- कक्षा १ मा भर्ना हुने १ सय विद्यार्थीमध्ये ५ कक्षा पुग्दा ३३ जनाले र कक्षा १० पुग्दा ६५ जनाले विद्यालय छाड्छन्
- एसएलसी जाच दिने ५ लाख मध्ये नियमिततर्फ ५३ प्रतिशत विद्यार्थी फेल हुन्छन्
- प्लस टुमा वर्षेनी ६२ प्रतिशत अर्थात् ५ लाख विद्यार्थी असफल हुन्छन्
- एसएलसी जाच दिनेमध्ये ९० प्रतिशत ट्युसन पढ्छन्
नेपालको विद्यालय शिक्षाको अवस्था झल्काउने माथिका केही तथ्यांक हेर्दा लाग्छ, पढेर पास, कामकाजी र सिर्जनात्मक हुनेभन्दा फेल भएर निराश हुनेको संख्या धेरै छ । शिक्षालयहरु विद्यार्थीलाई नया“ चिज सोच्न र गर्न सक्ने बनाइरहेका छैनन् अक्षरमात्रै चिनाइरहेका छन् । निश्चित तह पुगेका (सफल वा असफल)े जनशक्ति सिर्जनात्मक वा व्यवसायिक काम गरेर आत्म निर्भर हुन सक्ने आ“टिलो छैन । केही वर्ष अघि भएको ‘विद्यालय शिक्षाको समीक्षा’ले विद्यालयको वातावरण, पढाउने शैली र शिक्षकको व्यवहारले प्राथमिक तहका विद्यार्थीले पढाइ छाड्ने गरेको देखाएको छ । केदारभक्त माथेमा नेतृत्वले गरेको एसएलसी अध्यनले विद्यालयमा विषयगत सिकाइको कमीका कारण धेरै विद्यार्थी फेल हुने गरेको देखाएको छ । प्लस टु स्थापनाको बीस वर्षसम्म पनि कम विद्यार्थी पास हुनुको कारण अध्ययन भएको छैन । सन् २०११मा पहिलो पल्ट कक्षा १०को राष्ट्रिय उपलब्धि अध्ययन गर्दा पत्ता लाग्यो, विद्यार्थी कक्षा कोठाको पढाइ भन्दा ट्युसन, कोचिंग र सहयोगी पुस्तकको भरमा पास भइरहेका छन् ।
राजधानीको जनजागृति माविका प्रधानाध्यापक कृष्ण कु“वर भन्छन्, ‘हामीले विद्यार्थीको क्षमता बुझेर सिकाइ सुधार्न सकेनौं । त्यसका लागि विद्यालयको वातावरण पनि बन्न सकेन । व्यवसायिक सीप दिएर आत्म निर्भर बन्ने गरी सिर्जनात्मक क्षमता भर्न सकेनौं । अक्षर चिनायौं, त्यसको भाव र मर्म बुझाएर शिक्षित बनाउन सकेनौं ।’
देशभर ३३ हजार सामुदायिक र ६ हजार निजी विद्यलायमा करिब ७० लाख विद्यार्थी पढ्छन् । २५ हजार प्ररम्भीक बालविकास केन्द्र (इसीडी) सञ्चालनमा छन् जहा विद्यालय जानु पूर्वका केटाकेटी पढ्छन् । पछिल्लो १० वर्षमा सरकारले शिक्षामा लगानी ९ बाट बढाएर १७ प्रतिशत (६४ अर्ब रुपैया) पु¥याएको छ । तर, निरन्तर गर्नु पर्ने लगानी अनुसारको सिकाइ उपलब्धि मापन भने हुन सकेको छैन ।
शिक्षा विभागले कक्षा १०का विद्यार्थीमाथि गरेको अध्ययन अनुसार ६० प्रतिशतको पढाइ अत्यन्त कमजोर छ । बा“की ४० प्रतिशतको सिकाइ पनि परीक्षा उत्तीर्ण गर्ने स्तरको मात्रै छ । गणित, अंग्रेजी र विज्ञानको सिकाइ अत्यन्त कमजोर देखिएको छ । दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा झन्डै शून्य छ । कक्षा १० पुगेका विद्यार्थी अक्षर चिन्न र पढ्न बाहेक कुनै पनि सीपमा दक्ष छैनन् ।
