Saturday, March 3, 2012

क्याम्पसका सग्ला झ्याल ढोका



आखाले हेरिनसक्नुको विशाल घर । सिंहमरमरले चिल्ला भित्ता । चौर, भ¥याङ, क्यान्टिन विद्यार्थीनै विद्यार्थीले भरिभराउ । सबैतिर शान्त । बाटो,  भवन, कोठा सफा चट् । तुल ब्यानर कतै टागिएको छैन । पोस्टर पम्प्लेटले कुनै भित्ता रंगिएका छैनन् । झ्यालका शीशा सग्ला छन् । कोठाका ढोका पनि सग्लै । हुलमुल तर सबै आआफ्नै सुरमा ।
२ नोभेम्बर २०११ । फुइफुइ चीसो सिरेटो चलेको मध्यान्ह । इडवर्ड आर मुरो फेलोसिपमा छानिएका दक्षिण एसियाका १३ पत्रकार ‘एरिजोना स्टेट युनिभर्सिटी’को ‘वाल्टर क्रोन्काइट स्कुल अफ जर्नालिज्म’ भवनमा ओर्लेका छन् । स्वागतमा छन् डा विल सिलकक र क्रिस्टि काप्स । एक साता क्रोन्काइट स्कुलको साथ रहने कुराले मन प्रफुल्लित छ ।




पत्रकारिताको कक्षा चलिरहेको छ । धर्के सर्टमा कालो कोट र रातो टाइ लगाएका शिक्षक कक्षा लिइरहेका छन् । विद्यार्थी शान्त भएर उनको प्रवचन सुनिरहेका छन् । प्रोजेक्टरमा देखाएर शिक्षक विषय अथ्याइरहेछन् । विद्यार्थी ल्यापटपमा त्यसलाई नोट गर्दैछन् । इन्टरनेट चलाएर तत्काल नया कुरा सर्च गरिरहेका छन् । त्यहा खुइलिदै गएको प्रचीन कालोपाटी छैन । धुलोका मसिना चक्काहरु निकाल्ने चक छैन । डस्टर छैन । विशाल चिल्लो भित्तो छ । भित्तँेमा कम्प्युटरका अक्षर नाचेका छन् । सिद्धान्तका कुरा त्यही छन् । व्यवहारका कुरा पनि त्यही छन्  ।
बन्द ढोकाको शीशाबाट कक्षा चियाउदै हामी ज्यानदार क्रिस्टिलाई पच्छ्याउदै छौं ।





‘यो टेलिभिजनको प्रयोगात्मक कक्षा’, क्रिस्टिले भनिन्, ‘हाम्रा विद्यार्थी यही प्रयोगात्मक अभ्यास गर्छन् ।’ अमेरिकामा पत्रकारिता सुरु भएको चौधौ शताब्दीमै हो । त्यस हिसबले पनि हुन सक्छ, क्याम्पसको प्रयोगात्मक कक्षा देखेर म टोलाउछु । नेपालका व्यवसायिक टेलिभिजनको भन्दा विशाल स्टुडियो । उस्तै उपकरण । उपकरण विद्यार्थीनै चलाउछन् । कार्यक्रम विद्यार्थीनै उत्पादान गर्छन् । प्रस्तुती गर्ने पनि विद्यार्थीकै समूह छ । फरक फरक सम्पादन कक्ष । विद्यार्थीका सहयोगी शिक्षकका लागि छुट्टै कोठा । कक्षामात्रै लिने शिक्षकलाई फरक कोठा । रिपोर्टिंग गर्ने विद्यार्थीलाई सुविधा । ती विद्यार्थी पत्रकारको परिचय बोकेर रिपोर्टिंगका लागि फिनिक्स सहर बत्तिरहेका हुन्छन् । डा विलले हामीलाई सम्झाए, ‘यहा राम्रो गर्नेहरुलाई व्यवसायिक टीभीले बोलाउछन् । कतिले स्वतन्त्र रुपमा आफ्ना रिपो्र्टिङ बेचेका छन् र व्यवसायिक पत्रकारिता सुरु गरेका छन् ।’
छन त वातानुकुलित कोठा छ । पढ्नलाई कोठानै किन चाहियो ?  विद्यार्थी आफ्ना झोला भित्तामा अड्याएर बरन्डामै बसेका छन् । काखमा पुन्टे ल्यापटप राखेर औंला चलाएका छन् । तिनलाई आफ्नो ‘एसाइनमेन्ट’ सक्ने हतारो छ । पुस्तकालायमा घोत्लेका छन् । छेउमा पानीको बोत्तल, स्यान्डविचको पकेट र एक गिलास कोक राखेर आखा किताबमा, नेटमा र विषयवस्तुमै कुदाइरहेका छन् । खुटटा पसारेर, तिघ्रामा ल्यापटप अड्याएर एक टकले शिक्षकसित बहस गरिरहेका छन् । आफ्ना सहमति वा असहमतिलाई खुलस्त राखिरहेका छन् । त्यहा शिक्षकसित कुनै त्रास वा संकोच छैन ।
शिक्षकको प्रवचन पनि चलेकै छ । कुनै कोठामा थोरै विद्यार्थी छन् । कतै विद्यार्थीको समूह ठूलो छ । शिक्षकको प्रवचन क्यान्टिनमा खाजा खादा पनि मजाले हेर्न र सुन्न सकिन्छ । त्यसका लागि भित्ताभरिको टिभी स्क्रिन राखिएको छ । शिक्षकको प्रवचन सुन्न कक्षा जानै नपर्ने । भित्ताको ठूलो स्क्रिन हेरेर तिनले पत्ता लगाउछन्, आज के पढाइ भएको छ । के पढाइ हुदैछ ।
हम्फ्रे फेलोसिपमा पढिरहेका अफ्रिकाकी टाटी निलेङ्गे, इजिप्टकी मोना ताहा, पाकिस्तानकी रब्सना त्यही भेटिएका थिए । तिनले अनुभव सुनाए, ‘राजनीतिक बन्द हड्ताल केही हुन्न । विद्यार्थी काउन्सिल छ, त्यसले विद्यार्थीका समस्या पहिल्याउछ । सबैसित सिकाइको भोक छ । नपढी, आफैले एसाइनमेन्ट नसकी धरै छैन । त्यति नगरे नया कुरा सिक्नै सकिन्न ।’
एक साझ क्रिस्टिले सोधिन्,  ‘तिम्रो देशमा पनि पत्रकारिता पढाइ हुन्छ ? कस्तो छ पढाइ ?
अनि मैले सम्झे आफूले पढेको देशको जेठो त्रिभुवन विश्वविद्यलायका क्याम्पस र तिनका कक्षाकोठा ।





झण्डै डेढ दशकअघिको साउन अन्तिम साता । मेरो हातमा थियो एसएलसी पास भएको मार्कसिट । महेन्द्र मावि छतिवनले दिएको  ‘जेहनदार र मेहनती विद्यार्थी’को चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलिदै गएको आकाशे रंगको सर्ट, गाढा नीलो रंगको हाप पाइन्ट र गास्दा गास्दा गास्ने ठाउ सकिदै गएको पुरानो एक जोर हात्ती छाप चप्पल ।
मलाई अहिले पनि पूरापूर याद छ, भृकुटीमण्डपको आरआर क्याम्पस छिरेको पहिलो दिन । पाप्रा उप्किदै गएको क्याम्पसको भित्तो । अनेक नारा लेखिएका तुल ब्यानर र पोस्टर । विद्यार्थी संगठनका झण्डै झण्डा । ‘क्याम्पस’ छिरेको मेरो मन त्यो दिन एकतमासले ढुकढुकिएको थियो ।
त्यसपछि मैले आरआरको खुट्टी भाच्चिएको बेन्चीमा बसेर रातीको कक्षा पढे“ । दिनभर सहरमा मजदुरी गरेर साझ कक्षा पुग्दा बस्ने ठाउ कहिल्यै भेटिएन । झा्यालमा टेकेर मास्टरले बोलेको सुने । बरन्डामा बसेर, ढोकाबाट मुन्टोमात्रै भित्र छिराएर, कुनामा चेपिएर ठसठसी हुदै कक्षा लिए । यसरी कक्षा लिने मजस्ता सयौं थिए । अझ हजारौं । विशेषगरी नेपाली र अंग्रैजीको कक्षा । अक्षर नदेखिने गरी खुइलिदै गएको ब्ल्याक बोर्ड । मधुरो लेख्ने चक । भासिदै गएको र पछाडि बेन्चमा बस्नेले नसुन्ने शिक्षकको आवाज । मैले पढेको क्याम्पस यस्तो थियो, अहिले पनि त्यस्तै छ । ‘प्रोपफेसर’हरु वर्षौं अघिको धुजा धुजा डायरी लिएर हिजो मलाई जसरी पढाउथे आज पनि त्यसैगरी पढाइरहेछन् । पढाइको तरिका रत्ति सुध्रेको छैन ।
हामीसित ल्यापटप कक्षामा लाने ल्याकत छैन, क्यामपसको अवस्था पनि त्यस्तो छैन । एसाइन्मेन्ट भन्दा हाम्रा लागि गेस पेपरनै प्रिय छ । शिक्षकसित तर्क गर्न विद्यार्थी डराइरहेछन् । कोर्सबाहिरबाट प्रश्न आयो भनेर विद्यार्थी परीक्षा बहिस्कार गर्छन् । क्यामपसका विद्यार्थी संगठन परीक्षा विथोल्छन् र हजारौं विद्यार्थीको भविष्यमाथि बुट बजार्छन् । विश्वविद्यालयमा आगो झोस्छन् र बहादुरी देखाउछन् । धन्य हाम्रा शिक्षक । धन्य हामी विद्यार्थी ।
हाम्रा कक्षा कोठा गर्मीमा पसिनाले निथु्रक्क हुने र जाडोमा सिरेटोले लुगलुग कमाउने खालको छ । फोहोर कहिल्यै सफा हुदैन । पत्रकारिता विभागलाई त विश्वविद्यलयले कहिल्यै प्राथमिकतामा राखेको छैन । आरआरको उही पुरानो कोठामा,  पाप्रा उप्किएका पुराना दराजले छेलेर पत्रकारिताका विभागीय प्रमुखको कुर्सी छ । कोठामा छिर्दा थेसिस र विद्यार्थीका फारमका पोकाले प्रमुखको अनुहार छेलिन्छ । अन्य विश्वविद्यालयको पत्रकारिता विभागको हविगत पनि त्यस्तो गतिलो छैन ।
मैले क्रिस्टिलाई भन्न सकिन, औपचारिक रुपमा चार दशकअघिबाट मिडिया एजुकेशन सुरु गरेको मेरो विश्वविद्यालयको पत्रकारिता विभाग फुस्रो न फुस्रो र धूलैमैलो छ भनेर । मैले तिनलाई यति भने“, ‘मेरो पत्रकारिता क्याम्पसमा टिभी छैन, रेडियो स्टेशन छ । यति सुविधा सम्पन्न त छैन तर नेपालमा भएमध्येको सम्पन्न र राम्रो छ ।’
क्रिस्टि काप्सले मेरो कुरा पत्याइ कि पत्याइन कुन्नि ?

No comments: