरिकाबसेर आउदा मैले झन्डै आफ्नै घर भुलेको । ३४ वर्षको उमेरमा २०२४ सालमा घनघस्याको उकालो काटेका ताना सर्मा यतिखेर घरको पहिलो तल्लामा गफिइरहेका थए ।

घनघस्याको यात्रा यति लोकप्रिय होला भन्ने उनलाई लागेकै थिएन । उनको यात्राले एउटा गुमनाम ठाउ सेलिब्रिटीझै एकाएक चर्चामा आएको थियो । त्यसपछि कयौंले घनघस्यामा पाइला टेके । कयौंले त्यसबारे लेखे । यो नियात्राको सप्रसंग व्याख्या गरेर कतिले विद्यालय तह सके । कतिका लागि त्यो व्याख्या घनघस्याजस्तै चढ्नै नसक्ने अक्करे उकालो भयो । आखिर त्रिचालीस वर्षअघिको सर्माको त्यो यात्रा नेपाली साहित्यमा किन सदाबहार चर्चामा रहन्छ ?


‘हजारौ लाखौ विद्यार्थीले यसलाई पढेका छन्’, उनले कारण खोले, ‘यसमा एउटा जीवन छ । यात्राको रोचक वर्णन छ ।’ यदि २०४० सालदेखि निरन्तर २० वर्ष कक्षा ९ र १० को पाठ्यपुस्तकमा नसमेटिएको भए यो नियात्राको चर्चा यति धेरै हुन्थ्यो होला ? ‘भन्न सकिन्न’, झर्रोवादी आन्दोलनका सर्मा दाहिने हातले मुख छोपेर एकछिन गमे, ‘यस्सै भन्न सकिन्न ।’

दोहोरीमा परदेश पीडा

  • अनमोलमणि
कुनै बेला यस्तो थियो, झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत सुनेर भक्कानिने धेरै थिए । परदेशिएको ‘लाहुरे’ श्रीमान्, छोरो, भाइ र आफन्तको दुख समेटिएको त्यो गीत सारंगीमा रेटि“दा मन भारी बनाएर आ“खा पिलपिल पार्थे । त्यति बेलाको वैदेशिक रोजगारी भारत वा वेलायती सेनामा हुने भर्ना थियो । ती ‘लाहुरे’ गनिन्थे । वर्षौमा घर फिर्थे । प्रियजन र आफन्त भेट्थे, दुख सुनाउ“थे । लडाइमा कहा“ परिन्छ पत्तो थिएन । तिनै अनुभूति गीतमा समेटिएका थिए ।
अहिले पनि पारिवारिक खुसी र आर्थिक उन्नतीका लागि विदेशिनु पर्ने बाध्यता बदलिएको छैन । स्वदेशमा घट्दो अवसरले वैदेशिक रोजगारीमा जाने दिनदिनै बढेका छन् । कुल जनसंख्याको ६५ प्रतिशत गरिब नेपालीको सजिलो गन्तव्य बनेको छ खाडी मुलुक । सरकारी तथ्याङ्क अनुसार यसरी सस्तो श्रम गर्न जानेको संख्या दैनिक ७ सयको हाराहारीमा छ । कतारमामात्रै यो संख्या ३ लाखभन्दा बढी छ । मलेसिया, इराक, युएइ, दुवइ, कुबेत लगायत देशमा गरेर सस्तो श्रममा गएका नेपाली करिब १५ लाख छन् । त्यसमध्येका ३० प्रतिशत अत्यन्त जोखिमको काममा छन् । वैध वा अवैध रुपमा त्यहा पुगेका नेपालीको जीवन सुखी छैन, ‘रण है प¥यो भन्दिए’ शैलीकै दुखिया दैनिकी छ ।

