Monday, February 20, 2012

अक्षर चिने बेच्न जानेनन्


मकवानपुरकी चमेली वाइवालाई आफ्नो नाम ‘चमिली’ होइन ‘चमेली’ हो भन्ने ज्ञान भएको दिन संसार उज्यालो लाग्यो । सावा अक्षर चिनेपछि पाएको ज्ञानबारे एउटा टिभी कार्यक्रममा उनले भनिन्, ‘अक्षर चिन्दा संसार उज्यालो देखिने रहेछ, नचिन्दा अध्यारो ।’ उज्यालो संसार देखाउन उनले आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाएकी छिन् ।

चमेली वाइवालाईमात्रै होइन, देशका आम नागरिकमा शिक्षाप्रतिको यस्तो चेतना आएको ठ्याक्कै बीस वर्ष भएको छ ।

बीस वर्षअघि पढ्नुपर्छ भन्ने चेतना यस्तरी बढेको थिएन । छोराछोरीले नपढे पनि ‘गरिखान्छन्’ भन्ने मान्यता राख्नेहरु थिए । पढाउनेलाई सरकारी स्कुलमात्रै विकल्प थियो । क्याम्पस पढ्न त्रिभुवन वा महेन्द्र संस्कृत (अहिलेको नेपाल संस्कृत) विश्वविद्यालय । डाक्टर इन्जिनियर बन्ने धेरैको सपना कल्पनामै सिमित थियो ।

बेला बदलिएको छ । पढाउनु पर्छ भन्ने चेतना बढेकैले सामुदायिक र निजी गरी स्कुल संखया ४१ हजार पुगको छ । ३३ हजार सामुदायिकमध्ये ३१ हजार प्राथमिक विद्यालय छन् ।  दुई दशकअघि ३० प्रतिशत विद्यार्थीमात्रै स्कुल जाने गरेकोमा बढेर ९६ प्रतिशत पुगेको छ । त्यसमा पनि बालिका, दलित, जनजाति र निम्न आयस्रोत भएका परिवार दुखजिलो गरेरै भए पनि छोराछोरी नपढाए पछि परिन्छ भन्नेमा  निकै सचेत छन् ।

स्वास्थ्य पर्यटनको सम्भावना




  • अनमोलमणि पौडेल


बीस वर्ष अघिसम्म एमबीबीएस पढ्न त्रिभुवन विश्वविद्यलायको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मात्रै विकल्प थियो । ४० जना विद्यार्थी क्षमताको संस्थानमा अवसर नपाएर झिटी गुन्टा  बोकेर विदेशिनु पथ्र्यो । पछिल्लो बीस वर्षमा अवस्था फेरिएको छ । एमबीबीएस पढ्न विदेशिनु वा आइओएमनै कुरिरहनु पर्दैन । घरकै मानो खाएर स्वदेशमै खुलेका मेडिकल कलेजबाट डाक्टर बन्न सकिन्छ ।

देशभर खुलेका डेन्टलसहित २० वटा मेडिकल कलेजले अहिले ४० देखि १ सय ५० जनासम्म विद्यार्थी भर्ना लिन्छन् । पाच डेन्टल कलेजमा करिब २ सय ५० र १७ वटा निजी कलेजमा १ हजार ५ सय ५० विद्यार्थी वर्षेनी चिकित्साशास्त्रमा भर्ना हुन्छन् । पढाइ सकेका करिब ७ सयले वर्षेनी चिकित्सकको लाइसेन्सका लागि नेपाल मेडिकल काउन्सिलमा आवेदन दिने गरेका छन् । करिब ३ करोड जनसंख्या भएको देशमा वर्षेनी झण्डै १ हजारका दरले चिकित्सक उत्पादन भइरहेका छन् । र पनि स्वदेशमा चिकित्सक अभाव छ । करिब ७ सय चिकित्सकमात्रै सरकारी अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउछ ।

निजी मेडिकल कलेजमा वर्षेनी झन्डै ४१ करोड रुपैया बराबरको प्रत्यक्ष कारोबार हुने गरेको ‘नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन’को तथ्याङ्कमा छ । कलेजको भौतिक पूर्वाधारमा हुने लगानी र विद्यार्थीको व्यक्तिगत खर्चको हिसाब कसैले निकालेको छैन । मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल सामाजिक प्रतिष्ठा र दिगो सीपका कारण चिकित्सा पेशामा आकर्षण बढेको बताउछन् ।

नेपालमा पढ्ने अवसर नपाउनेहरु प्रतिविद्यार्थी ३५ देखि ४० लाख रुपैया खर्चेर बंगलादेश, चीन र पाकिस्तान जानेक्रम पनि बढेको छ । बंगलादेशमा वर्षेनी ४ सय र चीनमा २ देखि ३ सय विद्यार्थी निजी खर्चमा पढ्न जाने गरेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाउछ ।

निजी क्षेत्रबाट खुलेका सबैजसो मेडिकल कलेज सहरी र सदरमुकाम केन्द्रीत छन् । मध्यमाञ्चलमा मात्रै ९, पूर्वाञ्चलमा ३, पश्चिमाञ्चलमा ४ वटा निजी मेडिकल कलेज छन् । शिक्षा मन्त्रालयल उच्च शिक्षा शाखाका अनुसार थप ९ वटा मेडिकल कलेज स्वीकृतको तयारीमा छन् । ती पनि सहर केन्द्रीत नै छन् ।

मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका महासचिव डा. बुद्धि श्रेष्ठ निजी क्षेत्रबाट मेडिकल कलेज खुलेकाले करोडौं रुपैया विदेशिन जोगिएको दाबी गर्छन् । स्वास्थ्य क्षेत्रमा दुई दशकमा भएको यो उच्च फड्को हो । विदेशी विद्यार्थीका लागि नेपालको मेडिकल शिक्षा आकर्षणको केन्द्र बनाउन सके प्राकृतिक वातावरणका हिसाबले पनि ‘राम्रो शैक्षिक हब’ हुने विश्लेषकहरुको भनाइ छ । नेपालमा माल्दिभ्स र भारतका केही विद्यार्थी चिकित्साशास्त्र पढ्न आउने गरेका छन् । काउन्सिलले गुणस्तर राम्रो भने पनि मेडिकल कलेजले आफूलाई अन्तराष्ट्रियकरण गर्न सकेका छैनन् ।

२०४९ सालपछि स्वास्थ्यमा निजी क्षेत्रको प्रवेश बढी खुला भयो । विस्तारै निजी अस्पताल र नर्सिङ होम बढ्न थाले । ८ वटा केन्द्रीय, १२ वटा अञ्चल र ६८ वटा जिल्ला अस्पताल रहेको मुलुकमा करिब ४ सय निजी अस्पताल थपिए । स्वास्थ्य केन्द्रहरु झण्डै गाविस तहमै विस्तार गरियो । २०६७को आर्थिक सर्वेक्षण तथा २०६३को तीन वर्षे अन्तरिम योजनाले ‘स्वास्थ्यमा आम नागरिकको पहुच र चेतना बढेको तथा निजीको सहभागिता उल्लेख्य भएको’ जनाएको छ । निजी अस्पताल एशोसिएशन (अफिन)ले निजीका कारण स्वास्थ्यको पहुच बढेको दावी गर्दै आएको छ । निजीले लिने शुल्क पछिल्लो दशकदेखि आलोचनाको केन्द्रमा छ । भनिन्छ, ‘निजीमा उपचार गराएर निको भएको विरामी उपचार खर्च सुन्यो भने पुन बेहोस हुन्छ ।’

