Monday, December 24, 2012

घुम्ती छेलिएपछि




  • अनमोलमणि


घुम्ती छेलिएपछि
हरसाँझ
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

विर्सिदिनू विझाउने सम्बन्ध
सहरको भीरबाट मान्छेमान्छेको कहाली लाग्दो छाँगोमा
नजोड्नू खिइदै छिन्न लागेको सम्झनाको तार
जसमा बज्ने छैन कुनै मुच्र्छना
च्यातिदिनू तरंगको सिरसिरे हावामा
सिंहदरबारको राष्ट्रिय झण्डाजस्तो एकनास फरफराइरहने
ती पीडाका पर्दाहरु
र हेर्नु आकांक्षाको खुला आकाश
शीतल बतासको मुस्लोले छोयो भने त्यतिखेर
अनुभव गर्नू म तिम्रै छेउछाउ कतै उडिरहेको छु हावा भएर
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

तिम्रो अभावमा
लम्पसार अजिङ्गरजस्तो कालो सडकमा
हुन्हुनाएर कुद्ने गाडीजस्तै चिप्लिएँ भने म
हुस्सुको डोरी समातेर उठ्न सकुँला नसकुँला
सुसेली विनाको आवाजले पछारिएँ भने म
लोडसेडिङकोे पट्यार लाग्दो अध्यारो समयमा
नकहालिइ ब्यूझिन सकुँला नसकुँला
धमिराको देवलजस्तो चुचुरै चुचुरा वा खण्डै खण्ड पारेर मनलाई
तिम्रो नाममा समर्पण गर्न सकुँला नसकुँला
पानी सुक्दै गएको सहरको मैलो नदीजस्तो अल्छेलाग्दोगरी बगिरहेछु

Tuesday, December 11, 2012

पेज थ्री



  • अनमोलमणि


मेरो गल्ती यत्ति हो
मैले समाचार लेखेँ ती कुनाका मैला मान्छेका पक्षमा
जो समाचारमा कहिल्यै आएका थिएनन्
र, मेरो हातमा किला ठोकियो÷मेरो कलम भाचियो

मेरो गल्ती यत्ति हो
मैले पहिलो पृष्ठमा नग्न स्त्रीको कामुक देह छाप्न इन्कारेँ

Sunday, December 9, 2012

डिसेम्बरको जाडो



  • अनमोलमणि

तिम्रो सम्झनाको तातो बाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।

रातो गुलाफजस्तो तिम्रो यौवन
प्रेमपूर्ण स्पर्श
मसँग हाँस्ने ओठ
र रुने आँखाहरु थिए तिमीसँग,
एउटै मुटु थियो हामीसँग
जुन तिमीसँगै गएको छ
मलाइ विना मुटु पारेर,
यतिखेर बाँकी छ मसँग
ढोकाको कापमा सप्को अड्किएर छाडिएको
तिम्रो पछयौरीको सुगन्ध
सम्झनाको तातोले ओभाएका मेरा एकजोर आँखा
फुल्दै गरेको केश
चाउरिँदै गएको गाला
मक्किँदै र कमजोर बन्दै गएको
कुसुमको बुढो रुखजस्तो यो शरीर
जसलाई धावा बोलिरहेछ यो डिसेम्बरको जाडो ।

