- अनमोलमणि
त्यो ठाउ मकवानपुरको सुदुर गाउँ थियो । छतिवनबाट हिडेर जान दैनिक अढाइ घण्टा लाग्ने । अढाइ घण्टाको पैदल यात्रा गरेर महेन्द्र माविबाट मैले माध्यमिक तह सकेँ । बैसाख जेठको तातो घाममा गिर्खे ढुङ्गा र ताता बालुवामाथिको यात्राले पैतालामा फोका उठ्थे । खोलै खोलाको बाटो थियो । वर्ष याममा बगाउला भन्ने त्रास, जाडो याममा सिरेटोले उडाउला जस्तो । गर्मीमा पाकिएला जस्तो ।
यस्तै सकसमा बल्ल कक्षा ४ टेकेपछि ठूलो बर्णमालाका साउँ अक्षर चिनेँ । मतवाली र दलितवीचको म आर्यनलाई गुरुहरु भन्थे—‘यो ल्वाँठले केही गर्न सक्दैन ।’ अक्षर नचिनेको बदलामा कलिलो हत्केलाले पटकौँ पटक ताप्रेको सिर्कना बज्रियो । तर मैले ती सबै पीडा बोध बिर्सि सकेको छु । त्यसो नगरेको भए म साँच्चै उनीहरुले भनेजस्तै ‘ल्वाँठ’ नै हुन्थेँ कि ? धन्य ती गुरुहरुले मलाई ल्वाँठ हुनबाट बचाए !