अहिले चल्तीका केही दोहोरी गीतमा वैदेशिक रोजगारीका तिनै पीडा समेटिएका छन् । कान्तिपुर एफएमका लाइबे्ररियन विष्णु वस्नेतका शब्दमा यस्ता लोक दोहोरीमा विदेश बस्नेको पीडा, घरको सम्झना, आफन्तको माया, प्रेमी, पे्रमिका वा श्रीमतीको झझल्को समेटिएको पाइन्छ ।
‘धेरै नेपाली कतार मलेसिया जाने भएर होला क्यासेटको नाम र गीत पनि त्यस्तै भावका छन्’, उनी भन्छन्, ‘घर परिवार र श्रीमतिको सम्झना तथा त्यहा काम गर्दाको दुख अनुभवका गीत धेरै छन् । केही गीत हङकङबारे र केही गीत अमेरिकाका बारेमा पनि आएका छन् । एक दुई बाहेक कतार मलेसियाजति तिनको चल्ती छैन ।’ यस्ता भाव समेटिएका करिब एक दर्जन गीत धेरैले रुचाएका छन् । बाकी क्यासेटमै सीमित । 
चल्तीमा रहेमध्येको एउटा हो ‘लाको छैन फर्की आउ“ला’ एलबममा ऋषि अधिकारी र बीमा कुमारी दुराले गाएको इराकको त्रासदी सम्झाउने भावको गीतः
सद्दाम हुसेन जन्मेको गाउमै छु
बाह« जना मारेको ठाउमै छु
लाको छैन फर्की आउ“ला झै“
सानु तिम्रो मुख देख्न पाउला झै
सुख दुख गरिखाउला झै
...................
राम्रै ठाउ“ हो भन्थ्यौ नि पहिले त
किन त्यस्तो बोल्छौ नि अहिले त
म बा“चुला कसलाई हेरेर
२०६२ भदौ १६ पछि यो गीत निकै चर्चामा रह्यो अहिले पनि बजिरहन्छ । यसले नेपालीको दुर्दान्त कथालाई जिवित तुल्याइदिन्छ । अहिले पनि क्यासेट बिकीरहेकै छ । त्यसपछि आएका क्यासेट ‘तातो हावा चल्छ सरर’, ‘फर्क जहाज चढी’, ‘मलेसिया साउदी कतार’, ‘चीठी आउदैन’, ‘नजाउ विदेश’, ‘मेरो माया मलेसियाको’, ‘बा“चे आउ“छु जन्मेको गाउघर’ चल्ती मध्येका एलबम हुन् ।

Saturday, August 3, 2013

कथा/जेब्राक्रसमा उभिएर

   म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई ।
      लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो ।
             यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ याद भएन । त्यो भेट भनौं वा देखादेखमात्र थियो ।
              म उभिएको पछिल्तिर पुस्तकपसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि असुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए, र त्यसभन्दा माथि खुला आकास घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकासमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकासले छोपिएको थिएँ ।
            बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए ।
            बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र र स्कर्टका फेरहरू समातेर केही युवती पारिपट्टी अर्को सडक छिचोल्दै, सम्हालिएर किनारै किनार हिँडिरहेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन !
        मेरै लहरमा उभिएका युवाहरू हावाको बेगसँगै कुतकुतिए कि भन्ने ठानेर पनि मैले उनीहरूको अनुहारमा हेरिनँ ।
           बरु झिमझिम गरिराख्ने मेरा आँखाहरू आधा चिम्लिएर आफूलाई बुद्धझैं अर्धस्मित राखेँ ।
          जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन ।
              तेस्रो पटक भेट हुँदा थाहा भयो ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परिचय भयो । नाम बताई, सिन्थिया । बालुवाझैं कहिल्यै नबाटिने र फुस्किरहने  जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैं उदास देख्थेँ ।
          ऊ विस्तारै मसँग नजिकिई । कम हाँस्थी ।
             एक दिन कफिगफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, 'मैले खोज्नु छ सर, धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएको छु । आफैंलाई हराएको छु ।' मेरा लागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।
         त्यसपछि ऊ निकै दिन हराई ।
         'कहाँ गएकी थियौ,' भेटपछि क्याम्पस गेटमै मैले सोधेको थिएँ, 'निकै दिन हरायौ नि ।'
           'त्यतिकै सर, आफ्नै काममा हिँडेकी थिएँ, तर यसपटक काम हुन सकेन,' उसले यत्ति भनी ।
   'मैले गर्न सक्ने सहयोग केही छ ?'