अध्यनले लगानी तथा पाठ्यक्रम अनुसार विद्यार्थीको सीप विकास नभएको, कमजोर सिकाइका कारण पाएको ज्ञान व्यवहारिक भन्दा बढी सैद्धान्तिक भएको औंल्याएको छ । प्रतिवेदनले ९० प्रतिशत विद्यार्थी कक्षाको पढाइमा भन्दा ट्युसन र कोचिंगमा तानिएको देखाउ“छ ।
विद्यार्थी उत्तीर्ण भएर कक्षा चढ्दै गए पनि सिकाइको धरातल अत्यन्त कमजोर रहेको सन् १९९७ देखि २००८ सम्म गरिएको कक्षा ३, ४, ५ र ६को ९ वटा अध्ययनले देखाएको छ । सबैजसो अध्ययनले ५० प्रतिशत विद्यार्थीको प्रस्तुती कमजोर रहेको औंल्याएको छ । जुन कुरा अहिले पनि सुध्रेको छैन । विद्यार्थीको सिकाइ उपलब्धिबारे अध्यन गरेका शिक्षाविद् प्रा तीर्थ खनिया भन्छन्, ‘शिक्षकलाई के पढाउदैछु थाहा छैन, विद्यर्थीले के÷किन पढ्दैछु बुझेको छैन । राज्य आफ्ना नागरिकलाई के पढाउने प्रष्ट छैन । अन्यौलवीचको पढाइले विद्यार्थीको सिकाइ कमजोर भएको हो ।’
रुम टु रिडको ग्लोबल अफिसका प्रमुख कार्यक्रम अधिकृत धिर झिंग्रानले गत वर्ष दक्षिण एसियाका ५ देशमा गरेको अध्यनले पनि नेपालको सिकाइ स्तर अन्य देशको भन्दा पछाडि रहेको देखाएको थियो । राजधानीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘अक्षर चिनाएर शिक्षित हुदैनन् । चिनेको अक्षर सही रुपमा प्रयोग गर्न सक्छन् सक्दैनन् महत्वपूर्ण कुरा हो ।’
लगानी डुबेको डुब्यै
आम जनताले तिरेको करको ७८ प्रतिशत शिक्षामा लगानी हुन्छ । शिक्षा विभागका अनुसार गत वर्षको ६४ अर्ब बजेटमध्ये ८० प्रतिशत विद्यलाय शिक्षाका लागि खर्चिएको छ । त्यसमध्ये ८६ प्रतिशत शिक्षक तलबमा खर्चिइयो । लगानीको अनुपात हेर्दा पछिल्लो १० वर्षमा राज्यले विद्यालय शिक्षाको लागि मात्र ४ खर्ब खर्चेको देखिन्छ । ४ खर्ब रकम उत्पादनमुखी क्षेत्रमा लगानी गर्दाको आम्दानी निकै ठूलो हुन्छ । विडम्वनानै भन्नु पर्छ १० वर्षको लगानी परीक्षण गर्ने एसएलसी परीक्षामा यसपाली ४७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ५३ प्रतिशत सिकाइ नपुगेर परीक्षामा असफल भएका छन् ।
उत्तिर्ण भएका करिव २ लाख मध्ये सामुदायिक विद्यलायका सवा लाख छन् । ४ खर्ब खर्चेर सवालाख विद्यार्थी विद्यालय तह सकेका छन्, बाकी फेल भएका छन् । फेल हुनेसित दश वर्ष विद्यालय तहमा सिकेको कुनै पनि सीपले जीवन निर्वाह गर्ने वुद्धि दिदैन । शिक्षाविद् वाग्ले भन्छन्, ‘कमजोर सिकाइको यो भन्दा हरिविजोक अवस्था अरु हुनै सक्दैन, यसले हाम्रो समग्र सिकाइ पद्घति पूर्णत असफल सावित भएको देखाउछ । राज्य हचुवाको भरमा शिक्षामा लगानी गरिरहेको छ भन्ने देखाउछ ।’
विद्यालय तहमा सिकाइका प्रमुख बाहक शिक्षक हुन् । बजेटको ठूलो हिस्सा राज्यले शिक्षक तलबमा खर्चेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार सामुदायिक विद्यालयमा पढाउने ९८प्रतिशत शिक्षक तालिम प्राप्त छन् । उनीहरुले पाउनृे विद्यार्थी किन यति कमजोर ? शंका शिक्षकतिर सोझिएको छ । शिक्षक तालिमको प्रभावकारिताबारे पछिल्लो पल्ट गरिएको अध्यनले शिक्षकले आफूले तालिममा सिकेको ज्ञान कक्षा कोठामा प्रयोग नगरेको देखाएको छ ।
अध्ययन अनुसार ४९ प्रतिशत विद्यालयमा गणित र विज्ञानका, ४५ प्रतिशत विद्यलायमा नेपाली र सामाजिक शिक्षाका विषयगत शिक्षक छैनन् । हिमाली क्षेत्रका ७८ प्रतिशत विद्यालयमा शिक्षक विद्यार्थी अनुपात सरकराले तोके अनुसार छ तर त्यही क्षेत्रको सिकाइ कमजोर छ । ‘भएका पचास प्रतिशत शिक्षकले पनि तालिमको सीप कक्षामा प्रयोग गरेको देखिदैन’, शिक्षक तालिमको प्रभावकारिता अध्ययन गरेका शिक्षाविद् विष्णु कार्की भन्छन्, ‘कक्षा कोठाको सिकाइ शैली नबदली गरिने लगानीबाट उपलब्धि हासिल हुनै सक्दैन ।’
शिक्षक संघ संगठनका नेताहरु भने त्यसको दोष विद्यालयको भौतिक संरचना र हाम्रो सामाजिक आर्थिक संरचनालाई दिएर उम्किन खोज्छन् । केही हप्ता अघि ढाकामा भएको दक्षिण एसियाका शिक्षकहरुको महाधिवेशनले शिक्षकको सिकाइ कमजोर भएकाले पेशाप्रति प्रतिवद्ध रहन घोषणापत्रनै जारी गरेको छ । सार्क शिक्षक संघका अध्यक्ष मोहन ज्ञवाली भन्छन्, ‘केही कमी शिक्षकमा पनि होला तर सबै दोष शिक्षकलाई पन्छाएर राज्य उम्किन पाउन्न ।’
एक तीहाइको अक्कल
पाठ्यक्रम अनुसार विद्यालय तहमा सिकाइका आधाभूत तीन कुरा छन् पहिलो ज्ञानस“ग सम्बन्धित, दोस्रो धारणासित सम्बन्धित र तेस्रो सीपसित सम्बन्धित । विद्यार्थीले सिकाइमा तीन वटै कुरा बराबर जान्नु पर्छ । विद्यालय तहको पाठ्यक्रममा तीनै पक्षलाई समेट्न खोजिएको छ । पाठ्यक्रमको सहयोग सामग्री पाठ्यपुस्तकमा भने त्यो समेटिन सकेको छैन ।
तीन वटै कुराको कुल योग १ सय मान्ने हो भने पछिल्ले दुई वटा आधार छाडेर पहिलो नम्बरको आधरमामात्रै अर्थात् एक तिहाइ ज्ञानमा विद्यार्थीको सिकाइ परीक्षण भइरहेको छ । एक तिहाइ पढिरहेकाहरु त्यसको एक तिहाइ अर्थात् ३२ अंक ल्याए पास हुने भएकाले विद्यार्थी मूल्यांकनको ९ खण्डमध्ये एक खण्डमात्रै परीक्षण भइरहेको छ । विद्यार्थीको आन्तरिक क्षमता, प्रस्तुती, व्यवहार र तर्कको परीक्षण अहिलेको पाठ्यपुस्तक र परीक्षाले गर्न सकेको छैन ।
‘यो गलत प्रकृया हो । परीक्षा पद्धतिले पाठ्यक्रमलाई भन्दा पाठ्यपुस्तकलाई महत्व दिएको छ । विद्यालयमा शिक्षकहरुलाई पाठ्यक्रमका वारेमा भन्दा पाठ्यपुस्तकमै वढी चासो छ’, शिक्षाविद् वाग्ले भन्छन् । जनजागृति माविका प्रअ कुवर पाठ्यक्रमको उद्देश्य अनुसारनै कक्षाको सिकाइ अघि बढ्ने बताउछन् । उनको धारणा छ, ‘केन्द्रले जो पढाउ भन्छ त्यही पढाउने हो । शिक्षक दक्ष छन् छैनन् त्यो अर्कै पाटो हो । शिक्षकले जे पढाउछन् विद्यार्थीले त्यही सिक्छन् ।’
