Sunday, November 17, 2013

प्रेम विरुद्ध


डढेका कंकालहरु मात्र भेटियो साँझमा
झर्नै नसक्नेगरी जमेका आँशुहरु सम्हालेर 
प्रेमीहरु प्रश्न गरिरहेछन् छेउमा—
‘ऊ हिन्दू, इसाइ, मुसलमान केही होइन
सत्य धरोधर्म ऊ कुनै पार्टीको सदस्य होइन
अब भन कुन हो मेरो प्रेमीको लास ?’

पढाइ सकेर विद्यालयबाट फर्किँदै गरेको एउटा केटो
बाटो वीचमा रोकेर गुरुलाई भनिरहेछ—
‘सर, कहीँ नपड्कियोस् बम र बारुदी सुरुङ
कसैले नचलाओस् भरुवा बन्दुक 
खिया लागेको पेस्तोल र भुत्ते तरबार
मेरा आफन्त फर्केका छैनन् यो झम्के साँझसम्म
मेलापात र घाँस दाउराबाट
र मैले पूरा गर्नुछ आजको गृहकार्य,

Saturday, October 5, 2013

शारदाको सान

शारदा शर्मालाई कसैले साहित्य लेख भनेको थिएन । कविता, कथा, निबन्ध, समालोचना, उपन्यास र अखबारी लेखन थाल्दा उनीसित चर्चित हुने सपना थिएन । बिना कसैको करबल आफ्नो मनमौजी लेखन थालेकी थिइन् । पछिल्लो तीन दशकदेखि निरन्तर उनी लेखकको हस्तक्षेपकारी भूमिकामा छिन् । लेखनका कारण सधैं चर्चामा रहने उनको नाम यसपटक तीन मुख्य कारण थप चर्चामा छ । पहिलो, उनको उपन्यास 'ताप' ले प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको छ जसको राशि २ लाख रुपैयाँ छ । दोस्रो, 'ताप' ले मदन पुरस्कार पाउने हल्ला हल्लामै सीमित भएको छ । र, तेस्रो श्रीमान् नरहरि आचार्य मंसिरमा हुने संविधानसभा चुनावमा फेरि उम्मेदवार भएका छन् ।

'जसले गरेको भए पनि मदन पुरस्कारको गलत चर्चा मेरो नाम र पुस्तकमाथि भएको खेलबाड हो,' श्रीमान् आचार्य उम्मेदवारी दर्ताका लागि जानुअघि बिहीबार कार्यकर्ताले निकालेको जुलुसमा सामेल भएर फर्केकी उनले भनिन्, 'मैले कहिल्यै पुरस्कारका लागि लेखिनँ । पुरस्कार संयोग हो, लेख्नु मेरो आदत हो । मलाई लाग्छ, कुनै पनि गम्भीर लेखक पुरस्कारका लागि लेख्दैनन् ।' खास लेखक आफ्नो गुणवत्ता र मेहनत कम नगरी पुरस्कार नपाए पनि लेखिरहन्छ । शारदा शर्मालाई पनि के लाग्छ भने पाठकको प्रतिक्रिया जतिको ठूलो पुरस्कार एउटा लेखकका लागि संसारमा अरू केही छैन ।