‘राज्यले निजी अस्पताल सञ्चालनको मापदण्ड बनाउन नसक्दा यस्तो समस्या आएको हो’, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी भन्छन्, ‘यसले निजीको व्यापारिकरण भयो । नियमन निकाय केही भएन ।’ कारण सरकारले स्वास्थ्यमा गरेको लगानी र सेवा प्रभावकारी बनाउन नसक्नु नै हो । सरकारले कुल बजेटको करिब ७ प्रतिशत (२७ अर्ब) रुपैया स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा छुट्याएको छ । अफिनको अनौपचारिक तथ्यांक अनुसार स्वास्थ्यमा निजी क्षेत्रको लगानी मात्रै करिब २५ अर्ब रुपैया छ । नर्भिक इण्टरनेशनल हस्पिटलका अध्यक्ष वसन्त चौधरी केही समयअघिको एउटा कार्यक्रममा भनेका थिए, ‘सुविधा सम्पन्न अस्पताल निर्माणका लागि कम्तीमा ५० करोड रुपैयँ लगानी गर्नु पर्छ ।’
छिटो सेवा पाइने भएकाले एउटा अस्पतालमा दैनिक न्यूनतम २ सय ५० जना बिरामी उपचारका लागि पुग्छन् । नेपालकै जेठो वीर अस्पतालबाट अहिले वार्षिक करीब २ लाख ८० हजार जनाले बहिरङ्ग (ओपीडी) सेवा लिन्छन् । महंगो मानिएको राजधानीको निजी अस्पताल नर्भिकमा सेवा लिनेको संख्या पनि झण्डै उस्तै छ । बीरमा ओपिडि टिकटका लागि १० रूपैयाँ तिरे पुग्छ । अधिकांश निजी अस्पतालमा भने त्यही टिकटको न्यूनतम ३ सय ५० रुपैयाँ तिर्नपर्छ । यसले आम नागरिक स्वास्थ्य प्रति सचेत छन् र महंगिदै गए पनि बाध्य भएर निजी प्रति तानिएका छन् भनने बुझिन्छ ।

काठमाडौंमा भएका अधिकांश निजी अस्पतालमा सरकारीमा काम गरिरहेका, अवकास प्राप्त अनुभवी चिकित्सकले चलाएका छन् । मुटु, नसा, हड्डी, क्यान्सर, दात, विभिन्न सर्जरी, आकस्मिक सेवा, फार्मसी, ल्याब, रेडियोलोजी, एम्बुलेन्सलगायतका सेवा निजीमा अत्यन्त महंगो छ । भेण्टिलेटरसहितको आईसीयू, अत्याधुनिक मेशिनसहितको अपरेशन थिएटर, एमआरआई, सीटी स्क्यान, डिजिटल एक्स(रे ,ईसीजी, लगायत सेवा निजीकै प्रभावकारी छ । सेवाग्राही नचाहेर पनि त्यही धाउनु पर्छ । सुविधासम्पन्न ठूला अस्पतालमा मृगौला प्रर्यारोपण, विनाशल्यक्रिया पत्थरीको उपचार, मुटुको जटिल शल्यक्रियादेखि क्यान्सरको उपचारसमेत स्वदेशमै थालिएको छ । डा केसी यसमा निरास हुनु भन्दा पनि व्यवस्थित बनाउन तिर राज्य लाग्नु पर्ने बताउछन् । भन्छन्, ‘विदेश कुद्नु भन्दा कम्तीमा यी सब कुरा स्वदेशमै उपलब्ध त छन्् ।’

चर्को शुल्ककै कारण निजी प्रतिको वितृष्ढण उच्च छ । असन्तुष्ट सेवाग्राहीले पछिल्लो समय निजी अस्पताल र चिकित्सकमाथि गर्ने आक्रमण त्यसको प्रमाण हो । निजी अस्पतालमा उपलब्धमध्ये १० प्रतिशत शैया असहाय बिरामीका लागि छुट्याउनु पर्ने सरकारी नीति छ, तिनले त्यसको पालना गरेका छैनन् । समुदायबाट सिफारिश गरिएका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पतालअनुसार ५ देखि २० प्रतिशतसम्म छूट उपलब्ध गराउनु पर्छ, त्यो पनि निजीले गरेका छैनन् । सामाजिक सेवाका लागि १ करोड रुपैयाँको कोष स्थापना गर्नु पर्छ । अधिकांशले त्यो पनि गरेका छैनन् । चेतना बढे पनि महंगिदै गएको शुल्कले आम नागरिक स्वास्थ्य सेवा उपभोगबाट टाढिने खतरा पनि बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले तयार गरेको एउटा प्रतिवेदनमा लेखिएको छ, ‘स्वास्थ्य केन्द्रहरुमा दक्ष जनशक्तिको कमी तथा परिचालनमा समस्या, आर्थिक तथा सामान्य प्रशासनमा अवाञ्छनीय केन्द्रीकरण, आवश्यक औषधी औजारको कमी तथा अव्यवस्थित आपूर्ति, व्यवस्थापनमा राजनैतिक हस्तक्षेप, कमजोर सुपरीवेक्षण, भौतिक संरचनाको अभाव तथा मर्मत सम्भारको कमी, स्वास्थ्य संस्थाहरुको कमजोर भौतिक अवस्था, स्वास्थ्यकर्मी, औषधी र उपकरणको कमीको जनतालाई आवश्यक एवं गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा पु¥याउन सकिएको छैन ।’

स्वास्थ्य क्षेत्रबाट आर्थिक संवृद्धि र चिकित्सक पलायनको समस्या टार्ने हो भने ‘स्वास्थ्य पर्यटन’लाई राज्यले प्राथमिकता दिनु पर्ने बताउछन् चिकित्सक के सी । यसले देशबाट पलाय हुदै गएका ३७ प्रतिशत चिकित्सक र आर्थिक संवृद्धिमा पनि योगदान पुग्ने विश्लेषकहरुको अनुमान छ । ‘त्यसका लागि आम्दानी, सेवा शुल्क अन्त शुल्क लगायतको कर केही समयका लागि छुट दिनु पर्छ’, केसीले भने, ‘स्वास्थ्य पर्यटनका माध्यमबाट विदेशीलाई समेत नेपालमा आकर्षित गर्न सकिन्छ ।’

एसियामा भारत, थाइल्याण्ड तथा चीनका केही सहरले स्वास्थ्य पर्यटनलाई अर्थोपार्जनको स्रोत बनाएका छन् । प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, सस्तो र गुणस्तरीय उपचार सेवाका कारण स्वास्थ्य पर्यटन फस्टाउने निजी अस्पताल सञ्चालकहरु बताउछन् । त्यसका लागि प्राकृतिक एक्सरसाइज, योग, रेकी, ध्यान, फिजियो थेरापी, स्पा र आयुर्वेदिक थेरापीलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ । त्यसबाहेक विदेशमा महंगो पर्ने दातको उपचार नेपालमा सस्तो र गुणस्तरीय छ । ‘मेडिकल टुरिज्म एसोसिएसन’ (एमटिए)को अनलाइनले जनाए अनुसार ‘स्वास्थ्य सचेतना सहितको पर्यटनले देशको आर्थिकवृद्धिमात्रै होइन संस्कार र संस्कृति सिक्न पनि मद्दत गर्छ ।’

नेपालका करुण हेल्थ केयर, स्पा, ध्यान तथा रेकीका केही संस्थाले स्वास्थ्य पर्यटनका लागि पहल गरे पनि राज्यले कुनै चासो दिएको छैन । चिकित्सक केसी भन्छन्, ‘त्यसका लागि कि राज्यले नीति बनाएर सघाउनु पर्छ होयन भने निजी वा व्यक्तिगत रुपमा सुरु गरेको पहललाई सघाउनु पर्छ ।’