शिक्षाविद् जोन डेभीले विद्यार्थीको सिकाइ स्थानीय तहको र त्यसको एजेन्डा राष्ट्रिय तहको हुनुपर्ने बताएका छन् । नेपालमा स्थानीय तहको पाठ्यक्रम केही जिल्लामा बाहेक लागू हुन सकेको छैन । डोल्पामा यार्सागुम्बाको स्थानीय पाठ्यक्रम निर्माण र लागू गरेको चितवनका शिक्षा अधिकारी रमाकान्त शर्मा स्थानीय सीप विद्यार्थी, अभिभावकलाई नदिएसम्म परम्परागत सिकाइ पद्दतीले विद्यार्थी दक्ष नहुने धारणा राख्छन् । भन्छन्, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने हो भने उनीहरुको दैनिक जीवनलाई जोडेर पाठ्यक्रम र सिकाइ प्रकृया थाल्नु पर्छ ।’
त्यसबाहेक विद्यार्थीले बेलामा पाठ्यपुस्तक नपाउने समस्याले पनि सिकाइमा प्रभाव पारेको छ । ‘विद्यालय शिक्षाको समीक्षा’ प्रतिवेदन अनुसार ० दशमलव ३ प्रतिशत विद्यार्थीले मात्रै बेलामा पाठ्यपुस्तक पाउछन् । ४४ प्रतिशतले १ महिनापछि र नेपालका ६८ प्रतिशतले दुई महिनापछि पाठ्यपुस्तक पाउ“छन् । पाठ्यक्रमका आधारमा कक्षा चलाउन सक्ने शिक्षक अत्यान्त कम छन् । विद्यार्थीको मूल्यांकन पक्ष के के हुन् बुझ्ने शिक्षक नै छैनन् । उनीहरु विद्यार्थीको क्षमता होइन घोकाएर स्मरण शक्ति परीक्षण गर्छन् । देशको परीक्षा प्रणाली पनि घोकन्ते शिक्षालाई प्रश्रय दिने खालको छ ।
सिकाइ उपलब्धि पाठ्यक्रममै तोकिएको हुन्छ । एउटा अनौपचारिक अध्ययन अनुसार ९० प्रतिशत शिक्षकलाई पाठ्यक्रमबारे थाहा छैन । प्राथमिक तहका अधिकांश शिक्षक त पाठ्यक्रम र पाठ्यपुस्तकवीचको भिन्नता थाहा पाउदैनन् । पाठ्यक्रमको सीप बाड्न सहयोगी सामग्रीका रुपमा तयार पाठ्यपुस्तकमार्फत हुने सिकाइ मापनको आधार तयार गरिएको छैन । पाठ्यपुस्तकका आधारमा प्रश्न सोध्ने परिपाटीले सिकाइ अपूरो भएको छ ।
राष्ट्रले तयार गरेको पाठ्यक्रमको उद्देश्य आफैमा गोलमोटल छ । आधारभूत तहले मध्यम स्तरको जनशक्ति र विद्यार्थीलाई सिर्जनशील बनाउने उद्देश्य राखे पनि त्यसको मापन गर्न कुनै ‘कम्पोनेन्ट’ अहिलेुसम्म बनाएको छैन । ‘हामी ज्ञान (स्मरण) परीक्षण गरेर सिकाइको मापन गरिरहेका छौं, विद्यार्थी घोक्नमा व्यस्त छन् । शिक्षक रटाउनमै लागेका छन्’, शिक्षाविद खनिया भन्छन्, ‘निरन्तर मूल्यांकन प्रणाली छैन । वर्षमा एक पल्ट हुने परीक्षाले उनीहरुको सीप कति हो परीक्षण हुन सक्दैन ।’
कमजोर पूर्वाधार