Thursday, November 22, 2012

प्रेमीहरूको पक्षमा

अनमोलमणि पौडेल

तिनको कसुर यति थियो, उनीहरू प्रेमीसित त्यहाँ आए । पशुपतिको एकान्तमा जोडी भएर बसे । कंक्रिट चिहानले उजाड बन्दै गएको श्लेषमान्तक हेर्दै सुन्दर र हराभरा भविष्यको कल्पना गरे । अल्छेलाग्दो गरी बगेको वाग्मती साक्षी राखेर प्रेमिकालाई अँगालो हाले । निधार, ओठ र गालामा प्रेम स्पर्श गरे । आँखामा आँखा गाडेर हेरे, जहाँबाट प्रेमीहरूलाई मुटुसम्म जाने बाटो पहिल्याउन सजिलो हुन्छ ।
तिनलाई लागेको अभियोग हो, पशुपतिनाथ साक्षी राखेर तिनले प्रेम प्रदर्शन गरे । त्यसका लागि एकान्त खोज्दै किरातेश्वर, श्लेषमान्तक र त्यस वरपरका देवलका खोपीमा ढेसिएर कमजोर र उराठ बन्दै गएको सहरी जीवनको दिक्दारीबाट एकछिन सुस्ताउन खोजे । सबै हिसाबले विघटनको संघारतिर लम्किँदै गरेको समाजले सिर्जेका प्रेमभोकलाई तिनले त्यो एकान्तमा पोख्न खोजे ।

Friday, April 6, 2012

सम्झनाको अटोग्राफ



साइन पेन र मार्करको नरम
निवले कोर्दा जीउमा अलिअलि कुत्कुति लाग्यो । केही असजिलो महसुस गरेर तिनले जीउ हल्का हल्लाएझैं गरे । बढीचाहि“ उनीहरुले त्यसलाई आनन्दले सहे । क्षणभरमै उनीहरुले लाएको सर्ट अनेक रंगका किरमिरे धर्साले पोतियो । र, तिनको जीउमा साथीभाइको सिग्नेचर ‘सुन्दर अटोग्राफ’ को सम्झना बनेर टा“सियो ।

यो घटना एसएलसी परीक्षाको अन्तिम दिन भएको थियो ।



Saturday, March 3, 2012

क्याम्पसका सग्ला झ्याल ढोका



आखाले हेरिनसक्नुको विशाल घर । सिंहमरमरले चिल्ला भित्ता । चौर, भ¥याङ, क्यान्टिन विद्यार्थीनै विद्यार्थीले भरिभराउ । सबैतिर शान्त । बाटो,  भवन, कोठा सफा चट् । तुल ब्यानर कतै टागिएको छैन । पोस्टर पम्प्लेटले कुनै भित्ता रंगिएका छैनन् । झ्यालका शीशा सग्ला छन् । कोठाका ढोका पनि सग्लै । हुलमुल तर सबै आआफ्नै सुरमा ।
२ नोभेम्बर २०११ । फुइफुइ चीसो सिरेटो चलेको मध्यान्ह । इडवर्ड आर मुरो फेलोसिपमा छानिएका दक्षिण एसियाका १३ पत्रकार ‘एरिजोना स्टेट युनिभर्सिटी’को ‘वाल्टर क्रोन्काइट स्कुल अफ जर्नालिज्म’ भवनमा ओर्लेका छन् । स्वागतमा छन् डा विल सिलकक र क्रिस्टि काप्स । एक साता क्रोन्काइट स्कुलको साथ रहने कुराले मन प्रफुल्लित छ ।

Saturday, February 25, 2012

निजी विद्यालय सञ्चालकको 'शक्ति’ दुरुपयोग

अनमोलमणि पौडेल


नेपालमा निजी विद्यालयको उपस्थिति थोरै तर 'शक्तिशाली' हुँदै गएको छ । राज्यका हरेक क्रियाकलापमा समेत चुनौती दिने गरी हावी निजीले शिक्षा सेवा शुल्क कर नतिर्ने घोषणा दोहोर्‍याएर 'चुनौती' लाई निरन्तरता दिएका छन् । निजी विद्यालयको एउटा संस्था 

-प्याब्सन) को एघारौं महाधिवेशनले चुनेको नेतृत्वले पहिलोपल्ट शुक्रबार गरेको पत्रकार सम्मेलनमा पनि आफ्नो कुराको थालनी त्यही '१ प्रतिशत कर' बाट गर्‍यो । 