Sunday, January 29, 2012

नबिर्सिने ती दिनहरु


  • अनमोलमणि पौडेल


२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलि“दै गएको आकाशे रंगको सर्ट, गाढा नीलो रंगको हाप पाइन्ट र गा“स्दा गा“स्दा गा“स्ने ठाउ“ सकि“दै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत ।
मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको मेहन्द्र प्रस्तावित माध्यमिक विद्यलाय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिए“ । मैजस्ता केटाकेटीको हुल कल्याङ मल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वा“ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।
‘पढाइ त कमजोर रहेछ’, मेरो जम्लेहात नमस्कारको त्यतिविग्नै वास्ता नगरेर ढाकाटोपी र चस्मा लगाएका सर बोले, ‘ल यहा“का विद्यार्थीले ल्याएको नम्बर हेर । यहा त एक से एक छन् । यहा पढ्ने भए तिमीले धेरै मेहनत गर्नु पर्छ । कम्पिटिशन गर्न सक्छौ ?’ उनले आफ्नो स्कुलबाट कक्षा ५ पास भएका विद्यार्थीको नाम अंकित दुई पाने चिरकट्टे म तिर सारिदिए । मैले अमिलो अनुहार पारेर हेरे“मात्रै । सबै पढ्ने मेरो ह्याउ थिएन ।
उनी थिए माध्यमिक तहका लागि प्रस्तावित महेन्द्र प्राथमिक विद्यलायका प्रधानाध्यापक जनार्दन खनाल सर । ‘तिम्रो त अंग्रेजी पनि राम्रो छैन, गणित पनि राम्रो छैन, डिभिजन पनि राम्रो छैन । यहा“ सबैको फस्ट डिभिजन छ’, जनार्दन सरले यसो भनेको मलाई हिजैजस्तो लाग्छ । उनले सोधेका थिए, ‘अंग्रेजीमा आफ्नो नाम लेख्न आउछ ?’ यो प्रश्नको उत्तर दिन नसकेर मैले कोठाको सिलिङमा आखा डुलाएको थिए“ ।
अंग्रेजीको ‘अ’ पनि नआउने मेरो डरको पारो बढेर त्यसपछि उच्च भएको थियो । मलाई  त अंग्रेजीमा नाम लेख्न आउ“दैन थियो । म नबोली बसेपछि शायद जनार्दन सरले मेरो कमजोरी बुझे र लेख्न लगाएनन् । त्यतिमात्रै होइन मलाई डिभिजन भनेको के हो थाहा थिएन, समुतीर्ण र विषय लागेर उत्तीर्ण भएको भनेको के हो थाहा थिएन । अंग्रेजी र गणित जान्नु त कता हो कता ? अहिले सम्झिन्छु, मलाई कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा कसरी पास गराइदिएछन् कुन्नि ? (पास गराउने मनकारीलाई धन्यवाद ।)
करिब १५ मिनेट मेरो मार्कसिट र अनुहार बराबर हेरेर जनार्दन सरले महेन्द्र माविको ढड्डामा मेरो नाम चढाए । स्कुलको कुनै कुनामा धूलो मैलो भएर त्यो ढड्डा कतै लडिरहेको होला । भर्ना वापत २० या २५ रुपैया पैसा लिए । मामाले त्यो पैसा भुक्तानी गरे । किन्नु पर्ने किताबको लिस्ट दिए । पुस २ गतेदेखि स्कुल आउनु भने । त्यतिबेला नया शैक्षिकसत्र पुसदेखि सुरु हुन्थ्यो ।
यसरी एउटा कमजोर विद्यार्थी माध्यमिक तहको पहिलो ब्याचका रुपमा ‘महेद्र प्रस्तावित मावि’मा कक्षा ६ को विद्यार्थी भयो । मेरो रोल नम्बर धेरै पछि थियो ३७ वा ४३ अहिले भुले“ । भर्ना भएपछि मनमा खुसी र त्रास एक साथ मडारिएर आयो । एक मनले भन्यो, ‘केटा अब ६ कक्षा पुगिस् ।’ अर्को मनले सोच्यो, ‘यहा एक से एक जान्नेहरु पढ्दा रैछन्, त लद्दु सकिने भइस् अब ।’

Saturday, December 24, 2011

‘ट्रस्ट मि, आइ एम अ रिपोर्टर ’



स्वचालित विद्युतीय ढोका खुल्यो ।
‘वेल कम टु द न्युजियम’, नीलो कोट र नीलै स्कर्टमा सजिएर ढोकै छेउ उभिएकी कालि केटीले सुरक्षा जाचपछि भनी, ‘तपाइ“, फोटो खिच्न सक्नुहुन्छ । थोरै मुस्काउनुस् । यस्तो अवसर वारम्बार कहा मिल्छ ? यस्तो मुस्कान सधै तपाइको ओठमा कहा आइराख्छ ?’
हल्का हरियो पर्दाको ब्याक ग्राउन्ड पारेर निकोनको पुरानो क्यामेरा मेरो अनुहारतिर सोझियो । दुई पल्ट क्लिक क्लिकको आवाज आयो । त्यसपछि आफ्ना खिरिला औलाले पा“च तले भवनको भुई लताबाट माथितिर देखाएर उसले आफ्ना भासिएका आखा नचाउदै भनी, ‘अब तपाई आफ्नो रुची अनुसार घुम्न सक्नु हुन्छ । बाटो त्यताबाट छ । समय खेर नफाल्नुस् ।’
उसले इशारा गरेको देब्रेतिरको भ¥याङ उक्लिदै गर्दा मैले देखे, समाचारका शीर्षकले पोतिएको सिंगमरमरको चिल्लो भित्तो । त्यही छेउमा लेखिएको अमेरिकी पूर्व राष्ट्रपति रिचर्ड एम निक्सनको भनाइ, ‘द अमेरिकन पिपल डन्ट विलिभ एनिथिङ अन्टिल दे सि इट अन टेलिभिजन ।’