सहर र गाउको विद्यालय, विद्यार्थी र अभिभावकवीच फरक छ । सामुदायिक विद्यालय सबैभन्दा बढी गाउ“मा छन् । फुलब्राइट एसोसिएसन अफ नेपालले गरेको एउटा अध्यनले उपत्यकाका ८० प्रतिशत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार शिक्षण योग्य नभएको देखाएको छ । देशका अन्य भागका विद्यलायको अवस्था पनि त्यो भन्दा फरक छैन । विद्यालय शिक्षाको समीक्षा अनुसार ८३ प्रतिशत विद्यालय कमजोर अवस्थामा चलेका छन् । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार जतिनै कमजोर भए पनि देशका ८४ प्रतिशत नागरिकका छोराछोरीको रोजाइ अहिले पनि सामुदायिक विद्यालयनै हो । तिनै विद्यालयको सिकाइ कमजोर हुदा त्यसप्रतिको आलोचना बढेको छ र आकर्षण घट्दै छ ।
आफ्नै वरिपरिका शैक्षिक सामग्री पनि प्रयोग नगर्ने अल्छे शिक्षक भौतिक पूर्वाधारलाई कारण देखाएर पाठ्यपुस्तकभन्दा पर जादैनन् । उनीहरुले लिएको तालिमको सीप त्यसकारण पनि कक्षा कोठामा प्रयोग हुन सकेको छैन । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारी विद्यार्थीको पारिवारिक, आर्थिक कारणले पनि सिकाइ प्रभावित हुने बताउछन् । ‘कक्षा कोठा तालिमको सीप प्रयोग गर्न सकिने खालका छैनन्’, उनले भने, ‘सिकाइ कमजोर हुनुको दोषी शिक्षकमात्रै होइन ।’
परीक्षा प्रणालीले पनि शिक्षकको बानी विगारिदिएको छ । शिक्षाविद् खनिया भन्छन्, ‘प्रश्नले घोकेको उत्तर माग्छ । शिक्षकहरु सन्चो मान्दै त्यही निर्देशन पालना गर्छन् ।’ उनीहरुलाई कस्ने निकाय जिल्ला शिक्षा कार्यालय, स्रोत व्यक्ति, विद्यालय निरीक्षक त्यसका चासो दिदैनन् । ४५ मिनेटको कक्षामा विद्यार्थीसित एकोहोरो (लेक्चर मेथड) संवादमा शिक्षकको समय बित्छ । शिक्षकहरु समयानुसार अध्ययनशील छैनन् । जसले गर्दा उनीहरु विद्यार्थीलाई नया ज्ञान दिन सकिरहेका छैनन् । पारिवारिक, सामाजिक, आर्थिक, जातीय, भौगोलिक हिसाबले फरक क्षमताका विदार्थीलाई सिकाउनु पर्ने फरक तरिका शिक्षकले अपनाएको छैनन् ।
यसले गर्दा समान तहका विद्यार्थीको स्तर असमान देखिएको हो । राज्यले विषय र कक्षाको न्युनतम राष्ट्रिय स्तर अहिलेसम्म मापन गर्न सकेको छैन । यति तह पास गर्दा यति जान्ने पर्ने भन्ने कुनै आधार अहिलेसम तय भएको छैन । शिक्षाविद् वाग्लेले सामुदायिक विद्यालय सुधार अवधारणबारे शुक्रबार पोखरामा भने, ‘देशको जुनसुकै कुनामा पढे पनि समान तहको न्यूनतम क्षमता हरेक विद्यार्थीमा समान हुनु पर्छ । यसबारे राज्यले अहिलेसम्म सोचेको छैन ।’
