Saturday, February 19, 2011

प्रेमीहरूको पक्षमा


तिनको कसुर यति थियो, उनीहरू प्रेमीसित त्यहाँ आए । पशुपतिको एकान्तमा जोडी भएर बसे । कंक्रिट चिहानले उजाड बन्दै गएको श्लेषमान्तक हेर्दै सुन्दर र हराभरा भविष्यको कल्पना गरे । अल्छेलाग्दो गरी बगेको वाग्मती साक्षी राखेर प्रेमिकालाई अँगालो हाले । निधार, ओठ र गालामा प्रेम स्पर्श गरे । आँखामा आँखा गाडेर हेरे, जहाँबाट प्रेमीहरूलाई मुटुसम्म जाने बाटो पहिल्याउन सजिलो हुन्छ ।

तिनलाई लागेको अभियोग हो, पशुपतिनाथ साक्षी राखेर तिनले प्रेम प्रदर्शन गरे । त्यसका लागि एकान्त खोज्दै किरातेश्वर, श्लेषमान्तक र त्यस वरपरका देवलका खोपीमा ढेसिएर कमजोर र उराठ बन्दै गएको सहरी जीवनको दिक्दारीबाट एकछिन सुस्ताउन खोजे । सबै हिसाबले विघटनको संघारतिर लम्किँदै गरेको समाजले सिर्जेका प्रेमभोकलाई तिनले त्यो एकान्तमा पोख्न खोजे ।

अश्लीलता फैलाएको र सामजिक मर्यादा मिचेको आरोपमा पशुपति विकास कोषले तिनलाई ठाउँका ठाउँ समात्यो । जनही २ सयका दरले जरिवाना असुल्यो । केके न अपराध गरेझैं फोटो खिच्यो । र युवा आत्मालाई ग्लानि हुनेगरी रुवायो । सय रुपैयाँ पकेट मनी बोकेर खुसीले हुरिँदै गएकाहरू २ सय तिरेर त्रासयुक्त भारी मन बोकेर घर फिरे । दुनियाँ रातो गुलाबमा मनमुटु पोको पारेर साटिरहेका बेला उनीहरू किशोरवयमा भोगेको तनावले आक्रान्त र आलस्य भए ।

पशुपतिले प्रेमको पुरानो सभ्यता बोकेको छ । सतीदेवीको मृत्युले व्याकुल महादेव प्रेमिकाको कुहिँदै गएको शव बोकेर यही जंगल-झाडी भौंतारिएको प्रमाण पर्तिर गुह्येश्वरी छ । श्लील-अश्लीलको परिभाषा विज्ञले गर्लान्, खुलेआम लिङ्ग पुज्ने संस्कार त्यही पशुपतिमा छ । अनेक आसनका टुँडाल त्यही पशुपतिका देवलमा कुँदिएका छन् । पशुपतिमा अनेक जीवन र मृत्यु छ । यही चक्रबीचको कतै एउटा पाटोमै पर्छ, सायद प्रेम पनि । र त जल्दै गरेको शवको छेउमा भक्कानिएर रुनेहरू त्यहीं छन् । अकासिएको धूवाँ हेरेर जीवन धिक्कार्नेहरू त्यहीं छन् । शुभकार्यको आरतीमा पनि त्यहाँ धूवा नै निस्केको छ र जीवन पनि त्यहाँ धूवाँ भएर विसर्जन भइरहेको छ । कोष, प्रहरी र सुशील नाहाटा त्यही धूवाँको लप्कोले छेलिएर प्रेमको चियो गर्छन् । समात्छन् र कारबाहीका नाममा ट्राफिक शैलीमा २ सय जरिवानाको बिल प्रेमीहरूको हातमा थमाउँछन् ।

सहर/समाज दुरुह र झन्-झन् दुरुह बन्दैछ । त्यसका पछाडिको सामाजिक द्वन्द्व र अर्थराजनीति छुट्टै विश्लेषणको पाटो हो । सहरमा मन मिल्ने साथीसित एकछिन सुस्ताएर जीवनका कुरा गर्ने खुला र शान्त ठाउँ छैन । गफिनलाई भनेजस्तो पार्क छैन । मानवशास्त्री जे स्टेवार्डले भनेजस्तो प्रविधि, अर्थतन्त्र, सामाजिक संगठन र जनसंख्याको प्रभावले मानवीय सम्बन्धहरू झन् जटिल बन्दै गएका छन् । गाउँघरमा घाँस-दाउरा गर्दा खोलाबगर वा जंगलतिर प्रेमीले भेटघाटको अवसर मिलाउँथे, सहरमा मन्दिरको एकान्त रोजाइमा पर्नुको कारण त्यही हो । प्रतीकवाद -सिम्बोलिजम) का व्याख्याता मानवशास्त्री क्लिर्फड गि्रजका भाषामा भन्ने हो भने पशुपतिको घटना एउटा प्रतीक हो । यसले गर्ने संकेत धेरै छन् । यी घटनाले हाम्रो सामाजिक र पारिवारिक अवस्था चित्रण गर्छन् । शैक्षिक अवस्था खुलस्त पार्छ । गि्रज भन्छन्, 'मानिस अनेक जालोमा जेलिएर रहेको जनावर हो । जालोको निर्माण ऊ स्वयम्ले गर्छ । संस्कृतिमा तिनै जालाहरू छन् । संस्कृतिको विश्लेषण नियमको खोजी गर्ने प्रयोगात्मक विज्ञानजस्तो हुँदैन । अर्थ खोज्ने वर्णनात्मक हुन्छ ।'

पशुपतिका जोडीलाई कारबाही गर्नुअघि हामीले बाध्य भएर सोच्नुपर्छ, केटाकेटीलाई हामीले घरमा के सिकायौं ? विद्यालय, विश्वविद्यालयमा के पढायौंं ? तिनको ज्ञानको दायरा र सोचाइको लम्बाइलाई हामीले कति फराकिलो पार्‍यौं ? अहिलेका घटना विश्लेषण गरे पुग्छ । विद्यालय, विश्वविद्यालयमा प्रेमबारे कुन शिक्षकले खुलस्त बताए ? प्रेमपत्र लेेखेकै कारण कति विद्यालयबाट निकालिए, कति घरबाट खेदिए । कतिलाई परिवारले बालविवाहको सजाय दियो । कतिलाई नजरबन्द गरेर राख्यो/राखिरहेको छ ।

विपरीत लिङ्गप्रतिको आकर्षण, प्रेम र यौन फरक कुरा हो भनेर कति आमाबाबुले छोराछोरीलाई आजसम्म सम्झाएका छन् ? तिनका चाहनाबारे कुनै अभिभावकले एकपल्ट सोधेका छन् ? हुर्केका छोराछोरीका आवश्यकता र तिनले गर्न सक्ने खतरा के हो, कसैले चासो लिएको छैन । यस्तो शैक्षिक धरातललाई बिर्सेर माइक, लाठी, मुंग्री बोकेर हतकडी लगाएर प्रेम गर्नेहरू घट्छन् भन्ने सोच्नु मूर्खता हो । यति गर्दैमा प्रेमीहरू अँगालोमा लुटपुटिन छोड्लान्, भेट्न छोड्लान् ? यस्तो बेला २ सय रुपैयाँ जरिवाना गर्ने र फोटो खिचेर बदनाम गर्ने अधिकार कुनै प्रहरी, कोष वा नाहाटालाई छैन । तिनले बुझ्नुपर्छ, अपराध प्रमाणित नभई जघन्य अपराधका दोषीको त फोटो छाप्नु हुन्न भन्ने मान्यता छ । यो अभियानले प्रेम या प्रेमजन्य भोक नामेट हुँदैन । किशोर-किशोरी, युवा-युवतीलाई परिवार र शिक्षालयबाट सिर्जनात्मक सोच नबढाएसम्म तिनको प्रवृत्ति फेरिँदैन, स्थानमात्रै फेरिन्छ । दार्शनिक ओशो भन्थे, 'प्रेम एकदम झिनो धागो हो । यसको बँधाइ यति कसिलो हुन्छ कि कसै गरे फुस्किँदैन ।'

पुँजीवादले गाँज्दै लगेको संसारमा प्रेम पनि ग्लोबल मार्केटमा जोडिँदैछ । प्रेम भावनाबाट वस्तु बन्दैछ । सामान्य औकातका व्यक्ति अब प्रेमीको हैसियत राख्दैनन् । मठमन्दिरको एकान्त पुग्यो र सुस्तायो, प्रहरी आउँछ । केरकार गर्छ । जरिवाना गर्छ । मानौं ती अपराधी हुन् । तिनले प्रेम गरेर ठूलो अपराध गरे । देशको संस्कार र संस्कृति तिनकै प्रेमका कारण मासिँदैछ, २ सय तिरेपछि संस्कृति दुरुस्तै अवस्थामा फर्किन्छ । प्रेम आजको भोलि नै ओइलेर जान्छ । कसले दियो होला, यति संकुचित बुद्धि ? देशको कुन कानुन, कुन ऐनमा लेखेको छ, प्रेमीसित एकान्तमा बात मारे, टाँसिएर बसे र एक चुम्बन गरे २ सय जरिवाना तिर्नुपर्छ ? अपराध हो भने मुद्दा चलाउनुपर्‍यो, होइन भने जरिवाना किन ?

यसले प्रेमीहरू घट्ने र प्रेम गर्न छाड्ने कल्पना गर्न सकिन्न । कानुनी नसिहत हुन्छ, ज्यान मुद्दा लाग्छ भन्दा त समाजमा गर्भपतन घटेन, बरु बाध्य भएर राज्यले गर्भपतनको कानुन नै ल्याउनुपर्‍यो । यो त प्रेम र मन मिल्नेहरूको कुरा हो । पशुपतिमा नहोला, अर्को ठाउँमा यसले विस्फोट लिइहाल्छ ।

anamolmani@gmail.com

Thursday, February 3, 2011

खनाल ३४ औं प्रधानमन्त्री


काठमाडौं, माघ २० - एमाले अध्यक्ष झलनाथ खनाल बिहीबार नेपालको ३४ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

निर्वाचनमा खनालले ३६८ मत पाए । उनका प्रतिद्वन्द्वी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाए । खनाललाई माओवादीसहित, नेकपा माले, माले-समाजवादी, नेकपा एकीकृतलगायत दलको समर्थन थियो ।

६१ वर्षिय खनाल एमालेका तर्फबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । यसअघि तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी ०५१ सालमा र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल ०६६ जेठ ९ गते प्रधानमन्त्री भएका थिए .

Sunday, January 23, 2011

अब दोस्रो संस्करणमा



मेरो कथा धेरैले मन पराइदिए । बसैलाई धन्यबाद । लाग्छ फेरि यस्तै कथा लेख्न सक्छु सक्दिन । पाठकको अत्यतन् मायाकै कारण अब दोस्रो संस्करण आउदैछ । केही परिमार्जन सहित ।
पुस्तक पढेर कति दुखी भए ।sति खुसी भए । कतिले बधाइ दिए । कतिले गाली गरे । यी सबैका बाबजुद अब दोस्रो संस्करण आउन लागेको छ । यसमा म खुसी छु ।
वर्षौं अघि छापिएका पुस्तक नबिकेर गोदाममा थन्केका बेला दोस्रो संस्करण आउनु आफैमा खुसीको कुरा हो । यसअघि सुन्ने र पढ्ने दुवै स्वरुपमा आएको हो ।

तर्कलेमात्र पुग्ला र ?

तिख्खर प्रश्नले बीबीसी नेपाली सेवामा नाम कमाएका पत्रका र रवीन्द्र मिश्रको पुस्तक चाहि त्यति तिख्खर छैन । उनले आफ्नो विचारलाई सन्दर्भ सहति तार्किक बनाउन खोजेका छन् । तर आफ्नो विचारमा आफै बाझिएका छन् । दोहोरिएका छन् । विस्तृत लेख

Tuesday, October 12, 2010

गाउँ छिरेको काठमाडौं


काठमाडौं एउटा बुझिनसक्नुको रहस्य हो । देशभरबाट आउने मान्छे यो गर्तमा भासिन्छन् र अटाउँछन् । काठमाडौं दिन-प्रतिदिन बुझ्न नसक्नेगरी दुरुह र झन्-झन् दुरुह हुँदै गएको छ । यो रहस्य गर्तमा सपना यात्रा गरेर भीडभाड र कोलाहलमा रमाउने हजारौं-लाखौं छन् । हिन्दुहरूको मात्रै भनेर व्याख्या गरे पनि दशैंमात्रै यस्तो एउटा पर्व हो, जसले वर्षैसाल गर्तको दलदलबाट केही दिनलाई छुटकाराको अवसर दिन्छ । राजधानी भासिएका ती हजारौं हुत्तिएर गाउँ पुग्छन् । वर्षमा यही एकपल्ट काठमाडौं सुनसान भएर देशभर छरिन्छ । काठमाडौंका घर, सडक, पार्क, रेस्टुरेन्ट सबैले केही दिन कोलाहलमय भीडभाडबाट फुर्सद पाउँछन् । र सहरचाहिँ कुनै निर्जन गाउँजस्तो एकान्त हुन्छ ।


यतिखेर दशैंका लागि धेरैले गाउँ टेकिसके । कतिचाहिँ कलंकी, कोटेश्वर वा बल्खु नाकातिर पुटुक्क कसिलो पुन्टे झोला लिएर घर जाने सवारी कुरिरहेका छन् । कोही हतारिएर विमानस्थलतिर कुदिरहेका छन् । तिनका झोलामा 'काठमाण्डुको कोशेली' छ, एकथान मोबाइल, एकसरो लुगा, केही मरमसला । काठमाडौं यसरी छरिएर ७५ जिल्लाका ३ हजार ९ सय गाविसका प्रायः सबै टोल, नगर र बस्तीमा पुगेको छ । प्रत्येक गाविस/टोलको एउटा मान्छे काठमाडौं छ । प्रत्येक दशैंमा गाउँका नदी, बगर, आली र पाखापखेरामा काठमाडौंको धूवाँ-धूलो टक्टकिन्छ ।

काठमाडौंले व्यक्तिलाई 'मान्छे' बन्न, छुट्टै पहिचान बनाउन र अवसरको खोजी गर्न सघाउँछ भन्ने अपेक्षा धेरैको छ । पछिल्लो केही वर्षदेखि संघीयताको चर्चामा रमाइरहेको काठमाडौंमा सामान्य मजदुरी गर्नेदेखि देशको नीति बनाउनेसम्म छन् । उनीहरू सिंहदरबार वा कुनै तारेहोटलमा बस्छन् र गाउँ विकासको योजना बुन्छन् । काठमाडौंसित देशका झन्डै ३ करोड नागरिकको भविष्य कस्तो बनाउने भन्ने शक्ति छ । तिनलाई कता डोर्‍याउने वर्षौंदेखि त्यसको लगाम आफ्नो हातमा समातेर बसेको छ, काठमाडौं । कान्तिपुरबाट