कथा/अकारण

आइतबार
...र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

आजै अस्पताल भर्ना भएको एउटा अनौठो बिरामीको उपचारमा दिनभर व्यस्त रहे“ । ऊ छाती पोल्यो भन्छ र रुन्छ, छटपटाउ“छ । र भन्छ, "आई गट पेन इन माई चेस्ट, प्लिज डक्टर इफ पोसिबल किल मी, आई वान्ट टू र्डाई ।" तर, परीक्षणमा केही छैन । समग्रमा उसमा कुनै पनि रोगका लक्षण छैनन् । आज सामान्य केही औषधि लेखिदिएको छु

सोमबार
म त्यही घटना सम्भिmरहेछु, मैले उसलाई त्यति सिरयिस देखिन“ । कतिसम्म भने डिस्चार्ज गरेर घर जानेसम्मको सल्लाह दिए“ । तर, उसले मेरो सल्लाह मानेन । बरु दाहिने हातले आफ्नो छाती विस्तारै थिच्दै भन्यो, "डाक्टर, सायद प्रत्येक आ“सुले पीडा दिन्छ । मस“ग त्यही आ“सुको पीडा छ र मेरो छातीमा चोटैचोट छ । मलाई डिस्चार्ज गरेर चोट नथप डाक्टर । म त्रि्रो छेउ बस्न चाहन्छु । त्रि्रो छेउमा मलाई केही ढाडस मिलेको छ । बरु मिल्छ भने तिमी मलाई मारदिेऊ । डाक्टर पीडा खेपेर बा“चिरहनुभन्दा म मेरो मृत्युपत्रमा हस्ताक्षर गरििदन्छु ।"

मेरा लागि यो अनौठो पेसेन्ट हो । यस्तो पेसेन्ट मैले न कहिल्यै अस्पतालमा भेटे“, न मेरो क्लिनिकमा ।
मैले उसको शरीरको माथिल्लो भाग स्टेथेस्कोपले जा“चे““ । सबै ठीक थियो । बाहिर देखिने गरी कतै घाउको कुनै निसाना थिएन । उसलाई भित्रैसम्म पीडा हुने गरी पोल्ने उसको छातीमा के त्यस्तो रोग थियो, मेरो स्टेथेस्कोपले पत्ता लगाउन सकेन ।

मैले उसको छातीको सिटीस्क्यान र एक्सरे गरे“ । मुखबाट नली राखेर भित्रका धेरै अङ्गको परीक्षण गरे“ तर उसको कुनै अङ्गमा त्यस्तो खराबी देखिएन । सबै ठीक थियो । ऊस“ग चुरोट, रक्सी, भुटेको सुपारी, पान, कफी, चकलेट, प्रत्येक बिहानको कडा एक्सरसाइज केहीको लत थिएन ।

Friday, August 2, 2013

कथा /एउटा अर्को गुलाब

मलाई त्यो गुलाबले छातीमै लागेको थियो। मुटु धड्किने छातीको देब्रे पाटोनेर। त्यसपछि म बेहोस भएको थिएँ।
म बेहोस भएपछि छेउमा यस्ता वाक्य बोलिए :

'उसलाई गुलाबकै थुँगाले लागेको छ। कसले हान्यो त्यो फूलले? राम्ररी छिमलिएको छैन कि के त्यसका डाँठ, राम्ररी हेर? त्यसका घुमे्रका काँढाले उसको कोमल छाती कोतरे जस्तो छ। चोट पक्कै मुटुसम्म पुगेको हुनुपर्छ। नत्र किन फूलले छुँदै यसरी लत्रेर बेहोस हुन्थ्यो?'

मेरै छेउमा पछारएको अखबारको पहिलो पृष्ठमा लेखिएको खबरको शीर्षक यस्तो थियो, 'सहरमा साना हतियारको बिगबिगी'।


त्यही भएर धेरैले ठानेका थिए, मलाई गोली नै लागेको छ। मान्छे मार्न एक गोली काफी थियो। फूलले लागेर व्यक्ति यसरी घाइते हुन्छ भन्नेमा उपस्थित आमनागरकि विश्वस्त थिएनन्। तिनका आँखा वास्तविकता जान्न आतुर थिए। अलिकति निधार खुम्च्याएर, अलिकित आइब्रो र परेला तन्काएर सकेसम्म सही कुरा के हो खुट्याउन प्रयासरतहरू मलाई गोली नै लागेको हो भन्ने जिद्दी गर्दै थिए। तर, म रगतपच्छे भएको थिइनँ। त्यसैले 'होइन होइन' भन्नेहरू पनि त्यत्तिकै थिए।

रगत नदेखे पनि गोली लागेको हो भन्नेहरूले अखबारका केही खबरलाई आधार बनाएका थिए। तिनले आधार बनाएका खबरमा यस्तो थियो :
  •   प्रेमीले पहिले प्रेमिकाको निधारमा चुमेको थियो। फूलैफूलको जंगलबीच प्रेमिकाले आँखा बन्द गरेकी थिई। त्यही बेला वर्षौंदेखिको पि्रय प्रेमिकाको चाक्लो निधारमा एउटा गोली खर्चेर उसले प्रेमिकाको हत्या गरेको थियो। प्रहरी बयानमा उसले भन्यो, "म उसको प्रेममा पागल छु। म यति धेरै उसलाई मन पराउँछु कि आफूलाई पनि त्यति माया गर्दिनँ। तर, उसले मलाई बुझिन। मेरो भावनामाथि खेलबाड गरी।
  •   एक थान गोलीले छाती चुमेपछि व्यापारी सडकमै डङ्ग्रङ्ङ लड्यो। त्यसपछि उसको आत्मा शरीरबाट मुक्त भयो। सहरको एउटा अज्ञात समूहले घटनाको जिम्मेवारी लिँदै भन्यो, 'चन्दा नदिनेलाई हामी यसैगरी गोलीले भगवान्को नजिक पुर्‍याउँछौँ।'
  •   परीक्षामा चिट चोर्न नदिने शिक्षकलाई एउटा विद्यार्थीले केहीबेरको भनाभनपछि कम्मरपछाडि लुकाएको कटुवा पेस्तोल निकालेर एक गोली हानेको थियो। जसको प्रहार यति कठोर भयो कि शिक्षकले फेर िचिट नचोर भन्ने नैतिक पाठ सिकाउने अवसर नै पाएन। भाग्दै गर्दा स्कुल चौरमा विद्यार्थीले भन्यो, "चोर्न पाउनु मेरो नैसर्गिक अधिकार हो। हेरौँ कसले चोर्न दिँदैन!"
  •   श्रीमतीले पूर्वप्रेमीको आग्रहमा श्रीमान्लाई आफ्ना कोमल औँलाले स्टिगर दबाएर कन्चटमा प्रहार गरी। सधैँ आफूसित नांगै घन्टाँै मडारनिे ओच्छ्यानमा श्रीमान्ज्यूको शरीर पछारएिको थियो। असहज महसुस नगरी सारी सम्हालेर श्रीमतीले लोग्नेको घर छाडेकी थिई। त्यसपछि उसले भनी, "म बन्धनमुक्त भएकी छु। अब जोसुकैलाई चुम्न, हेर्न र छुन स्वतन्त्र छु।"
  •   ओम माने पद्मे हुम्... मन्त्र जप्दै गुम्बाअघि हिँडेको एउटा भिक्षुलाई स्वयम्भूको जंगलनजिकै केही लुटेराले गोली हाने। उसको गेरु झोला खोसे। झोलामा बुद्धका वाणीहरू भएको एउटा पुस्तक थियो। भुइँमा उसको टाउको गोलीले धोद्रो पारेको थियो। तिनले भिक्षुको हातको माला पनि खोसे। त्यसपछि माला जप्दै स्वयम्भूका मानेहरू घुमाउँदै लुटेराहरू मन्त्रोच्चारण गर्दै थिए, 'बुद्धम् शरणम् गच्छामि।'

Thursday, July 25, 2013

कहा चुक्यो सिकाइ ?


  • कक्षा १ मा भर्ना हुने १ सय विद्यार्थीमध्ये ५ कक्षा पुग्दा ३३ जनाले र कक्षा १० पुग्दा ६५ जनाले विद्यालय छाड्छन्
  • एसएलसी जाच दिने ५ लाख मध्ये नियमिततर्फ ५३ प्रतिशत विद्यार्थी फेल हुन्छन्
  • प्लस टुमा वर्षेनी ६२ प्रतिशत अर्थात् ५ लाख विद्यार्थी असफल हुन्छन्
  • एसएलसी जाच दिनेमध्ये ९० प्रतिशत ट्युसन पढ्छन्  

 नेपालको विद्यालय शिक्षाको अवस्था झल्काउने माथिका केही तथ्यांक हेर्दा लाग्छ, पढेर पास, कामकाजी र सिर्जनात्मक हुनेभन्दा फेल भएर निराश हुनेको संख्या धेरै छ । शिक्षालयहरु विद्यार्थीलाई नया“ चिज सोच्न र गर्न सक्ने बनाइरहेका छैनन् अक्षरमात्रै चिनाइरहेका छन् । निश्चित तह पुगेका (सफल वा असफल)े जनशक्ति सिर्जनात्मक वा व्यवसायिक काम गरेर आत्म निर्भर हुन सक्ने आ“टिलो छैन । केही वर्ष अघि भएको ‘विद्यालय शिक्षाको समीक्षा’ले विद्यालयको वातावरण, पढाउने शैली र शिक्षकको व्यवहारले प्राथमिक तहका विद्यार्थीले पढाइ छाड्ने गरेको देखाएको छ । केदारभक्त माथेमा नेतृत्वले गरेको एसएलसी अध्यनले विद्यालयमा विषयगत सिकाइको कमीका कारण धेरै विद्यार्थी फेल हुने गरेको देखाएको छ । प्लस टु स्थापनाको बीस वर्षसम्म पनि कम विद्यार्थी पास हुनुको कारण अध्ययन भएको छैन । सन् २०११मा पहिलो पल्ट कक्षा १०को राष्ट्रिय उपलब्धि अध्ययन गर्दा पत्ता लाग्यो, विद्यार्थी कक्षा कोठाको पढाइ भन्दा ट्युसन, कोचिंग र सहयोगी पुस्तकको भरमा पास भइरहेका छन् ।
राजधानीको जनजागृति माविका प्रधानाध्यापक कृष्ण कु“वर भन्छन्, ‘हामीले विद्यार्थीको क्षमता बुझेर सिकाइ सुधार्न सकेनौं । त्यसका लागि विद्यालयको वातावरण पनि बन्न सकेन । व्यवसायिक सीप दिएर आत्म निर्भर बन्ने गरी सिर्जनात्मक क्षमता भर्न सकेनौं । अक्षर चिनायौं, त्यसको भाव र मर्म बुझाएर शिक्षित बनाउन सकेनौं ।’
देशभर ३३ हजार सामुदायिक र ६ हजार निजी विद्यलायमा करिब ७० लाख  विद्यार्थी पढ्छन् । २५ हजार प्ररम्भीक बालविकास केन्द्र (इसीडी) सञ्चालनमा छन् जहा विद्यालय जानु पूर्वका केटाकेटी पढ्छन् । पछिल्लो १० वर्षमा सरकारले शिक्षामा लगानी ९ बाट बढाएर १७ प्रतिशत (६४ अर्ब रुपैया) पु¥याएको छ । तर, निरन्तर गर्नु पर्ने लगानी अनुसारको सिकाइ उपलब्धि मापन भने हुन सकेको छैन । 
शिक्षा विभागले कक्षा १०का विद्यार्थीमाथि गरेको अध्ययन अनुसार ६० प्रतिशतको पढाइ अत्यन्त कमजोर छ । बा“की ४० प्रतिशतको सिकाइ पनि परीक्षा उत्तीर्ण गर्ने स्तरको मात्रै छ । गणित, अंग्रेजी र विज्ञानको सिकाइ अत्यन्त कमजोर देखिएको छ । दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा झन्डै शून्य छ । कक्षा १० पुगेका विद्यार्थी अक्षर चिन्न र पढ्न बाहेक कुनै पनि सीपमा दक्ष छैनन् ।
अध्यनले लगानी तथा पाठ्यक्रम अनुसार विद्यार्थीको सीप विकास नभएको, कमजोर सिकाइका कारण पाएको ज्ञान व्यवहारिक भन्दा बढी सैद्धान्तिक भएको औंल्याएको छ । प्रतिवेदनले ९० प्रतिशत विद्यार्थी कक्षाको पढाइमा भन्दा ट्युसन र कोचिंगमा तानिएको देखाउ“छ ।
विद्यार्थी उत्तीर्ण भएर कक्षा चढ्दै गए पनि सिकाइको धरातल अत्यन्त कमजोर रहेको सन् १९९७ देखि २००८ सम्म गरिएको कक्षा ३, ४, ५ र ६को ९ वटा अध्ययनले देखाएको छ । सबैजसो अध्ययनले ५० प्रतिशत विद्यार्थीको प्रस्तुती कमजोर रहेको औंल्याएको छ । जुन कुरा अहिले पनि सुध्रेको छैन । विद्यार्थीको सिकाइ उपलब्धिबारे अध्यन गरेका शिक्षाविद् प्रा तीर्थ खनिया भन्छन्, ‘शिक्षकलाई के पढाउदैछु थाहा छैन, विद्यर्थीले के÷किन पढ्दैछु बुझेको छैन । राज्य आफ्ना नागरिकलाई के पढाउने प्रष्ट छैन । अन्यौलवीचको पढाइले विद्यार्थीको सिकाइ कमजोर भएको हो ।’
रुम टु रिडको ग्लोबल अफिसका प्रमुख कार्यक्रम अधिकृत धिर झिंग्रानले गत वर्ष दक्षिण एसियाका ५ देशमा गरेको अध्यनले पनि नेपालको सिकाइ स्तर अन्य देशको भन्दा पछाडि रहेको देखाएको थियो । राजधानीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘अक्षर चिनाएर शिक्षित हुदैनन् । चिनेको अक्षर सही रुपमा प्रयोग गर्न सक्छन् सक्दैनन् महत्वपूर्ण कुरा हो ।’