लेखन कसरी सुरु भयो, उनलाई ठ्याक्कै हेक्का छैन । ८ वर्षको छँदा कविता लेखिन् । त्यसपछि जीवनसित जोडिने हरेक कुरालाई उनले सिर्जनात्मक आँखाले हेरिन् । जसले उनलाई जीवन बुझ्न सघायो । हरेक लेखनमा उनको दृष्टिकोण अरूको भन्दा फरक भएर आउन थाल्यो । शैलीमा नयाँपन देखियो । सुरुमा कवि भएर चिनिइन् । त्यसपछि निबन्धकार, कथाकार । समसामयिक विषयमा लेख्ने अखबारी स्तम्भकार र पछिल्लोपल्ट उपन्यासकारका रूपमा उनी पाठकमाझ छाइरहेकी छन् । यही बीचमा उनका ८ वटा किताब छापिएका छन् । र, हरेक पुस्तकले उनलाई एक न एक रूपमा चर्चाकै केन्द्रमा राखेको छ । 'कविता भावनात्मक आवेग हो । एउटा कवितामा मनमा आएजति सबै कुरा अटाउन सकिन्न । निर्बन्ध रूपमा आफ्ना प्रस्ट अनुभूतिहरू पोख्न म निबन्ध, कथा र उपन्यास लेख्छु,' उनले भनिन्, 'लेखेर कुनै कुरा लेखेपछि म आफूलाई हलुङ्गो र आनन्दित अनुभव गर्छु । आनन्दित हुनुभन्दा ठूलो कुरा अर्को के हुन्छ ?'

Friday, August 16, 2013

साउनको अन्तिम दिन

  •  अनमोलमणि
त्यसै गरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रातरातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रैजस्ता केहीछायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती।

Tuesday, August 13, 2013

विवाहेत्तर सम्बन्धका दुष्परिणाम

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ ।
यौन, अपराध र परिवार विखण्डन
  • अनमोलमणि
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया 
नचाहँदा(नचाहँदै छुट्यो हाम्रो माया 
अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको

सम्बन्ध टुक्रिनका कारण पहिल्याउन गीतकार राजुबाबु श्रेष्ठका यी शब्द काफी छन् । हरि लम्सालको संगीतमा मनोजराजले यी शब्द गाउँदा संयोग कस्तो परेको थियो भने गायिका श्रीमती अन्जु पन्तसित भर्खर(भर्खर उनको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको सम्बन्धविच्छेदको कारण थियो, विवाहेत्तर सम्बन्धको शंका । दुवैले दुवैलाई गरेको शंकाले संगीत बजारमा जमेको एउटा जोडी टुक्रियो । गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ुविवाहेत्तरको सम्बन्धले समाजमा श्रीमान्(श्रीमतीको कसिलो प्रेम पानीको फोकाजस्तो नचाहँदा(नचाहँदै फुटिरहेको छ ।ु २५ हजारले सीआरबीटी प्रयोग गरेको र करिब २ लाखले फेसबुक पेजमा मनपराएको यही गीतको भावजस्तै कहिल्यै नटुट्लान् भन्ने ठानिएका सम्बन्धहरू विवाहेत्तर सम्बन्धका कारण फेरि नजोडिनेगरी टुक्रेका छन् । कतिले आत्महत्या गरेर अमूल्य जीवन सकेका छन् । कति आपराधिक क्रियाकलापमा लागेर जेल जीवन बिताइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमडौंका डीएसपी वसन्त थापाले १५ कात्तिकमा आत्महत्या गर्नुको कारण पनि विवाहेत्तर सम्बन्ध नै भएको अनुसन्धानले देखायो । थापाको आत्महत्या खबर आएपछि प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी जवान प्रमिला भट्टराईले पनि त्यही बाटो रोजिन् । घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार, विवाहित थापा र अविवाहित भट्टराई बीचको घनिष्ट सम्बन्धले दुवैलाई मृत्युको मुखमा पुर्‍यायो । भन्छन्, गुपचुप सम्बन्धबारे परिवारको चियो र सम्बन्ध सार्वजनिक हुने भयले दुवैले आत्महत्या रोजेको देखिन्छ ।

 केही हप्ताअघि राष्ट्रिय महिला आयोगमा आएको एउटा उजुरी यस्तो थियो, मेरा श्रीमान् बाहिर अर्की केटी लिएर हिंँड्छन् । घर कम आउँछन् । दुई बच्चा र मेरो वास्ता गर्दैनन् । उनलाई सम्झाइ(बुझाइ मेरो परिवारको खुसी फिर्ता ल्याइदिनुपर्‍यो । आयोगले दुवैलाई झिकाएर सम्झायो ।

३ वर्ष कतार बसेर फर्केका पर्वतका दीपक चापागाईंकी श्रीमती मन्जु उनी आएको महिना नपुग्दै २ छोरीलाई अलपत्र छाडेर भिनाजू नाता पर्ने राजु पौडलसित भागिन् । गत असार ३१ मा म्याग्दीको बेनीमा भएको उक्त घटनापछि दीपक अहिले मानसिक रूपमै विक्षिप्त छन् । पोइल जाँदा श्रीमतीले लगेको ३ तोला गहना र १७ हजार रुपैयाँ उनका लागि ठूलो विषय भएन, समाज र परिवारमा उनीबारे हुने टिप्पणीले दुःखी बनाएको छ ।

धेरैलाई लाग्दो हो, श्रीमान्(श्रीमतीको सम्बन्ध भनेको नितान्त व्यक्तिगत कुरा हो । हुन पनि श्रीमान्(श्रीमती सबैभन्दा नजिकका साथी हुन् । सुखमा सँगै हाँस्ने, दुःखमा सँगै रुने र समस्यामा मिलेर त्यसलाई परास्त गर्ने आदर्श यी दुई साथीले बोकेका हुन्छन् । तर पछिल्लो समय लोग्ने(स्वास्नीबीचको यो आदर्श क्षय हुँदै गएको छ । जीवनभर सँगै बाँच्ने वाचाबन्धन गरेकाहरू सधैंलाई छुट्टनिे बाटोमा अग्रसर छन् ।


केहीअघि लक्ष्मीपूजाको अघिल्लो दिन काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्धविच्छेदका ३ वटा मुद्दामा बहस भयो भने गतसाता झन्डै ७ वटा यस्ता मुद्दामा बहस भयो । अदालतले सकेसम्म मिलाउने तर केही सीप नलागे मात्रै सम्बन्धविच्छेदको अन्तिम फैसला गर्ने गरेको छ ।

अपराधको स्रोत

घरमा श्रीमान् वा श्रीमती हुँदाहँुदै बाहिर मन डुलाउनेहरूले दाम्पत्य जीवनमात्रै धरापमा पारेका छैनन्, आफैं आपराधिक क्रियाकलापमा समेत मुछिएका छन् । कतिले पदरप्रतिष्ठा गुमाएका छन् । यस्तै सम्बन्धका कारण सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइराला श्रीमती हत्या अभियोगमा अहिले जेलमा छन् । महाबौद्धमा रेस्टुरेन्ट चलाउने एक महिलाले भाइ बनाएका व्यक्तिसँगको सम्बन्धका कारण श्रीमान्को हत्या गरिन् । हत्याले उनको इच्छा पूरा भएन, बरु योजना नै चकनाचुर भयो ।

Saturday, August 10, 2013

त्यो महेन्द्र माला

कक्षा ९ र १०मा दुई दशक पढाइ भएको महेन्द्रमालाको नियात्रा घनघस्याको उकालो काट्दा हजारौं लाखौले पढे । पाठ्यपुस्तक लेखेवापत ताना सर्माले चाहि एक पैसो रोयल्टी पाएनन् ।

  • अनमोलमणि

चीसो बढ्दै गएको पुसको एउटा मध्यान्ह भेट्दा उनी सरस्वती नगरको घरनं ५०५ मा भाषा बारे कार्यपत्र लेख्दै थिए । भीडभाड र होहल्लावीच पनि म शान्तसित बसेको छु, कपन जादा गोपिकृण सिनेमा हललाई देब्रे परेर ठडिएको घरमा उनले भने, यहा घर र सडक यसरी बढ्यो, पाच वर्ष अमेरिकाबसेर आउदा मैले झन्डै आफ्नै घर भुलेको । ३४ वर्षको उमेरमा २०२४ सालमा घनघस्याको उकालो काटेका ताना सर्मा यतिखेर घरको पहिलो तल्लामा गफिइरहेका थए ।

घनघस्याको यात्रा यति लोकप्रिय होला भन्ने उनलाई लागेकै थिएन । उनको यात्राले एउटा गुमनाम ठाउ सेलिब्रिटीझै एकाएक चर्चामा आएको थियो । त्यसपछि कयौंले घनघस्यामा पाइला टेके । कयौंले त्यसबारे लेखे । यो नियात्राको सप्रसंग व्याख्या गरेर कतिले विद्यालय तह सके । कतिका लागि त्यो व्याख्या घनघस्याजस्तै चढ्नै नसक्ने अक्करे उकालो भयो । आखिर त्रिचालीस वर्षअघिको सर्माको त्यो यात्रा नेपाली साहित्यमा किन सदाबहार चर्चामा रहन्छ ?


‘हजारौ लाखौ विद्यार्थीले यसलाई पढेका छन्’, उनले कारण खोले, ‘यसमा एउटा जीवन छ । यात्राको रोचक वर्णन छ ।’ यदि २०४० सालदेखि निरन्तर २० वर्ष कक्षा ९ र १० को पाठ्यपुस्तकमा नसमेटिएको भए यो नियात्राको चर्चा यति धेरै हुन्थ्यो होला ? ‘भन्न सकिन्न’, झर्रोवादी आन्दोलनका सर्मा दाहिने हातले मुख छोपेर एकछिन गमे, ‘यस्सै भन्न सकिन्न ।’

दोहोरीमा परदेश पीडा

  • अनमोलमणि
कुनै बेला यस्तो थियो, झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत सुनेर भक्कानिने धेरै थिए । परदेशिएको ‘लाहुरे’ श्रीमान्, छोरो, भाइ र आफन्तको दुख समेटिएको त्यो गीत सारंगीमा रेटि“दा मन भारी बनाएर आ“खा पिलपिल पार्थे । त्यति बेलाको वैदेशिक रोजगारी भारत वा वेलायती सेनामा हुने भर्ना थियो । ती ‘लाहुरे’ गनिन्थे । वर्षौमा घर फिर्थे । प्रियजन र आफन्त भेट्थे, दुख सुनाउ“थे । लडाइमा कहा“ परिन्छ पत्तो थिएन । तिनै अनुभूति गीतमा समेटिएका थिए ।
अहिले पनि पारिवारिक खुसी र आर्थिक उन्नतीका लागि विदेशिनु पर्ने बाध्यता बदलिएको छैन । स्वदेशमा घट्दो अवसरले वैदेशिक रोजगारीमा जाने दिनदिनै बढेका छन् । कुल जनसंख्याको ६५ प्रतिशत गरिब नेपालीको सजिलो गन्तव्य बनेको छ खाडी मुलुक । सरकारी तथ्याङ्क अनुसार यसरी सस्तो श्रम गर्न जानेको संख्या दैनिक ७ सयको हाराहारीमा छ । कतारमामात्रै यो संख्या ३ लाखभन्दा बढी छ । मलेसिया, इराक, युएइ, दुवइ, कुबेत लगायत देशमा गरेर सस्तो श्रममा गएका नेपाली करिब १५ लाख छन् । त्यसमध्येका ३० प्रतिशत अत्यन्त जोखिमको काममा छन् । वैध वा अवैध रुपमा त्यहा पुगेका नेपालीको जीवन सुखी छैन, ‘रण है प¥यो भन्दिए’ शैलीकै दुखिया दैनिकी छ ।

अहिले चल्तीका केही दोहोरी गीतमा वैदेशिक रोजगारीका तिनै पीडा समेटिएका छन् । कान्तिपुर एफएमका लाइबे्ररियन विष्णु वस्नेतका शब्दमा यस्ता लोक दोहोरीमा विदेश बस्नेको पीडा, घरको सम्झना, आफन्तको माया, प्रेमी, पे्रमिका वा श्रीमतीको झझल्को समेटिएको पाइन्छ ।
‘धेरै नेपाली कतार मलेसिया जाने भएर होला क्यासेटको नाम र गीत पनि त्यस्तै भावका छन्’, उनी भन्छन्, ‘घर परिवार र श्रीमतिको सम्झना तथा त्यहा काम गर्दाको दुख अनुभवका गीत धेरै छन् । केही गीत हङकङबारे र केही गीत अमेरिकाका बारेमा पनि आएका छन् । एक दुई बाहेक कतार मलेसियाजति तिनको चल्ती छैन ।’ यस्ता भाव समेटिएका करिब एक दर्जन गीत धेरैले रुचाएका छन् । बाकी क्यासेटमै सीमित । 
चल्तीमा रहेमध्येको एउटा हो ‘लाको छैन फर्की आउ“ला’ एलबममा ऋषि अधिकारी र बीमा कुमारी दुराले गाएको इराकको त्रासदी सम्झाउने भावको गीतः
सद्दाम हुसेन जन्मेको गाउमै छु
बाह« जना मारेको ठाउमै छु
लाको छैन फर्की आउ“ला झै“
सानु तिम्रो मुख देख्न पाउला झै
सुख दुख गरिखाउला झै
...................
राम्रै ठाउ“ हो भन्थ्यौ नि पहिले त
किन त्यस्तो बोल्छौ नि अहिले त
म बा“चुला कसलाई हेरेर
२०६२ भदौ १६ पछि यो गीत निकै चर्चामा रह्यो अहिले पनि बजिरहन्छ । यसले नेपालीको दुर्दान्त कथालाई जिवित तुल्याइदिन्छ । अहिले पनि क्यासेट बिकीरहेकै छ । त्यसपछि आएका क्यासेट ‘तातो हावा चल्छ सरर’, ‘फर्क जहाज चढी’, ‘मलेसिया साउदी कतार’, ‘चीठी आउदैन’, ‘नजाउ विदेश’, ‘मेरो माया मलेसियाको’, ‘बा“चे आउ“छु जन्मेको गाउघर’ चल्ती मध्येका एलबम हुन् ।

Saturday, August 3, 2013

कथा/जेब्राक्रसमा उभिएर

   म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई ।
      लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो ।
             यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ याद भएन । त्यो भेट भनौं वा देखादेखमात्र थियो ।
              म उभिएको पछिल्तिर पुस्तकपसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि असुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए, र त्यसभन्दा माथि खुला आकास घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकासमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकासले छोपिएको थिएँ ।
            बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए ।
            बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र र स्कर्टका फेरहरू समातेर केही युवती पारिपट्टी अर्को सडक छिचोल्दै, सम्हालिएर किनारै किनार हिँडिरहेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन !
        मेरै लहरमा उभिएका युवाहरू हावाको बेगसँगै कुतकुतिए कि भन्ने ठानेर पनि मैले उनीहरूको अनुहारमा हेरिनँ ।
           बरु झिमझिम गरिराख्ने मेरा आँखाहरू आधा चिम्लिएर आफूलाई बुद्धझैं अर्धस्मित राखेँ ।
          जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन ।
              तेस्रो पटक भेट हुँदा थाहा भयो ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परिचय भयो । नाम बताई, सिन्थिया । बालुवाझैं कहिल्यै नबाटिने र फुस्किरहने  जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैं उदास देख्थेँ ।
          ऊ विस्तारै मसँग नजिकिई । कम हाँस्थी ।
             एक दिन कफिगफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, 'मैले खोज्नु छ सर, धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएको छु । आफैंलाई हराएको छु ।' मेरा लागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।
         त्यसपछि ऊ निकै दिन हराई ।
         'कहाँ गएकी थियौ,' भेटपछि क्याम्पस गेटमै मैले सोधेको थिएँ, 'निकै दिन हरायौ नि ।'
           'त्यतिकै सर, आफ्नै काममा हिँडेकी थिएँ, तर यसपटक काम हुन सकेन,' उसले यत्ति भनी ।
   'मैले गर्न सक्ने सहयोग केही छ ?'