२६ अक्टुबर २०११ । वासिङटन डि सी ।
मध्य तथा दक्षिण एसियाका १३ पत्रकार अमेरिकाका दुई शक्तिशाली भवन ह्वाइट हाउस युएस क्यापिटल वीचमा ओर्लेका छन् । छेवैमा छ नेशनल मलको स्मिथ सोनियम म्युजियम । बाहिर फराकिलो सडकमा सवारी वत्तिएका छन् । भीमकाय भवनले परको दृश्य छेकेको छ । वाल स्ट्रिट कब्जा आन्दोलनमा समर्थन गर्दै हिंडेका केही थान युवा जुलुस लगाउदै ह्वाइट हाउसतिर जादैछन् ।
बाहिर चलेको सिरेटोको चीसो चिर्न नसक्ने तम्तम्याइदो  पहेलो घाम लागेको छ । हामीले न्युजियमको तातो स्वागत पाएका छौं ।
न्युजियम । धेरैका लागि नया नाम । समाचारहरुको एउटा सिंगो संग्रहालय । समाचारमा इतिहास बनेका समयका प्रत्येक कालखण्ड न्युजियममा कैद भएर बसेको छ । यसले पुस्तौं पुस्तासम्मलाई बहस चलाउन सक्ने सयौं हजारौं विषय सुरक्षित राखेको छ । आङ सिरिंङ्ग हुने त्रासद घटना र  मन दुखाउने कयौं सम्झनालाई जिवन्त पार्ने सग्ला प्रमाणहरु न्युजियमको भित्तामा छन् । पाच तले विशाल घर समाचारका अनेक पाटा र आयाम सुरक्षित राखेर ठिङ्ग उभिएको छ । जहा घुम्दा वितेका प्रत्येक सेकेन्डको स्मृति ताजा भइदिन्छ ।
न्युजियमभित्र टेलिभिजन बजिरहेको छ । रेडियो घन्किरहेको छ । न्युजियमको बुम  समातेर कोही आफूलाई रिपोर्टर देखाउन आतुर छन् । विद्यार्थीको हुल सञ्चारका हरेक पाटो हेरेर दङदास छ । न्युजियममा थिएटर छ । थ्रिडी वा फोर डीको मजा लिएर स्कुले नानीहरु रमाइरहेका छन् । संसार हल्लाएका समाचारहरुको सविस्तार फेहरिस्त पढेर विद्यार्थी ज्ञानगुन सिक्दैछन् । शताब्दियौं अघिको पुस्तक शीशाभित्र तेजिलो प्रकाशमा टल्किएको छ । पुस्तक छेउको स्क्रिनमा चोरीऔला रगड्ने हो भने पुस्तकका पानाहरु फर्लक् फर्लक पल्टिन्छन् । घोत्लिएर त्यही पुस्तक पढ्नेहरु पनि कति छन् कति । सहयोगका लागि बसेकी एउटी केटी भन्थी, ‘न्युजियमको भित्तो हेरेर विहानदेखि साझसम्म रमाउने पनि आउछन् । उनीहरु तलामाथि गरिरहन्छन् । न्युजियमका एक एक चिज हेरिरहन्छन् ।’
प्रत्येक तलामा छुट्टा छुट्टै ग्यालरी छ । संसारका पत्रिकाले लेखेका समाचारका शीर्षक छन् । संसारका पत्रिकाको मास्ट हेड जतनसाथ राखिएको छ । तिनले पहिलो पृष्ठमा छापेको समाचार त्यही मुन्तिर छ । गम्छु, ‘यी सबै पत्रिका कहाबाट खोजे होलान् ?’ शताब्दियौं अघिका सूचना डिजिटलाइज्ड गरिएको छ । पुस्तौ पुस्ताले यसमा पक्कै पनि गर्व गर्नेछन् ।
वर्षौं अघिका घटना सम्झाउने तस्वीर छन् । चनाखा फोटो पत्रकारले संयोगमा क्लिक गर्दा कैद भएका दृश्यहरु । तस्वीर एउटा संयोग हो । संयोगमा  क्लिन हुन नसके काम छैन । जतिबेला  क्लिक हुन्छ, त्यो इतिहास भइहाल्छ । तस्वीरमा दुखी भएको मान्छे जति खुसी भए पनि दुखी नै देखिन्छ । तस्वीरमा हासेको मान्छे जति दुखी भए पनि तस्वीरमा त सधै हासिरहेकै हुन्छ । यस्ता संयोग भरिएका कलात्मक ‘क्लिक’ले पुलित्जर पुरस्कार जितेका तस्वीरहरुको एलबमनै छ । न्युजियमका तलै पिच्छे वितेको समय पढ्न सकिन्छ र नोस्टाल्जिक हुन सकिन्छ । घटना र परिवेश नियाल्न सकिन्छ र त्यसलाई विश्लेषण गर्न सकिन्छ । दुर्दान्त दुख र उत्तेजनात्मक खुसीका क्षणहरु अनुभव गर्न सकिन्छ र त्यसको प्रभाव मूल्याङ्कन गर्न सकिन्छ ।
समाचार लेख्दा लेख्दै समाचार भएका पत्रकारहरु न्युजियमको भित्तामा मुस्काइरहेका छन् । यस्तो दृश्य देखेपछि अफगानस्तानका पत्रकार रहुल्लाहले भने, ‘पत्रकारिताको ठेगान छैन, कुनै दिन हामी पनि न्युजियमको भित्तामा झुन्डिन सक्छौं । गोली चलिरहन्छ । मान्छे मरिरहन्छन् । रिपोर्टिङ गरिरहनु पर्छ । बन्दुकबाट छुटेको गोलीले पत्रकर भनेर नछोई फर्किदैन ।’
न्युजियममा छुट्टै छ ‘९÷११ ग्यालरी’ । न्युयोर्कको टवीन टावर भवनमा भएको आतंककारी आक्रमणमा पत्रकारले मोलेको जोखिम देखाउने ग्यालरी । त्यस घटनालाई संसारका पत्रिका र पत्रकारले कसरी कभर गरे ? पत्रिकाको पहिलो पृष्ठमा के छापियो ? आतंकबाट असुरक्षित आम नागरिकको समाचार ग्यालरीमा सुरक्षित छ । त्यहा बल्दै गरेको ट्वीन टावर छ । टावरबाट खस्दै गरेका मान्छे छन् । त्यो ‘खतरनाक’ दृश्यलाई प्रत्यक्ष देखाइरहेका पत्रकार छन् । हेर्दा अनौठो लाग्छ, विपतमा मान्छे ज्यानको माया गरेर आफूलाई जोगाउन कुदिरहेका छन् । पत्राकार ज्यान माया मारेर त्यसलाई जीवन्त इतिहास बनाउन लागेका छन् । न्युजियममा संसार हल्लाउने संसारका यस्ता सयौं समाचारको सिंगो रुप छ । त्यसमा अनेक मान्छे, स्थान र समय छन् । न्युजियममा संचारको छुट्टै जीवन छ । समाचारहरुलाई केन्द्रमा राखेर बनाइएको यस्तो संग्राहलय सम्भवत अन्त छैन । आम नागरिकका लागि त यो महत्वको छदैछ, पत्रकार र आम सञ्चारका विद्यार्थीका लागि यो ठूलो अध्ययन पाठशाला हो ।
कुरा साधारण छन्, तिनै समाचार ।  तिनै पत्रिकाको पृष्ठ । तिनै फोटा । तिनै टिभीका दृश्य । तर न्युजियमबाट सिक्नु पर्ने धेरै छ । न्युजियम हेरेपछि लाग्छ, प्रत्येक सञ्चारकर्मीले ‘डकुमेन्टेशन’लाई कसरी मेन्टेन गर्नु पर्छ । आज काम लाग्दैन भनेको कुरा भोलि कति महत्वपूर्ण हुन्छ  ? हेर्नलायक चिज हजारौं वर्ष पुराना सम्पदामात्रै होइनन् समाचार पनि पुरातात्विक महत्वको बनाउन सकिन्छ भन्ने सग्लो उदाहरण हो न्युजियम ।
अमेरिकाले आफ्नो संविधानमा उल्लेख गरेको प्रेस स्वतन्त्रताको पहिलो प्रतिवद्धता न्युजियमको भित्तामा पढ्न सकिन्छ । दोस्रो विश्वयुद्धका जोखिमपूर्ण रिपोर्टिङ गर्ने पत्रकार इडवार्ड आर मुरो (१९०८—१९६५) ग्यालरी एउटा कुनामा छ । त्यहा तिनले प्रयोग गरेका डायरी, कलम, लत्ता कपडा देखि अरु  सामग्री पनि छन् । हल्का निहुरिएर पोज दिएको उनको हसिलो ब्ल्याक एण्ड ह्वाइट तस्वीर पनि छ । मुरोले चलाएको त्यतिबेलाको चर्चित टीभी कार्यक्रम ‘इट नाउ’, ‘पर्सन टु पर्सन’मा उनले लिएका अन्तरवार्ता र दोस्रो विश्वयुद्धमा गरेको रिपोर्टिङको फुटेज छेवैको ठूलो टीभी स्क्रिनमा बजिरहेको छ । तिनै पत्रकारको नाममा अमेरिकी सरकारले स्थापना गरेको ‘इडवर्ड आर मुरो, प्रोग्राम फर जर्नालिस्ट’ कार्यक्रममा सहभागी छौं हामी मध्य तथा दक्षिण एसियाका १३ पत्रकार । र न्युजियममा उनलाई हेर्ने अवसर पाएर दंग छौं ।