Monday, July 22, 2013

फूलजस्ता केटाकेटी

  • अनमोलमणि

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । ‘अनि मैले सैनिक जागिर छाडे’, केही दिन अघि बाकेमा भेटिएका उनले विगत सम्झे, ‘मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सकिदन भन्ने लाग्यो र छाडिदिए ।’

भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउदै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरु ? संयाग त्यही बेला बाकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा । सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लाग साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके । उनको अंग्रेजी राम्रो थियो । त्यही भएर होला एक साझ अगुवा मध्येका कसैले सोध्यो, जागिर खान्छौं ? अंग्रेजी पढाउनु पर्छ, केटाकेटी पढाउन सक्छौ ?

उनी गम खाए । जागिर थिएन, एक मनले लाग्यो, ह्या होस्है केटाकेटीसित झुत्ती खेलने जागिर के खानु ? अर्को मनले भन्यो अल्झिने मेलो त हुन्छ । किताबै पढाउने हो, पढाउन जानिहालिन्छ जागिर खाएर आखिर के बिग्रिन्छ ? मन नलागे छाडिदिउला । यस्तै दोधारवीच २०४५ सालको फागुनबाट अंग्रेजी पढाउन थाले ।

दोधारवीच सुरु गरेको त्यही मास्टरी पेशा अन्तत उनको स्थायी करिअर बन्यो । त्यसपछि गाउको श्यामबहादुर बुढाबाट उनी एकाएक श्याम सरमा बदलिए । सबैको श्याम सर । श्यामसरलाई नमस्कार गर्न थाले । छोराछोरीको पढाइको चासो लिन थाले । केटाकेटीसित खेल्ने क्रम त्यसपछि सुरु भयो ।

‘एक दिन केटाकेटी नदेख्दा न्यास्रो झै लाग्छ, घरमा छोरीहरु छन् र पनि सुनसानझै लाग्छ’, अढाइ दशक शिक्षणमा बिताएका उनले भने, ‘केटाकेटीसित आकर्षणको शक्ति हुन्छ । ती रिसाए पनि फूलजस्ता हुन्छन् । ती हास्दा पनि फूलजस्ता हुन्छन् । सुन्दर । हेरिरहु लाग्ने ।’

Saturday, June 29, 2013

कठघरामा शिक्षक

कुनै जमाना थियो, शिक्षक हुनु गर्व र सम्मानको विषय थियो । ज्ञानको स्रोत, समाजले आदर्श, अनुशासन, विश्वास र नैतिकताको विम्ब लिनुपरे शिक्षक उदाहरण बन्थे । चेतनाका संवाहक मानिएका तिनै शिक्षक दशकयता सामाजिक विश्वास र सम्मान गुमाउ“दै आलोचनाको केन्द्रीय पात्र बन्दै गएका छन् । शिक्षकको छवि धुमिल हु“दै तिनको व्यावसायिक दायित्वमाथि प्रश्न उठ्न थालेको छ । शिक्षक छाडा भएको तिनका नेताहरू नै स्वीकार्छन् । नपढाएर चरम राजनीतीकरण गरेको,  शिक्षण सिकाइ क्रियाकलाप र सामुदायिक विद्यालय बिगारेको आरोप शिक्षकले खेपिरहेको छ । आखिर किन भत्कि“दैछ, आदर्शको ‘विम्ब’ शिक्षकको पर्खाल ?

शिक्षा विभागका अनुसार, देशमा १८ थरी शिक्षक कार्यरत छन् । त्यसमध्ये १ लाख ९ हजार ९८ स्थायी छन् । ३७ हजार ६ सय २० राहत  करिब १२ हजार पीसीएफ, २० हजार अस्थायी, २५ हजार ईसीडी सहजकर्ता शिक्षक छन् । कुल बजेटको ७० प्रतिशत शिक्षक तलबमा खर्च भइरहेको छ । ६७ अर्बमध्ये शिक्षा विभागमा ४८ अर्ब पैसा जान्छ र ४३ अर्ब रुपैया“ शिक्षक तलबमा खर्च हुन्छ । एउटा माध्यमिक तहको शिक्षकले २७ हजारसम्म तलब खान्छ । खर्च अनुसारको उपलब्धिको साटो वर्षेनि विद्यार्थीको सिकाइ स्तर भने ओरालो लाग्दै गएको छ


‘आइडेन्टिटी क्राइसिस’
शिक्षा मन्त्रालयले गरेको एक अध्ययन अनुसार, कक्षा १० र कक्षा ८ दुवै तहको सिकाइ उपलब्धि अत्यन्त कमजोर छ । शतप्रतिशत शिक्षक तालिमप्राप्त हु“दा पनि उनीहरूले सिकाइमा आफूलाई अब्बल देखाउन सकेका छैनन् । कमजोर सिकाइ र केही दिनअघि आएको एसएलसी नतिजालाई केन्द्रमा राखेर फेरि शिक्षकको आलोचना सुरु भएको हो ।

शिक्षक पेसाप्रति इमानदार नभएको भन्दै पछिल्लो २ महिनामा शिक्षा विभागले तीनवटा निर्देशन बाहिर ल्यायो, राजनीतिमा लाग्न नपाउने, शिक्षण बाहेकको पेसा व्यवसाय गर्न नपाउने र निरन्तर ८५ प्रतिशतभन्दा कम विद्यार्थी फेल भए विषय शिक्ष्ँकको २ ग्रेड घटुवा गर्ने । यसले शिक्षकको व्यावसायिक मर्यादामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी भन्छन्, ‘शिक्षकले आफू शिक्षक भएकोमा गर्व गर्न छाडे । दलको कार्यकर्ता वा अरु नै व्यवसायीको परिचयमा उनीहरूले सम्मान महसुस गर्न थाले । यसले नेपालमा शिक्षकको परिचय जोखिममा छ भन्ने देखाउ“छ ।’