'हामी १ प्रतिशत कर संकलन गरेर राज्यलाई बुझाउन तयार छैनौं,' प्याब्सनका नवनिर्वाचित अध्यक्ष बाबुराम पोखरेलले सञ्चारकर्मीसित भने, 'प्याब्सन यसको खारेजी माग गर्छ । त्यसका लागि अर्थ र शिक्षा मन्त्रालयले एउटा समिति बनाएर अध्ययन गर्ने तयारी गरिरहेका छन् ।' 

२०६५ मा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईका कार्यकालमा लागू ५ प्रतिशत शिक्षा सेवा करको विवाद पछिल्लो चार वर्षदेखि यथावत् छ । यसबीचमा प्याब्सनको नेतृत्व गरेका तथा अन्य निजी शिक्षण संस्था चलाउनेहरू आफू कर तिर्दै अरूलाई नतिर्न उक्साइरहेका छन् । 

प्याब्सनका यसअघिका दुई अध्यक्ष भोजबहादुर शाह र राजेश खड्काको कार्यकाल कर खारेजीको मुद्दामा बहस गर्दै बित्यो । कर लागू भएका बेला अध्यक्ष रहेका शाह र त्यसपछि नेतृत्व सम्हालेका खड्का दुवैले त्यसको चर्को आलोचना गरे । बार्गेनिङपछि राज्यले ५ बाट घटाएर करलाई १ बनायो । त्यसपछिका अर्थमन्त्रीहरूले पनि त्यसलाई औचित्यपूर्ण ठानेर हटाएनन् । निजी शिक्षण संस्था सञ्चालकबाहेक कर संकलनको विरोधमा अरू छैनन् । मनमा केही 'कालो' नहुने हो भने कर संकलन गरेर राज्यको स्रोत बढाउन उनीहरू डराउनुपर्ने अवस्था छैन । 

सरकारले उनीहरूसित थप कर लिन लागेको थिएन । निजीमा पढ्ने विद्यार्थीका अभिभावकसित लिने शुल्कमा १ प्रतिशत -पहिले ५ पछि १) कर संकलन गरेर बुझाउन आग्रह गरेको थियो । सयौं रुपैयाँ मासिक शुल्क, हजारौं रुपैयाँ भर्ना शुल्क, पाठ्यपुस्तक, पोसाक तथा अन्य सानातिना कुरामा पनि मोटो शुल्क तिरिरहेका अभिभावकका लागि राज्यलाई १ प्रतिशत कर तिर्नु ठूलो कुरा छैन । 'हामी बिचौलियाको काम गर्दैनौं,' निवर्तमान अध्यक्ष राजेश खड्काले भने, 'राज्यले निःशुल्क शिक्षा घोषणा गर्दै विद्यार्थीमाथि कर लिनु अपराध हो ।' १ प्रतिशत करलाई निजीले 'अपराध' देख्नु 'बिचौलिया' बन्न नचाहनुको भित्री कारणचाहिँ आफ्नो खास हिसाब बाहिर आउने डर नै हो ।

शिक्षा विश्लेषकहरूका शब्दमा सञ्चालकले विद्यार्थीमाथि देखाएको करमाथिको 'दया' हास्यास्पद छ । बर्सेनि शुल्क बढाएर, शिक्षक/कर्मचारीलाई तोकिएभन्दा कम तलब दिएर र विद्यार्थी विवरणभन्दा फरक आय देखाइरहेका उनीहरूले कर संकलन गर्दा वास्तविक हरहिसाब बाहिर आउँछ । जुन सञ्चालकहरू देखाउन चाहँदैनन् । राज्यले तोकेको काम गर्दिन भनेर राज्यलाई असहयोग गर्नु अपराध हो । सञ्चालकलाई व्ययभार नपर्ने गरी कर उठाइदेऊ भन्दा नमान्नुले उनीहरूको नियत के हो प्रस्ट पार्छ । बास्केट वा कुनै कक्षागत विद्यार्थीबाट रकम उठाउने कुरामा भने उनीहरू सकारात्मक छन् । उनीहरूको आपत्ति विद्यार्थीको टाउको गनेर लिने शुल्क र त्यसैअनुसार उठाइदिनुपर्ने १ प्रतिशतमा मात्रै छ । 

