हामी छिर्दा मिस चेन यान अंग्रेजी कक्षाको तयारीमा थिइन् । मध्यान्तरमा निस्केका विद्यार्थी कक्षामा आइसकेका थिएनन् । खाली समयको सदुपयोग गर्दै पाठ योजनाको पावर प्वाइन्ट प्रेजेन्टेसन तयारी चल्दै थियो । विद्यार्थी हस्यांग फस्यांग गर्दै कक्षा पस्दै थिए । टेबुलमै अड्काएर राखिएको आफ्नो सानो मेच निकालेर बसेका करिब ४० विद्यर्थी हेर्दै उनले भनिन्, ‘सबै बसिसक्यौ ? अब हामी पढ्न सुरु गरौं ?’ अप्ठेरो जस्तो सुनिने चीनिया शैलीको अंग्रेजी उच्चाण कक्षामा एकसाथ गुन्जियो, ‘हुन्छ मिस, हामी तयार छौं ।’ त्यसपछि सुरु भयो चेन यानको अंग्रेजी कक्षा ।
यो २८ नोभेम्बर २०१२ को कुरा । ‘एक्काइसौं शताब्दीका लागि नेतृत्वदायी शिक्षा’ नामको अन्तराष्टिय शैक्षिक सम्मेलनको अन्तिम दिन । चीनको राजधानी बेइजिंगको रितन हाइस्कुल । कान चीसो पार्ने गरी सडकमा एक तमासको स्यांठ छ । झण्डै हाम्रो रंगाशाला सम्झाउने विशाल चौर घेरेर धम्रधुस बसेको सरकारी विद्यालयभित्र हामी छिरेका छौं । सफा र फराकिलो कक्षा कोठा । चिरिच्याट्ट राखिएका डेस्क बेन्च । भित्तामा खरीपाटी थिएन । शिक्ष्ँकको हातमा ज्यानै धूलाम्मे बनाउने चकडस्टर थिएन । कमजोर विद्यार्थीलाई दुई चार स्वांठ दिन शिक्षकले सिर्कनो पनि बोकेका थिएनन् । हरेक कक्षा कोठा वातानुकुलित थियो । भित्तामा विद्युतीय गतिमा चल्ने बडेमाको सेतो पर्दा झुन्डिएको थियो । कक्षाको सिरानमा पावर प्वाइन्टप्रजेन्टेशनका लागि अड्याइएको प्रकाश । सुविधा हेर्दा लाग्थ्यो यो विद्यालय होइन, कुनै सभा हल हो । मध्यम कदकी गोरी चेन यानका खिरिला औंलाहरु सानो ल्यापटपमा चलिरहेका थिए । उनका चनाखा आखाले विद्यार्थीलाई पनि त्यतिकै ध्यान दिइरहेका थिए । अंग्रेजी कक्षा भएर हो कि विद्यार्थीको कक्षामा प्रस्तुत भएको शैली चाहि निकै बोदो थियो ।