Tuesday, June 11, 2013

शर्मिलाको मृत्यु


यसपटक कहिल्यै नमर्नेगरी मरी
एसएलसी परिणामको आठ घण्टा पछि शर्मिला गिरी ।


गाँस्दा गाँस्दा गाँस्ने ठाउँ बाँकी नरहेको
खिइसकेको हात्ती छाप चप्पलको तुना सम्हाल्दै
भाँच्चिसकेको बाङ्गो बेन्चमा बसेर अस्तिसम्म
‘मान्छे दरिलो मन लिएर बाँच्नु पर्छ’ भन्ने
नैतिक शिक्षाको पाठ घोक्ने विचरी शर्मिला
अब कहिल्यै नमर्ने गरी मरी

Monday, June 3, 2013

शहर यात्रा

गाउँको प्रचीन गन्ध बिर्सेर बाँचिरहेछ शहर

आङमा छन् पुराना सम्झनाजस्तै
मक्किन लागेका मन्दिर, देवल र भवनहरु
लेउ लागेको छानो र स्याल—लाटोकोसेरो कराएको झझल्को
बथानका बथान गाडीहरु चिप्लिरहेछन्
कालो सडकको नाङ्गो छातीमा
र, गोधुलीमा गाईवस्तु हिँडेको धुले पाखोजस्तो
कुइरीमण्डल बनेको छ शहर धुवाधूलोले,

Wednesday, May 8, 2013

उमेरको कांढा

समयको अग्लो ऐनामा हेरेपछि आफूलाई
थाहा पाएँ
म यो धर्तीको तीस वर्ष पुरानो मानिस हुँ

मैले मानेँ—
पृथ्वी गोलो छ
सूर्य ब्रम्हाण्डको सबैभन्दा ठूलो ग्रह हो
यो जमिन अडिएकै ठाउँमा तीन भाग पानी पनि अटाएको छ
र आकाशमा ताराहरु छन् असंख्य
मैले विताएको यो तीस वर्षमा
किन घटेनन् यी सबै मेरो उमेर जसरी
वा किन बढेनन् मेरो उमेर जसरी

एकनास अटल छन् यी सब
ममात्रै छु बदलिएको— वर्षौं पुरानो ।

देशको प्रजातन्त्रजस्तो फुल्दै गएको छ कपाल र दारी
लोकतन्त्रजस्तो चाउरिदै गएको छ छालाको तन्काइ
जनआन्दोलनमा लागेको गोलीको दागजस्तो
गालामा बसेको छ डन्डीफोरको खत

हत्याराहरुको नाममा

गोली लागेर छिनेको मेरो खुट्टो फिर्ता देऊ
छर्रा लागेर चुडिएको मेरो दाहिने हात फिर्ता देऊ

देशमाथि बलत्कार गरेर
आफ्नो मृत्युको दस्तावेजमा हस्ताक्षर गर्दै गरेका
ओ प्रचण्ड  ओ बाबुराम, ओ झलनाथ, ओ शुशील कोइराला ?

फिर्तादेऊ मलाई
कुयौं दिन झण्डा ओढेर सुतेको मेरो फराकिलो छाती

मेरो गल्ती


मेरो गल्ती यत्ति हो
मैले समाचार लेखेँ ती कुनाका मैला मान्छेका पक्षमा
जो समाचारमा कहिल्यै आएका थिएनन्
र, मेरो हातमा किला ठोकियो÷मेरो कलम भाचियो

मेरो गल्ती यत्ति हो
मैले पहिलो पृष्ठमा नग्न स्त्रीको कामुक देह छाप्न इन्कारेँ
र बेरोजगार युवाको नाराजुलुुस छाप्न हौसिएँ
पढ्न नपाएका केटाकेटीको फोटो छापूँ भनेँ
मेरो गल्ती यत्ति हो
स्वेच्छिक बलत्कृत युवतीको
कामुक अन्तरवार्ता उतार्न मन लगाइनँ
र फेरि बलत्कारका लागि शाब्दिक आह्वान गरिदिइनँ
नग्न सुन्दरीको कामुक तस्वीर मुन्तिर
मैले क्याप्सन लेख्न मानिनँ,
बलत्कृत हुँदा कति थियो उसको स्तनको गोलाइ?
कति थियो नितम्बको चौडाइ ?
र कस्तो थियो गुप्ताङ्गको ट्याटुको चत्र?
त्यसपछि कति बढ्यो उसको सौन्दर्यको मूल्य?