अनमोलमणि
हुन्हुनाएर एकनास बग्दैछन्
कालो सडकको नांगो छातीमा मेरा सपनाहरु
यो साँझ म सपनाको ट्रान्जिटमा छु !
कलेटी परेका मेरा कुर्कुच्चा देखेर डराउँछ काठमाडौंको सिरेटो र ठीही
सिगान पुछ्दा पुछ्दा कटकटिएको मेरो पुरानो सर्टको बाहुला देखेर आत्तिन्छ
सरुवा रोगको भाइरस
मजस्तै एक्लो विजुलीको पोल साथी खोजिरहेछ
मजस्तै एक्लो खैरो कुुकुर साथी खोजिरहेछ
बसन्तपुरको डबलीमा
जूनकीरीजस्तो बेला बेला पिलपिल बल्ने
विजुली बत्ती साक्षी रोखर म भन्न चाहन्छु,
‘ओ मान्छेहरु †
मलाई पनि पढ्न मन छ,
मलाई पनि मेरो नाम लेख्ने मन छ
हेर मेरा आखामा पनि छन् तिमीजस्तै ठूलो र असल मान्छे हुने सपना ।’
यो साँझ म सपनाको ट्रान्जिटमा छु !
मलाई हेक्का छैन कुन मोडमा छलिए मेरा बाउआमा
जसलाई खोज्दै आइपुगेँ सहर
नभेटेर कतै सहाराको छहारी
ढेस्सिएर बसन्तपुरको चीसो सिढीमा
तानिरहेछु फिल्टरमात्रै बाकी रहेको जुठो चुरोट
चमक हराएको काष्ठमण्डपको गजुर हेर्दै फालिरहेछु ध्वाँसे आकासतिर चुरोटको ध्वाँसे धुँवा
त्यही धुँवाले छेक्छन् मेरो सारा सपना
हरेक साझ सहरको साघुरो गल्लीबाट हिंड्छन् कवि, पत्रकार
कलाकार र नेता
भट्टीबाट हुलका हुल निस्कन्छन्
अधिकारका दलाल
पटक पटक ठोकिएर उनीहरुसित
टुक्रा टुक्रा भएर छरिएका छन् मेरा सपना अध्यारो भुइँभरि
सम्हाल्न नपाउदै छरिएका सपना
हरेक विहान पुग्नुछ मलाई बेग सुस्ताएको बागमतीको किनार
सुस्केरा हराएको विष्णुमतिको पुछार
मैले ल्याउनु छ एक धोक्रो पुराना प्लास्टिक
किन्नु छ नयाँ सडकमा बासी समोसा
र मलाई बन्नु छ यो सहरमा
सुकिलो, ज्यानदार र धोद्रे स्वर भएको
फिल्मको जुल्फिदार नायक राजेश हमाल !
No comments:
Post a Comment