भुई तलामा थियो, न्युजियमको उपहार पसल । झर्दै गर्दा सानो उपहारमा आखा प¥यो । लेखिएको थियो, ‘ट्रस्ट मि, आइ एम अ रिपोर्टर ।’ मलाई लाग्यो यो उपहार मेरै लागि बनाएको हो ।
आखिर म रिपोर्टर थिए“, एक थान खरिदे“ । त्यसलाई मैले छातीमा सिउरिए“ । पटक पटक हेरे । सुहाउदिलो थियो । आफ्नो छातीमा आफैले पढे“, ‘ट्रस्ट मी, आइएम अ रिपोर्टर ।’ (त्यसलाई मैले लगाएर हिंडेको छैन । के थाहा, रिपोर्टर रहेछ भनेर त्यही लगाएका कारण कुटाइ खाइन्छ कि ?)
बाहिर निस्कदै गर्दा त्यही काली केटी फेला परी । उसले भनी, ‘फोटो लान सक्नु हुन्छ । जम्मा २० डलर हो ।’ त्यसपछि ऊ फेरि आगन्तुकको  स्वागतमा लागी । स्वचालित ढोकाबाट बाहिरिदै गर्दा मैले सुने ऊ आफ्नो लययुक्त स्वरमा कसैलाई भन्दै थिई, ‘वेल कम टु द न्युजियम । तपाई फोटो खिच्न सक्नु हुन्छ । यस्तो मुस्कान फेरि कहा मिल्छ..... ।’
anamolmani@gmail.com

Saturday, December 17, 2011

कति चाहिन्छ विश्वविद्यालय ?


काठमाडौ, पुस २ - मुलुकमा ९ वटा विश्वविद्यालय सञ्चालित छन् । तीमध्ये ५ वटामा मात्र विद्यार्थी पढ्छन् । बाँकी चार वटामा उपकुलपतिमात्रै छन् । न तिनको भौतिक संरचना छ न शैक्षिक र प्राज्ञिक प्रस्टता । यसपालिदेखि सञ्चालनमा आएका तीन वटा नयाँ विश्वविद्यालय सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयमा नियुक्त पदाधिकारीले बस्ने ठाउँसमेत पाएका छैनन् ।
स्थापना भएका विश्वविद्यालय व्यवस्थापन गर्न नसकिरहेका बेला सरकारचाहिँ अरू चार वटा विश्वविद्यालय थप्ने तयारीमा छ । २ करोड ३६ लाख जनसंख्या भएको र हरेक वर्ष करिब २ लाख ५० हजार विद्यार्थी कक्षा १२ उत्तीर्ण हुने नेपालमा आखिर कति वटा विश्वविद्यालय जरुरी छ ?
विश्वविद्यालयहरूको मनलाग्दी स्थापना हेर्दा देखिन्छ, आवश्यकताभन्दा नेताको खल्तीबाट विश्वविद्यालय जन्मिरहेका छन् । नक्साङ्कन, क्षेत्र र विषयगत आवश्यकता पहिचान नगरी हचुवाका भरमा विश्वविद्यालय खेल्ने प्रतिस्पर्धा चलेको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा विश्वविद्यालय स्थापनाका लागि परेका आवेदन हेर्दा लाग्छ, विस्तारै सहरमा खुल्ने उच्चमावि र विश्वविद्यालयमा कुनै फरक छैन । भौतिक, प्राज्ञिक र शैक्षिक प्रस्टता बिनै विश्वविद्यालयका बोर्ड झुन्ड्याउन देशका नेताहरू आतुर छन् ।
सञ्चालनमा रहेका ५ विश्वविद्यालयमध्ये विद्यार्थीको भारचाहिँ देशको जेठो त्रिभुवन विश्वविद्यालयमै बढी छ । त्रिविको एउटा तथ्याङ्कअनुसार प्ल टु उत्तीर्णमध्ये करिब सवा लाख विद्यार्थी त्रिविमा स्नातकमा भर्ना हुन्छन् । काठमाडौं, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी संख्या त्रिविको एउटा आंगिक क्याम्पसमा बराबर छ । लुम्बिनी विश्वविद्यालयले अझै कक्षा चलाउन सकेको छैन ।
काठमाडौं विश्वविद्यालयमा झन्डै ८ हजार, पूर्वाञ्चलमा १४ हजार र पोखरामा करिब ११ हजारको हाराहारीमा विद्यार्थी पढ्छन् । पूर्वाञ्चल र पोखरा विश्वविद्यालय क्षेत्रीय विश्वविद्यालयको अवधारणामा खुले पनि तिनले देशभर सम्बन्धन बाँडेर प्राज्ञिक विकासभन्दा सम्बन्धनको खेतीलाई बढावा दिएका
छन् । काठमाडौं विश्वविद्यालयले धेरै सम्बन्धन त बाँडेको छैन तर सर्वसाधारणको पहँुच यो विश्वविद्यालयमा सम्भवनै छैन । यसरी विश्वविद्यालय खुल्ने क्रम बढे पनि त्रिविको विद्यार्थी भार घट्नुको साटो बढेको बढ्यै छ । यस्तो बेला विश्वविद्यालयमात्रै खुल्नु कति ठीक हो ?
शिक्षाविद् केदारभक्त माथेमाका शब्दमा यसले देशको उच्च शिक्षाका लागि राम्रो संकेत गर्दैन । 'नक्साङ्कन र आवश्यकता पहिचान नगरी विश्वविद्यालय खोल्दै जाने हो भने कुनै दिन नेपालको विश्वविद्यालयका प्रमाणपत्र कही नबिक्ने हुन सक्छन्,' त्रिविका पूर्वउपकुलपति समेत रहेका माथेमाले कान्तिपुरसित भने, 'विश्वविद्यालयले आफूलाई स्पेसिफिक नबनाएसम्म संख्यात्मक वृद्धिले मात्रै केही हुँदैन । विश्वविद्यालय प्लस टु खोलेजस्तो होइन । साइनबोर्ड मात्रै झुन्ड्याउने कामलाई सघाउने कि नियन्त्रण गर्ने राज्य र नेताहरू नै गम्भीर हुनुपर्छ ।'
शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार राजषिर् जनक, नेपालगन्ज, वीरगन्ज र मदन भण्डारी प्राद्यौगिक गरी चार विश्वविद्यालय खुल्ने तयारीमा छन् । राजषिर् जनकका लागि कांग्रेस नेता विमलेन्द्र निधि लगायतका नेता, वीरगन्जमा मधेसवादी, मदन भण्डारी खोल्न एमाले नेताहरू लागेका छन् ।
शिक्षाविद् प्रा. तीर्थ खनियाका शब्दमा आफू सभासद, नेता वा मन्त्री रहेको बेला आफ्नो क्षेत्रमा विश्वविद्यालयको बोर्ड झुन्ड्याउने मोहले नेताहरू बिना तयारी विश्वविद्यालय खोल्ने काममा सघाइरहेका छन् । विश्वविद्यालयको दीर्घकालीन योजना, खुलेपछिको प्रभाव तथा विद्यार्थीलाई प्राज्ञिक बनाउने विषयमा भने खुल्न लागेको विश्वविद्यालयसित कुनै योजना छैन । 'अहिले खुलेका विश्वविद्यालय कुनै दिन विद्यार्थी नपाएर बन्द भए भने आश्चर्य नमाने हुन्छ,' खनिया भन्छन्, 'विश्वविद्यालय खोल्नुको कारणबारे सञ्चालक नै अन्योलमा छन् । छाता ऐन ल्याएर जथाभावी विश्वविद्यालय खोल्ने क्रमलाई व्यवस्थित नगर्ने हो भने प्रत्येक नेता, मन्त्री वा सभासदको खल्तीबाट एक-एक वटा विश्वविद्यालय जन्मिने छन् । जसलाई राज्यले धान्न सक्ने छैन ।'
२०१६ मा खुलेको त्रिविको संस्कृति विभागको भार थेग्ने २०४२ सालमा नेपाल संस्कृत विश्वविद्यालय खुल्यो । दुवै विश्वविद्यालय पूर्णरूपमा सरकारी लगानीमा सञ्चालनमा छन् । २०४६ सालपछि निजी क्षेत्रबाट काठमाडौं र २०५० पछि त्रिविको भार कम गर्न क्षेत्रीय अवधारणामा पूर्वाञ्चल र पोखरा विश्वविद्यालय खुलेका हुन् ।
पूर्वाञ्चलले त्रिविको महेन्द्र मोरङ क्याम्पस र पोखराले पोखराको पृथ्वीनारायण क्याम्पसलाई लिड गरेर क्षेत्रीय रूपमा चल्ने सोच राखिएको थियो । दुवैले त्यसो गरेनन् । पूर्वाञ्चल विश्वविद्यालयले देशभर सम्बन्धन बाँड्ने काम गरिरहेको छ भने छवि पनि विवादास्पद छ । पोखराले पनि सम्बन्धन बाँड्ने काम गरिरहेको छ । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव भोलानाथ पोखरेल विश्वविद्यालयको सामान्य अवधारणा नै नबुझी आन्दोलन र दबाबको भरमा निर्णय गर्ने प्रक्रियाले यस्तो समस्या ल्याएको ठान्छन् ।
'कहाँ, कस्तो र किन विश्वविद्यालय चाहिने हो नबुझी हचुवाको निर्णय हुन्छ,' उनले भने, 'अहिलेकै संरचना र शैलीमा जति विश्वविद्यालय खुले पनि त्यसले उच्च शिक्षामा गुणात्मक प्रभाव पार्न सम्भव छैन ।' तथ्यांकअनुसार नेपालमा ७ प्रतिशतमात्रै उच्च शिक्षामा पहुँच छ । छिमेकी भारतमा १५ प्रतिशत र चीनमा २० प्रतिशत नागरिक उच्च शिक्षाको पहुँचमा छन् । पोखरेल भन्छन्, 'विश्वविद्यालय बढ्दैमा पहुँच बढ्छ भन्न सकिन्न । हचुवामा विश्वविद्यालय स्थापना हँुदैमा त्रिविको भार घट्दैन । त्यसका लागि योजना र खाका चाहिन्छ ।'