वाग्लेका शब्दमा न्युनतम आधार तय नगरेकैले निजी र सामुदायिक विद्यालयवीच विभेद सुरु भएको हो । कक्षा ८ को विज्ञान विषय उत्तीर्ण विद्यार्थीमा हुनै पर्ने सीप के हो ?त्यो सीपका मापन कसरी गर्ने ? त्यो सीप विकास नभएका विद्यार्थीलाई उत्तीर्ण गर्ने कि नगर्ने अहिलेको परीक्षा प्रणालीमा छैन । अंग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक जस्ता मुख्य विषयहरुमा राष्ट्रले एउटा साझा वा न्यूनतम स्तर कक्षागत र तहगत रुपमा निर्धारण नगरुन्जेल असमान सिकाइ निरन्तर रहन्छ । न्यूनतम स्तर निर्धारण भैसकेपछि मात्र कक्षागत र तहगत उद्देश्य पूरा गर्न पाठ्यक्रम बनाउनु पर्छ । शिक्षाविद् वाग्ले भन्छन्, ‘विद्यार्थीको उमेर र अन्तर्राष्ट्रिय जगतको माग अध्ययन नगरी न्यूनतम स्तर निर्धारण गर्न सकिन्न ।’
विकसित देशहरुले हरेक तहको न्युनतम राष्ट्रिय स्तर निर्धारण गरेका हुन्छन् । स्तर पूरा गर्न नसक्नेका लागि वैकल्पिक कार्यक्रम व्यवस्था गरिएको हुन्छ । नेपालमा त्यस्तो कुनै व्यवस्था छैन ।
अनौपचारिक पनि उस्तै
विद्यालयको औपचारिक शिक्षामा अवसर नपाएका १५ देखि ६० वर्ष उमेर समूहका प्रौढ महिला तथा पुरुषका लागि साक्षरता अभियान थालेको छ । पाच वर्ष अघि यो उमेर समूहका निरक्षरको संख्या ७८ लाख रहेको अनुमान गरिएको थियो । २०६५ देखि सुरु भएको साक्षरता अभियानले त्यसलाई घटाएर ५१ लाखमा झारेको दावी गरिएको छ । अनौपचारिक शिक्षा केन्द्रको दावी अनुसार २०६५/०६६मा १८ लाख, ०६६/०६७मा १० लाख, ०६७/०६८मा करिब ३ लाख ५ हजार, २०६८/०६९मा १ लाख ४४ हजारलाई साक्षर गराएको छ । यो अवधीका लागि करिब सवा ४ अर्ब रुपैया खर्चिइएको छ ।
साक्षरता अभियान पूरा गर्न देशभर ३६ हजार कक्षा सञ्चालन भएका छन् । पछिल्लो ५ वर्षमा २८ लाखलाई साक्षर गराएको दावी हेर्ने हो भने वर्षेनी झण्डै साढे ५ लाख नागरिक साक्षर भएको मान्न सकिन्छ । तथ्यांकमा साक्षर बढे पनि अध्ययनहरुले एउटे व्यक्ति पटक पटकको कक्षामा दोहोरिने गरेको देखाउछ । ‘अनौपचारिक शिक्षा व्यवहारिक हुन सकेन’, शिक्षाविद् कार्की भन्छन्, ‘अक्षर चिनेर भएन, व्यवहारमा त्यसलाई प्रयोग गर्न नसक्दा त्यो शिक्षा हुदैन ।’
शिक्षाविद् तीर्थ खनिया प्रणालीमै सुधार नगरी औपचारिक वा अनौपचारिक शिक्षाको सिकाइ स्तर नबढ्ने दाबी गर्छन् । सिकाइको कक्षागत हिसाबले राष्ट्रिय स्तर निर्धारण गर्ने, परीक्षा प्रणाली सुधार्ने काम तत्काल थाल्नु पर्छ । पछिल्लो दुई दशकदेखि नया शिक्षक नियुक्ति हुन सकेको छैन । निश्चित अवधी पुगेका शिक्षकलाई अवकास दिएर सक्षम र युवा जनशक्ति शिक्षणमा भित्रयाउनु पर्ने वाग्लेको तर्क छ । अहिले साढे ७ लाख व्यक्ति शिक्षक परीक्षामा सहभागी हुन लाइसेन्स लिएर बसेका छन् । उनीहरुले अवसर पाएका छैनन् । खनिया भन्छन्, ‘सोध शिक्षण समग्रीको प्रयोग गरेर सिकाइलाई जीवन शैलीमा जोड्न सके हाम्रो सिकाइ स्तर सुध्रिन्छ ।’
1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment