- अनमोलमणि
सेती नदीजस्तै दबेको पीडा छातीमा बोकेर
म तिमीलाई सम्झिरहेछु
सेतीको पुलमाथि
सेतीको बेगसँगै बग्ने छालजस्तो भयो हाम्रो प्रेम
र हामीसँग बाँकी रह्यो—
अनन्त प्रतीक्षा
अधुरो प्रेम कथा
उदास उदास लाग्नेगरी
आफैमा विरानो हुनु पर्ने यो मौन समयमा
शीतजस्तो प्रत्येक विहान सुक्छ
र, प्रत्येक साँझ झर्छ मेरो आँशु
पुलमाथि बसेर म सोचिरहेछु—
हाम्रो प्रेमजस्तो भत्किदै गएको
पाटनको मन्दिर, देवल र टुँडालहरु
लेउले छोपिएको पोखरी र ढुङ्गेधारा
जहाँ हामीले प्रेम साटेका थियौँ
निर्धक्क आफैसँग हाँस्न नसक्ने म
तिमी सामु हाँसेको मेरो अनुहार
र नमीठा रुवाइका धुनसँगै आएका तिम्रा अनन्त प्रश्नहरु
घाम ढल्दै गरेको पहेँलो आकाश
जून निभ्दै गरेको मिर्मिरे विहान
वा अँध्यारोले चुमेको औशीको रात
शायद यस्तै कुनै समय शुरु भएको हुनु पर्छ
यो प्रेमको भ्रम
सोच्छु—
प्रेम यस्तै विना घटनाहरुको दुर्घटना रहेछ
जसमा परेर म घाइते भएको छु
म सम्बन्ध विच्छेदको कागजमा
भरखरै हस्ताक्षर गरेर अदालतबाट बाहिरिएको दम्पतीजस्तो
उभिइरहेछु सेतीको पुलमाथि
मसँग छन् मात्रै सम्झनाका खाटाहरु
प्रिय,
हामी कहिल्यै एकाकार नहुने सेतीको किनार हौं
अब हामीसँग बाँकी छ मात्रै—
सम्झनाको छालसित बग्ने
अनन्त प्रतीक्षा
अधुरो प्रेम कथा
हामी बाँचेको परिवेश
र मक्किन लागेका पुराना केही सम्झनाहरु
No comments:
Post a Comment