बब उडवार्डको अटोग्राफ



त्यसपछि सभाहलमा परर्र ताली बज्यो ।
मन्तव्य सकेर उनी मञ्चको कुर्सीतिर बढे । एकछिन अघिसम्म शान्त भएर सुनिरहेको भीडले उनलाई पच्छ्यायो । भीड छिचोल्दै म पनि मञ्चमा पुगे“ र अटो ग्राफका लागि हातको डायरी उनीतिर तेस्याएर भने, ‘माइ नेम इज अनमोल, आइएम फ्रम नेपाल ।’
बब उडवार्डले पुलुक्क हेरे । तेजिलो तर शान्त अनुहार । चाउरीको डाम बस्ने गाला र निधार । लामो नाक । नया कुराको खोजी गरिरहेजस्ता लाग्ने कैला आखा । हास्य रस भरिएको वाक कला । ‘फ्रम नेपाल ?’, ६८ वर्षे पत्रकारले आफ्नो पावरदार चस्मा हल्का मिलाउदै मतिर हेरेर भने । त्यसपछि मेरो कालो डायरीको पहिले सेतो पानामा नीलो मसीले आफ्नो किरमिरे हस्ताक्षर गरिदिए, ‘बब उडवार्ड’ ।
यो उनको पहिलो हस्ताक्षर होइन । पत्रकारिता गर्ने र पढ्नेका लागि उनी आइडल व्यक्ति हुन् । भेट्नेहरुले उनको अटोग्राफ नलिइ छाड्दैनन् । डेढ दशकको पत्रकारिता जीवनमा मैले पहिलो पल्ट कसैको अटोग्राफ लिए“ सेलिब्रिटी मानेर । त्यो पनि पत्रकारकै । जसको एउटै रिपोर्टिङले संसार हल्लायो । संसारको शक्तिशाली देशको शक्तिशाली राष्ट्रपति (रिचार्ड एम निक्सन)लाई राजिनामा दिन बाध्य पा¥यो । विश्वविद्यालयका विद्यार्थी अहिले पनि अमेरिकाको राजनीतिक स्क्यान्डलको भित्री पाटोमाथि उनले गरेको रिपोर्टिङ ‘वाटरगेट स्क्यान्डल’ पढेर पत्रकारिताको कखरा सिक्दैछन् । प्राज्ञिकहरु उनका पुस्तक पढेर सूचना लिन्छन् र विचार बनाउ“छन् ।
त्यस्तै कखरा सिक्ने र विचार बनाउने मध्येको एक हु“ म पनि ।
ड्ड
२५ अक्टुबर २०११ । वासिङटनको सडकमा मुटु चिस्याउने सिरेटो चल्न थालेको छ । रुख बुट्यान पहेलिएका छन् । पात झरेर सडक पहेल्पुर छ । विहान १० बजे हामी स्टेट डिपार्टमेन्टको मध्यम स्तरको सभा कक्षमा पुगिसकेका छौं ।
साढे १० बजे बब आइपुगे नीर छर्केजस्तो आकाशे रंगको सर्टमा छिर्के टाइ र गाढा नीलो रंगको धर्के कोट लगाएर ।
‘के भनु“ होला ?’ मञ्चमा पुगेपछि बबले कुराको सुरुवात यसरी गरे, ‘बोल्न भन्दा त चुपचाप रिपोर्टिङ गर्नै सजिलो ।’ त्यसपछिको केही बेर उनले आफ्ना रिपोर्टिङ अनुभव सुनाए ।
‘मलाई लाग्छ’, अमेरिकामा वेस्ट सेलिङमा परेका ११ वटा ननफिक्सन पुस्तकका लेखकले भने, ‘अरु पेशाका मान्छेले यति धेरै चरित्रसित कुरा गर्न पाउदैनन् । डाक्टरको विरामीसितमात्रै कुरा हुन्छ । शिक्षकको विद्यँर्थीसितमात्रै । सरकारी कर्मचारीको सम्बन्धित विषयका सेवाग्राहीसितमात्रै । पत्रकारितामात्रै यस्तो पेशा हो जसको सबै पेशाकासित  निर्वाध कुराकानी हुन्छ ।’
यस्तै  निर्वाध कुराकानी गर्ने पेशामा आएकैले उनलाई संसारले चिन्यो । १९४३मा जन्मेका बबलाई विद्यालय सक्दा सम्म पत्रकार बन्छु भन्ने थिएन । विश्वविद्यालय सकेपछि कसो कसो उनी पत्रकारितासित जोडिए । पढ्ने लत त थियो नै, लेख्ने रस र खोज्ने बानी बस्यो । नया तथ्य र कारणहरु भेट्दै गए । त्यो रस अझ गहिरो बन्दै गयो । अहिले ६८ वर्षमा हिंडिरहेका उनको ३७ वर्ष पत्रकारिताका शब्द, तथ्य र खोजीमा खेल्दै बितेको छ ।
‘मेरो स्रोतले मलाई एक दिन खानाका लागि घरमै बोलायो’, वाटरगेट स्क्यान्डलको रिपोर्टिङ अनुभव सुनाउदै उनले भने, ‘म उनको घरमै गए“ । सुरुमा पालेले झण्डै छिर्न दिएन । तर सूचना लिए । प्रत्येक पल्ट समाचार लेख्नु अघि मैले उनलाई भेटे । प्रमाण जुटाए“ । अनिमात्रै समाचार लेखे । भनेको र सुनेको भरमा मैले समाचार लेखिन“ । आजसम्म लेखेको छैन ।’
जब उनले राजनीतिक स्क्यान्डलको एउटा समाचार लेखे । स्रोतमात्रै बढेनन् क्रमैसितसूचना प्राप्ति पनि बढ्दै गयो । झन्झन् नया र मजबुद आधार भएका सूचना प्राप्त हुदै गए । ‘तर स्रोत बारे मैले कहिल्यै कसैलाई जानकारी दिइन“, उसको नाम कहिल्यै लेखिन“’, उनले भने । (सन् २००८मा उनको स्रोतको निधन भयो)
उनको विचारमा सत्य पत्ता लगाउने तरिका अनेक हुन्छन् । ‘सकेसम्म पत्रकारले नदेखेको कुरा सत्य नसम्झनु राम्रो । प्रमाण नभएका सूचनालाई आधार नबनाउनु राम्रो’, वासिङटन पोस्टका एसोसिएट एडिटर उनी आफ्ना रिपोटरलाई सधै भन्छन्, ‘खोजी रिपोर्टिङमा टोलिफोनबाट हुदैन । फिल्डमा गएर व्यक्ति भेट्नै पर्छ । व्यक्तिको हाउभाउले पनि समाचारको सत्यता पुष्टि गर्न मद्दत पु¥याउछ ।’

ड्ड

सत्तरीको त्यो दशकमा अहिलेजस्तो सामाजिक सञ्जाल थिएन । उनी पत्रकारिताको प्रारम्भिक अवस्थामै थिए । ‘अहिले त’, संसारबाट भेला भएका पत्रकारहरुलाई उनले सुनाए, ‘इन्टरनेट जादुजस्तो भएको छ । यस्तो जादु जसले नया दुनिया देखाएको छ । क्षण क्षणमा तुरुन्ता तुरुन्तै नया संसारको कुरा सुनिरहेको छ ।’ उनलाई लाग्छ जतिनै विज्ञानको प्रगति र सोसियल मिडिया जन्मे पनि परम्परागत भनिएका मिडियाको प्रभाव तत्काललाई घट्दैन ।
कसैले सोध्यो जुलियन असान्जले बाहिर ल्याएको अमेरिकी सरकारको गोप्य सूचना र वाटरगेट स्क्यान्डलको रिपोर्टिङमा के फरक छ ? उनले भने, ‘त्यो पनि खोजीको एउटा पाटो हो । वाटरगेट स्क्यान्डललेझै त्यसले प्रभाव पार्न नसक्नुको कारण बारे चाहि म केही भन्न सक्दिन ।’
उनलाई लाग्छ, हरेक देशमा खराब र असल मान्छे छन् । पत्रकारको दुवैसित संगत गर्नुपर्छ÷हुन्छ । राम्रा र इमानदारले सत्य पत्ता लगाउन सहयोग गर्नेछन् । ‘पत्रकारले इमानदार भएर सत्यको सुरुवात गर्नुपर्छ’, उनको अनुभवले भन्छ, ‘अहिलेका पत्रकार प्रत्येक स्टोरीमा ह्याङ भएर बसेका छन् । उत्साह छ तर त्यसलाई टिकाइ राख्ने धैर्य उनीहरुमा कम छ । पत्रकारले पढ्नु पर्छ, मेहनत गर्नु पर्छ र सप्रमाण सूचना खोज्नु पर्छ । पढ्नुपर्छ र फेरि पढ्नु पर्छ । खोज्नु पर्छ र फेरि खोज्नु पर्छ । लेख्नु पर्छ र फेरि लेख्नु पर्छ । राम्रो पत्रकार बन्ने सुत्र यसबाहेक अर्को केही छैन ।’
कसैले सोध्यो बढ्दो सोसियल मिडियावीच अब पत्रकारिताको परिभाषा फेर्नु जरुरी छ ? ‘छैन, मलाई त्यस्तो लाग्दैन’, उनले जवाफ दिए, ‘जे परिभाषा दिए पनि पत्रकारिता सत्यको नजिक हुनु पर्छ । प्रमाणसहितको हुनुपर्छ । पत्रकारिताको परिभाषा बदलेर केही हुदैन । सत्य सूचना बदलेर पत्रकारिता गर्न सकिन्न ।’
सभाहलको पछाडिबाट कसैले सोधेको मैले सुने“, ‘राष्ट्रपतिलाई राजिनामा दिन बाध्य पार्ने रिपोर्टिङ गर्ने मान्छे, अहिले राष्ट्रपति चुनावको चर्चा छ । उम्मेदवार बन्ने विचार छैन ?
निधार मुजा पारेर उनी हल्का मुस्काए र यति भने, ‘म राष्ट्रपति हुन चाहन्न । त्यसका लागि मेरो योग्यता पुगेकै छैन ।’ त्यति भनेर सधन्यवाद उनले आफ्नो मन्तव्य टुङ्ग्याए ।
हो, अनि त्यसपछि हो सभाहलमा परर्र ताली बजेको ।


Sunday, October 2, 2011

गाउँ छिरेको काठमाडौं

काठमाडौं एउटा बुझिनसक्नुको रहस्य हो । देशभरबाट आउने मान्छे यो गर्तमा भासिन्छन् र अटाउँछन् । काठमाडौं दिन-प्रतिदिन बुझ्न नसक्नेगरी दुरुह र झन्-झन् दुरुह हुँदै गएको छ । यो रहस्य गर्तमा सपना यात्रा गरेर भीडभाड र कोलाहलमा रमाउने हजारौं-लाखौं छन् । हिन्दुहरूको मात्रै भनेर व्याख्या गरे पनि दशैंमात्रै यस्तो एउटा पर्व हो, जसले वर्षैसाल गर्तको दलदलबाट केही दिनलाई छुटकाराको अवसर दिन्छ । राजधानी भासिएका ती हजारौं हुत्तिएर गाउँ पुग्छन् । वर्षमा यही एकपल्ट काठमाडौं सुनसान भएर देशभर छरिन्छ । काठमाडौंका घर, सडक, पार्क, रेस्टुरेन्ट सबैले केही दिन कोलाहलमय भीडभाडबाट फुर्सद पाउँछन् । र सहरचाहिँ कुनै निर्जन गाउँजस्तो एकान्त हुन्छ ।


यतिखेर दशैंका लागि धेरैले गाउँ टेकिसके । कतिचाहिँ कलंकी, कोटेश्वर वा बल्खु नाकातिर पुटुक्क कसिलो पुन्टे झोला लिएर घर जाने सवारी कुरिरहेका छन् । कोही हतारिएर विमानस्थलतिर कुदिरहेका छन् । तिनका झोलामा 'काठमाण्डुको कोशेली' छ, एकथान मोबाइल, एकसरो लुगा, केही मरमसला । काठमाडौं यसरी छरिएर ७५ जिल्लाका ३ हजार ९ सय गाविसका प्रायः सबै टोल, नगर र बस्तीमा पुगेको छ । प्रत्येक गाविस/टोलको एउटा मान्छे काठमाडौं छ । प्रत्येक दशैंमा गाउँका नदी, बगर, आली र पाखापखेरामा काठमाडौंको धूवाँ-धूलो
टक्टकिन्छ ।
काठमाडौं आउने बहाना अनेक छन् । सजिलो बहाना हो, गाउँमा अवसर छैन । अवसरका लागि सडक छैन । बिजुली छैन । औषधीमूलो छैन । पढ्न राम्रो स्कुल-कलेज छैन । भएकामा चाहेजस्तो सबै विषयको पढाइ हुँदैन । पढाइ हुने ठाउँमा शिक्षक छैनन् । शिक्षक भएकामा विद्यार्थी छैनन् । उब्जनी झन्-झन् घट्दो छ । भएको उब्जनीलाई बजार छैन । समग्रमा मान्छेको आधारभूत आवश्यकता पूरा गर्ने पैसा गाउँमा प्राप्त छैन ।
काठमाडौंले व्यक्तिलाई 'मान्छे' बन्न, छुट्टै पहिचान बनाउन र अवसरको खोजी गर्न सघाउँछ भन्ने अपेक्षा धेरैको छ । पछिल्लो केही वर्षदेखि संघीयताको चर्चामा रमाइरहेको काठमाडौंमा सामान्य मजदुरी गर्नेदेखि देशको नीति बनाउनेसम्म छन् । उनीहरू सिंहदरबार वा कुनै तारेहोटलमा बस्छन् र गाउँ विकासको योजना बुन्छन् । काठमाडौंसित देशका झन्डै ३ करोड नागरिकको भविष्य कस्तो बनाउने भन्ने शक्ति छ । तिनलाई कता डोर्‍याउने वर्षौंदेखि त्यसको लगाम आफ्नो हातमा समातेर बसेको छ, काठमाडौं ।
निर्देशक नवीन सुब्बाले गतसाल माघ १७ गते चलचित्र 'गुडबाइ काठमाडौं' निर्माण घोषणा गर्दाको भाषण मैले डायरीमा यसरी टिपेको थिएँ, 'व्यक्तिको गाउँमा अट्न नसकेको आकांक्षा, साना सहरले थेग्न नसकेको महत्त्वाकांक्षा काठमाडौं आएर पोखिन्छ । व्यक्ति रातारात यो सहरमा आफ्ना  सपना पूरा गर्न सक्छन् । पूरा भएपछि अझ ठूला सपना देख्छन् । जुन सपनालाई काठमाडौंले पनि थेग्न सक्दैन । काठमाडौं मलाई ट्रान्जिटजस्तो लाग्छ । सपना पूरा गर्ने सहरको खोजीमा निस्कँदा एकछिन सुस्ताउने बिसौनीजस्तो ।'
सुब्बाले भनेजस्तै धेरैका लागि काठमाडौं बिसौनी नै हो । यो बिसौनीमा चल्ने अधिकांश मोबाइल अहिले गाउँमा छन् । आँगन, बारीको पाटो, डाँडो, चौतारी वा स्कुल चौरतिर हल्लिँदै काठमाडौं छाडेपछि विछोडिएको हितैषी, प्रेमी वा आफन्तसित ती मस्ताराम बात मारिरहेका
छन् । काठमाडौंका सपिङ मल, फुटपाथ वा सस्ता होलसेलमा किनेका रेडिमेड कपडा, नयाँ ब्रान्डको जुत्ता, मसला, बीउबिजन धेरैथोक अहिले गाउँ पुगेको छ ।
खरकै छानो किन नहोस्, गाउँको धुरीमा काठमाडौंबाट लगिएको एन्टेनाको टुप्पी पलाएको छ । घर-घरमा रंगीन टीभी र सीडी प्लेयरको हल्ला छ । टीभीले दशैंको सुनसान काठमाडौं देखाउँछ, भर्खर काठमाडौं छोडेर पुगेकाहरू जिज्ञासु भएर हेर्छन् । राजधानीको राजनीति के हुँदैछ, चासो लिन्छन् । सीडी प्लेयरमा सहरको पानपसलमा जस्तो हिन्दी वा लोकदोहोरी घन्केको छ । गाउँका बगर-बगर काठमाडौंमा दर्ता भएका मोटरसाइकल कुदेका छन् । अरू बेला देश खुम्चेर काठमाडौंमा जम्मा हुन्छ, दशैंमा छरिएर गाउँ-गाउँ पुग्छ । गाउँ दशैंका बेला हिजोजस्तो सुनसान हुँदैैन । लिपपोतले चिटिक्क भएर पूरै तङ्ग्रेको गाउँमा काठमाडौंको चहलपहल देखिन्छ ।
हिजो वर्षमा एकपल्ट कामविशेषले काठमाडौं सहर आउने थिए । आज वर्षमा एकपल्ट सहर रित्याएर गाउँ फर्किनेहरू छन् । काठमाडौंको धपेडी, सधैंको चटारो, निराशा र कुण्ठा बिर्सेर युवा गाउँ फर्किन्छन् । प्रौढ र वृद्ध आफ्नै थातथलोमा पुग्न चाहन्छन् ।
जानेर-नजानेर तिनलाई के थाहा छ भने काठमाडौंले कहिल्यै आफ्नो भन्दैन भन्ने छैन । जति दुःख पाएको भए पनि आफ्नै थातथलो धेरैलाई पि्रय हुन्छ । त्यसैले पनि दशैंमा सबै गाउँ जान चाहन्छन् । स्वस्थ, शान्त र सुरक्षित मानिने गाउँमा दशैंमा पुग्दा सहरमा बिर्सेको नाता सम्बन्ध खोजबिन हुन्छ । पहिचान हुन्छ । त्यसलाई पुनर्जीवन दिइन्छ । समाजको सम्बन्ध व्यवस्था स्थापित गर्न दशैं एउटा राम्रो अवसर भएको छ । सहरको ब्युटिपार्लरमा आइब्रो मिलाउँदा, कपाल रंगिचंगी पारेर, जिमखानामा ज्यान बनाएर सहरमा ठाटिँदा युवाले गाउँ बिर्सेलान्, तर दशैंमा तिनले कसैगरी आफ्नो गाउँ बिर्सिन सक्दैनन् । जति नै मगमग भएर काठमाडौंमा ठाँटिए पनि तिनको आँतको एक कुन्तरमा आफ्नो नाभी गाडिएको गाउँको हरक ठस्स बसाउँछ । 
काठमाडौं 'ट्रन्जिट'मा सुस्ताउन्जेल सबै काठमाडौंलाई गाली गर्छन् । कारण सबैभन्दा बढी दुर्गन्ध काठमाडौंमै छ । पानी छैन । सुरक्षा छैन । धूवाँ-धूलो, होहल्ला धेरै छ । महँगो कोठाभाडा र घरधनीसित पर्ने ठाकठुक, किन्नै नसक्नेगरी बढेको सब्जी र चामलको मोल, नैतिक-अनैतिक क्रियाकलाप काठमाडौंका विशेषता हुन् । कामकाजीको तलब बाहेकका सबैथोक दिन दुगुना रात चौगुनाले बढ्छ । जति मान्छे आए पनि यहाँ अटेकै छन्/भासिएकै
छन् । जति नै सास्ती भए पनि मान्छे गाली गर्दै यही बिसौनीमा सुस्ताएर भविष्य खोज्न
चाहन्छन् । र वर्षमा एकपल्ट काठमाडौंलाई सुनसान बनाएर गाउँ जान्छन् । काठमाडौंले बुझ्नुपर्छ, यो गाउँको लगन, अनुशासन र शक्ति हो । यस्तो शक्ति सहरमा कहिल्यै पैदा हुन सक्दैन । किनभने गाउँमा कुनै रहस्य छैन । गाउँ खुला किताबजस्तो छ ।