Thursday, January 17, 2013

मेरा गुरुहरु


  • अनमोलमणि



त्यो ठाउ मकवानपुरको सुदुर गाउँ थियो । छतिवनबाट हिडेर जान दैनिक अढाइ घण्टा लाग्ने । अढाइ घण्टाको पैदल यात्रा गरेर महेन्द्र माविबाट मैले माध्यमिक तह सकेँ । बैसाख जेठको तातो घाममा गिर्खे ढुङ्गा र ताता बालुवामाथिको यात्राले पैतालामा फोका उठ्थे । खोलै खोलाको बाटो थियो । वर्ष याममा बगाउला भन्ने त्रास, जाडो याममा सिरेटोले उडाउला जस्तो । गर्मीमा पाकिएला जस्तो ।
यस्तै सकसमा बल्ल कक्षा ४ टेकेपछि ठूलो बर्णमालाका साउँ अक्षर चिनेँ । मतवाली र दलितवीचको म आर्यनलाई गुरुहरु भन्थे—‘यो ल्वाँठले केही गर्न सक्दैन ।’ अक्षर नचिनेको बदलामा कलिलो हत्केलाले पटकौँ पटक ताप्रेको सिर्कना बज्रियो । तर मैले ती सबै पीडा बोध बिर्सि सकेको छु । त्यसो नगरेको भए म साँच्चै उनीहरुले भनेजस्तै ‘ल्वाँठ’ नै हुन्थेँ कि ? धन्य ती गुरुहरुले मलाई ल्वाँठ हुनबाट बचाए !

प्राथमिक तह सकेपछि बल्ल एकसरो नेपाली लेख्न जानेँ । आकार, उकार, तर्कुले, बर्दाने, एक्लखा, दोलखा अझै चिनिनँ । यो ज्ञान मलाई कक्षा छ पछिमात्रै भयो । अहिले सोच्छु, ज्ञान दिने मेरो पहिलो गुरु थियो ‘ठूलो नेपली बर्णमाला’ जो आफैचाहिँ निकै सानो आकारको थियो । शायद यही पुस्तक सबैको जीवनको अक्षर चिन्ने पहिलो गुरु हो । त्यसपछिका मेरा गुरु थिए ती अक्षर चिनाउने मास्टरहरु ।
जीवनको तीन दशकपछि आज गुरु पूर्णिमाको दिन म तिनै गुरुहरु सम्झिरहेको छु । जसले अक्षरमात्रै चिनाएनन् मेरा खास आँखा खोलिदिए । उनीहरुका लागि जागिर नै सही शिष्यलाई ज्ञान बाँडे । जीवन देखाइ दिए । उनीहरुले केही लिएनन्, कहिल्यै केही मागेनन् दिए मात्रै । त्यही ज्ञानको भण्डार बोकेर शिष्यहरु संसारको कुना कुना पुगेका छन् । यदि गुरु हुन्थेनन् भने म यी शब्द लेख्न सक्ने थिइनँ । न कसैले लेखेका अक्षर पढ्न सक्थेँ । प्राथमिक तहमा मलाई अक्षर चिनाएका थिए पदम विश्वकर्मा र सूर्यकान्त ठाकुरले । ख्याउटे पदम सर अंग्रेजी पढाउँथे । कडा मिजासका थिए । अंग्रेजीको माने नघोके र कण्ठस्थ नसुनाए उनको रिसको पारो तात्थ्यो, ताप्रेको सिर्कनो शरीरको जहीँ पनि बज्रिन्थ्यो । तर उनी आफै चाहिँ अग्रेजी जान्दैन थिए । वर्षौ पछि केहीमहिना अघिको भेटमा भन्थे आफ्ना विद्यार्थी कहा कहा पुगे । म यही छु । गुरु हुनुको काइदा यही होला शायद । उनी झुस्स दारी पालेका झन् ख्याउटे भएछन् ।
सुन्दा ननिको लाग्न सक्छ प्राथमिक तहमा पढाउने झण्डै ९४ हजार शिक्षक अहिले पनि पदम सरकै कोटीका छन् । देशका ३२ हजार भन्दा बढी सामुदायिक विद्यालयमा अंग्रेजी गतिलो पढाइ हुदैन, एसएलसी अनुतीर्ण हुने धेरै अंग्रेजीमै फेल हुन्छन् । यसका पछाडि अरु पनि कारण होलान् । तर मूल कारण सिकाउने गुरुहरुनै हुन् । भन्नै पर्छ , ‘मेरा प्रिय गुरुहरु! शिष्यलाई अक्षरमात्रै नचिनाउँ । सिर्जनशील पनि बनाउँ । नघोकाउँ उनीहरुलाई आँटिलो बनाउँ ।’ तर यो कुरा न पदम सरले बुझे न अरुले बुझेका छन् । अबको पच्चीस वर्ष पछि फेरि मजस्तै कुनै विद्यार्थीले भन्नेछ, मलाई गुरुहरुले ल्वाठ हुनबाट त जोगाए तर अझै म केही हुन सकिन । किनभने पदम सरहरुले घोकाउने काम अझै छाडेका छैनन् ।
अर्का थिए ठाकुर सर । तराइ मूलका यी गुरु लामो सिर्कनो लिन्थे । हामी खोला झाडी कुदिरहेका हुन्थ्यौं । लखेट्थे । बेल र खयर घारीमा लुकेर विहानको प्रार्थना टार्न खोज्थ्यौँ । उनी घिस्याएर लान्थे । नङ, लुगा र दाँतको सरसफाइ हेर्थे । मैलो देख्यो कि कान निमोठेर रातै पार्थे । उठबस गर्न लगाउँथे । तर छैठको बेला ठगिया र भुसियाका डल्ला ल्याएर दिन्थे । हामी खुब रमाउँथ्यौँ । त्यही कारण ५ दिन जस्तो भए पनि हप्ताको एक दिन चिरिच्याट्ट परेर जान्थ्यौं । प्राय त्यो दिन शुक्रबार हुन्थ्यो । केशमा तोरीको तेल लछप्पै पारेर । छड्के कपाल कोरेर । अनि भन्थे ल हेर हिरो भएर आएछ । तर त्यो हिरो भनेको के हो थाहा थिएन ।
कक्षा छ पुग्दा अंग्रेजी पढाउन चितवनबाट नया मास्टर आएका थिए । निकै सुकिला । ठूलो पावरदार चस्माले उनका चिम्सा आँखा छोपिएका हुन्थे । हामी उनलाई ‘चस्मे सर’ भन्थ्यौँ । उनीसँग अंग्रेजी विषय अंग्रेजीमै पढाउने क्षमता थियो । नाम थियो शेषकान्त अधिकारी । त्यो गाविसमा भएका झण्डै आधा दर्जन स्कुलमै अंग्रेजीका नामी । मैले उनैबाट कक्षा छ पुगेपछि एकसरो अंग्रेजी वर्ण जानेँ । वाक्य बनाउन जानेँ । एक दिन प्रार्थनामा उभिइरहेका बेला उनले सोधे, ‘ए केटा अंग्रेजीमा छिट्टै पानी पर्न लागिरहेछ भन् । मैले निकै कनेर प्रार्थना सकिएपछि भने, ‘इट् रेन सुन ।’ तर उनले मिलाए, ‘त्यसो होइन इट्स गोइङ टु रेन सुन ।’ यो कुरा मेरो दिमागबाट अहिले पनि हटेको छैन । व्यवहारिक रुपमा सिकाए नबिर्सिने धेरै कुरा हुने रहेछन् ।