निजी विद्यालय सञ्चालक भने आफूहरूले आयमा २५ प्रतिशत र घरबहाललगायत कर तिरिरहेकाले १ प्रतिशत कर नउठाउने दाबी गर्छन् । यो सेवा सञ्चालन गरेबापत अनिवार्य तिर्नुपर्ने कर हो । यसलाई बहाना बनाएर उनीहरू वास्तविक हरहिसाब र आय लुकाउन खोज्दै छन् भन्ने प्रस्ट पार्छ । आयकर र घरबहाल कर तथा शिक्षा सेवा कर फरक विषय हुन् । राजधानीका ठूला भनिएका केही विद्यालयले कर बुझाएका पनि छन् । 

यसअघि निजी उच्च माविहरूकै अर्को संस्था 'हिसान'को अधिवेशनमा पनि १ प्रतिशत कर नतिर्ने घोषणापत्र जारी भएको थियो । प्याब्सनमै आवद्ध विद्यालय सञ्चालकहरू हिसानमा पनि पदाधिकारी छन् । प्याब्सनको पूर्वअध्यक्ष उमेश श्रेष्ठ त्यसको अध्यक्ष छन् भने अहिले अध्यक्ष निर्वाचित पोखरेल हिसानका वरिष्ठ उपाध्यक्ष 

हुन् । राज्यलाई असहयोग गर्ने निजी शिक्षण संस्थाको क्रियाकलापले उनीहरू 'बढ्ता हावी' हुँदै गएको प्रस्ट हुन्छ । निजीको दाबीअनुसार नेपालको शिक्षाको ३० प्रतिशत निजीले ओगटेको छ । देशको आर्थिक सर्वेक्षण हेर्ने हो भने उनीहरूको दाबी पनि हावादारी छ । 

आर्थिक सर्वेक्षणअनुसार विद्यालय तहमा १७ प्रतिशत र उच्च मावि तहमा १३ प्रतिशत निजीको सहभागिता छ । आम नागरिकको ठूलो हिस्सा अहिले पनि सामुदायिककै भरमा छ । कमजोर राज्य र उसको बेवास्ताका कारण साख गुमाउँदै गएका सामुदायिक निजीका अघिल्तिर कमजोर सावित भएका छन् राज्यमाथि निजी हावी हुन खोजेको छ । उनीहरूको 'दादागिरी' लाई राज्यले आवश्यकभन्दा बढी 'स्पेस' 

दिएको देखिन्छ । 

'निजी विद्यालय सञ्चालकले अर्बौं रुपैयाँ बिदेसिनबाट जोगाएका छन् । हजारौं विद्यार्थीले छात्रवृत्ति तथा सहज रूपमा निजीमा पढ्ने अवसर पाएका छन् । राज्यले त्यसको मूल्यांकन गरेको छैन,' प्याब्सनका वरिष्ठ सल्लाहकार उमेश श्रेष्ठ भन्छन्, '१ प्रतिशत कर उठाएन भनेर निजीलाई गाली गर्नुको अर्थ छैन ।' 

पुँजी पलायन मदिरा र सुर्तीजन्य सामग्री उत्पादकले पनि रोकेका छन् । यदि स्वदेशमा त्यसको उत्पादन नहुने हो भने विदेशबाट निर्यात गर्नुपर्छ र पुँजी पलायन हुन्छ । एकजना शिक्षाविद् भन्छन्, 'पुँजी पलायन रोक्नेलाई कर नउठाउने वा बिचौलिया नबनाउने नाममा तिनको जिम्मेवारी पनि खारेज गर्ने ?' 

प्याब्सनको नयाँ नेतृत्वले कर खारेजीलाई प्राथमिकतामा राखेर राज्यलाई चुनौती दिने काम थालेको छ ।