एक चुस्की ताजा कफीसित मेरो अगाध प्रेम छ ।
त्यो प्रेमको चुस्की मैले कतिपल्ट प्रेमीसित आमनेसामने बसेर लगाएँ, कतिपल्ट साथीभाइको छेउछाउ भएर र धेरैपल्ट चाहिँ एक्लै । दूध र चिनी विनाको कडा कफी भरिएको कपबाट निस्केको वाफको वासनाले म हरेक पल्ट उत्तेजित भएँ, हुन्छु । आनन्दित भएर पग्लिएँ, पग्लिन्छु । सिर्जनशील भएँ, हुन्छु । र एक्लै लट्ठिएँ, लट्ठिन्छु ।
थाहा छैन म कसरी कफीको लती भएँ । सुदूर गाउँबाट काठमाडौं छिर्दा मलाई कफीबारे त्यस्तो कुनै जानकारी थिएन । कक्षा ५को जिल्ला स्तरीय परीक्षापछिको एक मध्यान्ह मलाई कसैले चिया खुवायो । चियासितको पहिलो जम्काभेट सुखद रहेन । मेरा कलिला ओठले चुमेको तातो गिलासको एक घुट्को चियाले जब जिब्रो नराम्ररी दरफर्यायो त्यसपछि चिया मलाई कहिल्यै मन परेन ।
करकापमा कसैको मन राखिदिन एकाध बाहेक त्यसपछि मैले चिया खाइनँ । खान्नँ । मद्यपान र धुम्रपानको अम्मल त मलाई कहिल्यै भएन ।
तर कफी ?
कुन सट्कोमा, कोसित कहाँ बसेर पहिलोपल्ट कफी खाएँ हेक्का छैन ।
कफीभन्दा पहिले म चकलेटको लती थिएँ । भुरुंगखेलनेर एउटा किराना पसल थियो । त्यहा एक सुन्दरी युवती बस्थिन् । अत्यन्त कम बोल्ने तिनै युवतीलाई एक झल्को हेर्न म दैनिक चकलेट किन्न जान्थेँ र कफी चकलेटनै खोज्थेँ । बट्टाका चकलेटहरु फिँजाएर तिनले कफी चकलेट छानेको हेर्न मलाई बडा आनन्द लाग्थ्यो । तिनतका दिनमा म नब्बे̸बयानब्बे वटा चकलेट खान्थेँ । भोलिपल्ट फेरि चकलेट किन्न जान्थेँ । र म कफी चकलेटनै किन्थेँ, उनी त्यसैगरी ह्वार्र चकलेट खन्याएर कफी चकलेट छान्थिन् । म पसल अघि उभिएपछि उनी मुस्काउथिन् र केही नबोली चकलेट छान्न थाल्थिन् । यो क्रम झन्डै २ वर्ष चल्यो । पछि उनी पसलमा बस्न छाडिन्, मैले चकलेट खान छाडेँ र किन्न पनि छाडेँ ।
शयद त्यसपछि नै होला मैले नियमित कफि पिउन थालेको । करिब चौध पन्ध्र वर्ष भयो कि ।
विहानविहान क्याम्पसको क्यान्टिनबाट सुरु भएको कफी लत पछि पाटनको ढोकैमा क्याफे, सानेपाको जी क्याफे, ठमेलको जाभा, जमलको ओला र मन्डला बुक माथिको (नाम भुलेँ), दरबारमार्गको अन्नपूर्ण, दी बेकरी, कफी पसल, काठमाडौं फास्ट फुडसम्म नियमित जोडियो । केही समय साथी मणि लोहनी र म महाराजगन्जको यौटा सानो क्याफेमा नियमित कफी खान गयौँ करिब १ वर्ष । पछि त्यो क्याफे बन्द भयो । अहिले यहाँ टिम हर्टन, रिमेडी र वुडर्याकको कफी स्वाद जिब्रोमा बसेको छ ।
सम्झिँद लाग्छ, सबैभन्दा धेरै कफी चाहिँ मैले ढोकैमा क्याफे, जाभा र ओलामै खाएँ होला ।
ढोकैमा क्याफेमा एकाविहानै छिरेर घन्टौँ कफीमा भुलेर मैले थुप्रै कथा, आलेख र कविता लेखेको छु । कहिलेकाहीँ पत्रिकाको रिपोर्ट र सम्पादकीय पनि । कफीको वासनाले मेरो दिमागलाई उर्जा दिन्छ र म सोचेको कुरा सरर लेख्न सक्छु । र त कफीबारे कसैले भनेको छ, ‘संसारमा कफी, सोफा र किताब बाहेक आरामदायी चिज अरु केही छैन ।’
मेरा लागि कफी पेयमात्रै होइन बरु मनोस्फूर्तिदायक पेय हो । धेरैले भनेको सुन्छु कफी पिए निद्रा लग्दैन, मलाई कहिल्यै त्यस्तो भएको छैन । म खानापछि पनि एक कप कफि पिएरै पढ्न बस्छु, लेख्छु । यद्यपि गत वर्षदेखि चिकित्सकले धेरै कफी नपिउन सल्लाह दिएका छन् स्वास्थ्यका कारण । त्यसपछि घरमा पनि कफीमा कलि कडिकडाउनै छ ।
कफीको कप बिना पढ्न थाले, लेख्न थाले केही छुटेजस्तो अनुभव र्छु । जब त्यसको हरर वासना मेरो मस्तिस्कमा पुग्छ अनि म आफूलाई साँच्चै एकदम चंगा महसुस ।
र त मलाई एक चुस्की ताजा कफीसित अगाध प्रेम छ ।
No comments:
Post a Comment