अधिकारी बाहेक हामीलाई एसएलसीमात्र उत्तीर्ण प्राथमिक तहकै गुरुहरुले पढाउँथे । सामुदायिक विद्यालयको हाल अहिले पनि  त्यही छ । कहिले काहिँ आन्दोलन गरेर धेरै पढेका शिक्षक चाहियो भन्ने माग हेडसरलाई राख्थ्यौँ । विचरा जो आफै पनि एसएलसीमात्रै उत्तीर्ण हुन्थे । उनी म भन्छु । ल्याउछु । भन्थे तर कहिल्यै ल्याउदैन थिए । अरु त ठीकै थियो । हामीलाई अंग्रेजी निकै गाह«ो हुन्थ्यो । त्यही भएर एक जना नुर प्रसाद गौतम सँग केही साथी मिलेर ट्युसन पढ्ने योजना भयो । मसँग पैसा थिएन । केही दिन निशुल्क पढे । त्यही बेलाको ग्रामर सिकाइले अहिले पनि काम गरिरहेको छ । साथीहरु भन्थे, ‘यो नुर सर त आठ कक्षा पढ्दै एसएलसीलाई ट्युसन पढाउथे रे ।’ कुरो कति सत्य हो थाहा छैन । उनी अहिले हेटौंडामै सरकारी बैङ्कमा कार्यरत छन् ।
संस्कृत पढाउने अर्का गुरु थिए जनार्दन खनाल । उनी भाका हालेर छन्दका कविता र संस्कृतका श्लोक सुनाएर मख्ख पार्थे । उनले कुनै विद्यार्थीलाई कहिल्यै एक छडी लगाएनन् । हसाउथे । त्यही भएर हामी उनलाई अलि हेप्थ्यौं पनि । अर्का थिए उद्धव सापकोटा जो विद्यार्थीसँग छिट्टै घुलमिल हुन्थे । उनी सबैजसो विद्यार्थीका प्यारा शिक्षक थिए । समस्या छलफल र सम्झाएर समाधान गर्थे । उनले पनि कसैलाई एक थप्पड हानेको माध्यमिक तह सकुन्जेल मलाई थाहा भएन । टिफिनमा विद्यार्थीसँगै हुन्थे । विहान बाटामा पर्ने विद्यार्थीका घरै छिरेर ल्याउँथे । उनी माक्र्सवादका किताब पढ्थे । तर्क गर्थे । सुनेँ, उनले उनी शिक्षा शास्त्रमा स्नातकोत्तर गर्दैछन् । विद्यालयको हेडमास्टर पनि भए ।
कक्षा सात पुगेपछि नेपालीका नया सर आए रमेशमोहन अधिकारी ।  अरु सरजस्तो यी लौरो बोकेर कहिल्यै हिँडेनन् । पावरदार चस्मा, पुल्टुक्क भुँडी, लामो नाक साइज अलि असुहाउँदो थियो । शब्दबाटै यिनी विद्यार्थीको हुर्मत लिन्थे । उनको कसैले चुँक्क हल्ला गर्दैनथ्यो । मधुपर्क, गरिमा, अभिव्यक्ति, रचना, प्रज्ञापनजस्ता साहित्यिक पत्रिकामा समीक्षा, संस्मरण छाप्थे । कक्षामा त्यसको बखान सुनाउँथे । हामीले नेपाली किताबमा पढ्ने कथा कविताका लेखक चिनेको÷भेटेको वर्णन सुनाउँथे, साह«ै ठूलो मान्छे ठान्थ्यौँ । यिनै शिक्षकको प्रेरणाले मेरो नाम डेढ दशक अघि प्रज्ञापन पत्रिकामा छापियो । र म अहिले भुरे टाकुरे लेखक भइ टोपलेको छु । शायद उनी नआएको भए म लेख्ने बाहेकको पेशामा हुन्थेँ हुला । उनी अझै चक डस्टर बोकेर कक्षा कोठा धाउन थाकेका छैनन् । केही समय स्रोत व्यक्ति भएका यी सर अहिले फेरि पढाउन थालेका छन् भन्ने सुनछु । क्याम्पस पढ्दा कोही गुरुसँग यस्तो नजिकको भइएन । कुनै गुरुले चिनेनन् ।
अरु पनि थिए, पर्शुराम गौतम एस्ट्रे बनाउन सिकाउथे । श्रीबहादुर राई नैतिक शिक्षा पढाउथे । आलोक गौतमले सामाजिक शिक्षा । सहनी यादव गणित । गणितमा म कमजोर थिइनँ । कहिले काहि यी सरसँग चेस खेलिन्थ्यो । जित्ने त कुरै भएन । कक्षाका अरु साथी सग पनि खेलिन्थ्यो ।
उमेर धेरै भइसकेको छैन । तर यी कुरा सम्झिदा लाग्छ हाम्रो शिक्षा अझै धेरै पछि छ । गुरु चेला सम्बन्ध अमिलो छ । शिष्य गुरु विर्सिरहेछन्, गुरुहरु शिष्य चिन्दैनन् । सबै शिक्षक गुरु हुन सकेका छैनन् । गुरु चेला दुवैमा विनम्रता मासिदै गएको छ । तर जस्तै भए पनि ज्ञानको प्रकाश फैलाउने गुरुहरु नै हुन् यो वा त्यो प्रकारले । जति बाँड्यो बढ्दै जनो यो ज्ञानको गुण म कहिल्यै तिर्न सक्दिन मेरा प्रिय गुरुहरु ।
मेरा ज्ञात अज्ञात सबै गुरुलाई षाष्टङ्ग दण्डवत !

No comments: