- अनमोलमणि
मेरो गल्ती यत्ति हो
मैले समाचार लेखेँ ती कुनाका मैला मान्छेका पक्षमा
जो समाचारमा कहिल्यै आएका थिएनन्
र, मेरो हातमा किला ठोकियो÷मेरो कलम भाचियो
मेरो गल्ती यत्ति हो
मैले पहिलो पृष्ठमा नग्न स्त्रीको कामुक देह छाप्न इन्कारेँ
र बेरोजगार युवाको नाराजुलुुस छाप्न हौसिएँ
पढ्न नपाएका केटाकेटीको फोटो छापूँ भनेँ
मेरो गल्ती यत्ति हो
स्वेच्छिक बलत्कृत युवतीको
कामुक अन्तरवार्ता उतार्न मन लगाइनँ
र फेरि बलत्कारका लागि शाब्दिक आह्वान गरिदिइनँ
नग्न सुन्दरीको कामुक तस्वीर मुन्तिर
मैले क्याप्सन लेख्न मानिनँ,
बलत्कृत हुँदा कति थियो उसको स्तनको गोलाइ?
कति थियो नितम्बको चौडाइ ?
र कस्तो थियो गुप्ताङ्गको ट्याटुको िचत्र?
त्यसपछि कति बढ्यो उसको सौन्दर्यको मूल्य?
मैले अक्षरहरुको भीडमा आवाज हराएकी
साँच्चै बलत्कृत गर्भवतीको पीडा छापूँ भनेँ
गलत पोस्टमार्टमको डाक्टरी रिपोर्टको समाचार लेखुँ भने
र छापूँ भने बाबु नखुट्टिएका ती केटाकेटीको अनुहार
जो सडकमा मैलो धैलो माग्दै कुदिरहेका थिए
मेरो दुवै हातका नङमा पीन ठोकेर रगतपच्छे बनाइयो
मैले छापुँ भनेँ
गाउमा भएको मल अभाव
बोर्डिङ स्कुलले बढाएको ढाड सेक्ने फि
छोराको फि तिर्न नसकेर
मलेसिया जादै गरेको मजदूरको अन्तरवार्ता
कुवेतबाट गर्भवती भएर फर्केकी युवतीको उथलपुथल
मैले छाप्न जोड गरे
संविधान सभामा गएको त्यो बलत्कारी सभासद्को बयोडाटा
मन्त्रीलाई केटी सप्लाई गर्ने
महिला अधिकारबादीको अनुहार
युवालाई लागू औषधको लती बनाउने त्यो धम्मरधुस प्रहरीको कर्तुत
मानव अधिकारका नाममा सुराकी गर्ने त्यो पत्रकारको जासुसी
बेरोजगारीको कुपोषणले ग्रस्त युवाजमातको निराशा
मेरो गल्ती यत्ति हो, मेरो गल्ती यत्ति हो
मैले कालोलाई कालो देखेँ
मैले सेतोलाई सेतो देखेँ
मैले भने,
'समाचार वौद्धिकतामा जहर मिसाइरहेछ
नष्ट गरिरहेछ मान्छेको संवेदना
बन्द गर यी अखबारहरु
बन्द गर बकबक बोलिरहने रेडियो÷टेलिभिजन
र बोल्न देऊ मान्छेलाई निस्फिक्री आफ्नो कुरा
जो पिल्सिएर बसेका छन् वर्षौँदेखि'
त्यसपछि मेरो मुख बन्द गरियो अचानक
No comments:
Post a Comment