Sunday, April 28, 2013

कन्टेनरमा रातो डायरी


-अनमोलमणि-
विमान केही घण्टाका लागि डिले भयो। प्राविधिक कारण बताएर बजेको सूचनाको सुरिलो नारी स्वर लविमा गुन्जियो। यात्रुहरु चहलपहल गर्न लागे।
उठेर दुवै घुँडा तन्काएपछि म फेरि त्यही बेन्चीमा बसेँ। पुस्तक हातमै थियो।
मैले उसलाई लबीको अघिल्लो सीटमा देखेँ। खैरो झोला पिठ्युँपटि्ट बोकेर ऊ पछाडि फर्किँदा हाम्रा आँखा जुधेका थिए।
उसितको यो मेरो चौथो भेट थियो।
पहिलो पल्ट मैले उसलाई लमजुङको भार्तेमा भेटेको थिएँ, झण्डै सात वर्ष अघि। भूमिगत थियो। त्यो सदूर गाउँ। पुरानो स्कुल। साँझ पर्दै गरेको समय। स्कुलको कक्षामा भएको पत्रकार सम्मेलनमा उसले जोशिलो भाषण गरेको थियो, ‘क्रान्तिको कारबाहीमा हुने घटना सामान्य हुन्। बाँचे राज्य र मरे एउटा ज्यान भनेर हामी क्रान्तिमा हिडेका मान्छे देशको मुक्तिका लगि जे पनि गर्न सक्छौं।’ 
घाटीका नसा फुलाएर उसले बोलीसक्दा बुझेर वा नबुझेर उपस्थितले पटट ताली बजाए। किलो फुस्केर हल्लिएको बेन्चीमा बसेर मैले उसको भाषण सुनेको थिएँ, सञ्चारकर्मी भएर।
दोस्रो पल्ट मैले उसलाई इलामको एउटा क्यान्टोनमेन्टमा भएको सांस्कृतिक कार्यक्रममा भेटेको थिएँ। उसको आँखामा पहिलेजस्तो जोश देखिन्नथ्यो।
‘किताब लेख्दैछु’, कार्यक्रम सकिएको साँझ रातो डायरी देखाएर उसले भनेेको थियो, ‘यसमा धेरै कुरा आउने छ सर। हाम्रो क्रान्ति र समाजका नया कुरा। सिद्धान्त विचार सबै यही डायरीमा छ।’ डायरीमा किरमिरे नक्सा र टिपोट लेखिएको थियो।
त्यसको केही समयपछि एकाएक क्यान्टोनमेन्टबाट हराएको ऊ सोझै मेरो पत्रिकाको अफिस आएर मसँग लामै गफियो। ऊ राजधानीमै छ भन्ने जानकारी कसैलाई नदिन पनि भन्यो।
………. ………………… …………….
‘आखिर सब भ्रम रहेछ’, चियाको पहिलो सुर्कीसँगै त्यो भेटमा ऊ बेलेको थियो, ‘महानगरको मस्त सहर छिरेपछि क्रान्तिको ज्वाला विस्तारै सेलाउने रहेछ। हाम्रा नेतृत्वले त्यसै गरे। उमेरदार हामीलाई लडाए। सत्ताको सपनाले हाम्रो सपना चकनाचुर पारि दिए। सर, कति पड्काउनु खिया लागेको बन्दुक?’
त्यतिखेर उसले युद्धको विगत सम्झेको थियो। कहिले काहि आत्तिएजस्तो हुन्थ्यो। कहिले चनाखो भएजस्तो। ‘त्यही भएर म क्यान्टोनमेन्ट छाडेर हिडँे’, एक सर्को चुरोटको धुवा हावामा छरेपछि ऊ बोल्यो, ‘बन्दुक बोकेर, मान्छे मारेर मैले कुनै क्रान्ति गरेनछु सर। मेरा दुख सकिएनन् भविष्यमात्रै सकियो।’
किसान बाउ आमाको असहमतिवीच बन्दुक बोकेर हिंडेकोमा ऊ पछुतो मानिरहेको थियो। स्कुले पढाइ पूरा गर्न नपाएकोमा दुख मान्थ्यो। सोचमग्न हुदा निधार खुम्च्याउँथ्यो। चुप लाग्दा पनि ओठ खुल्ला खुल्ला झै हुन्थे, चल्थे। झसंग झसंग हुन्थ्यो। अत्तालिएजसरी दायाबाया हेरिरहन्थ्योे। आवाज प्रष्ट पार्न खोकेर उसले घाटी सफा पार्‍यो।
‘त्यति बेला’, ज्यानदार ठीटोले ओठ चलायो, ‘रातभर गोली पड्कायौं। ग्रिनेड बजार्‍यौँ। पुलिस चौकी, दुर सञ्चार, सरकारी कार्यालयमा आगो सल्कायौं। मान्छे चिच्याए। जमीनमा ढले। भुइमा मुलको पानी भुल्केजस्तो विस्तारै रगत बग्यो। आहाल बन्यो र जमेर कटकटियो। दोषी वा निर्दोष सबैका रगत राता थिए।’
उसका कुरा सुनेपछि लाग्थ्यो राजमार्गमा भारी ट्रक कुदेजस्तो बेतोडले कुद्ने मनको बेग धान्ने ब्रेक ऊ सित अब छैन। त्यसलाई नियन्त्रणमा नलिने हो भने ऊ बालुवाको मुठ्ठीजस्तो फुस्किदै सकिने छ। साहसी हुन चाहेको तर कमजोर मान्छे बनेको पत्तो पाएपछि उसलाई पश्चाताप भएको छ।
म चुपचाप उसको कुरा डायरीमा टिपिरहेको थिएँ।

ऊ बोल्दै गयो, ‘म शान्ति चाहन्छु। सद्भावबाट प्रेम चाहन्छु। मैले गरेका सबै गल्तीको पश्चाताप गर्न चाहन्छु। झोलुङ्गे पुल छिनाउँदा, विष्फोट गरेर स्कुल भत्काउदा वा पाता कसेर शिक्षकलाई बन्दुकको कुन्दाले हिर्काउदा मैले कहिल्यै यस्तो सम्भि्कन सकिन, किन होला सर?’
मैले त्यसको कुनै उत्तर दिइनँ।
उसले यो पनि सम्झ्योः
एउटा विद्युतीय धरापमा घर फर्किदै गरेका स्कुले केटाकेटी परे। एउटाको ज्यान गयो। पछि थाहा पायौं उसकी आमा भक्कानिएर मुर्छा परी। राती हामी पुग्दा केही गाउलेले उनलाई ढाडस दिइरहेका थिए। ऊ बर्बराइ रहेकी थिइ, ‘हरेक रात कथा सुनाउ आमा भन्थ्यो। अब मैले कसलाई कथा सुनाउनु?’ उनका श्रीमानलाई केही समयअघि सुरक्षाकर्मीले मारेका थिए।
चन्दा नदिएपछि कारबाहीमा परेका शिक्षकलाई पाता कसेर निर्मम सेर्‍यौं। विद्यार्थीले कोकोहोलो गरे। मास्टरको धर्के सर्टको कलम अगाडि खल्तीमै थियो। यस्तोमा पनि मेरो मन अलिकति पनि दुखेन।
कुराकानीमा उसले कडा रंग भएको चिया थप्यो। ‘सर, अहिले लाग्छ, जीवन उज्यालो रहेछ। झरझराउदो उज्यालो। मैले मृत्युलाई नजिकबाट देखेको छु। मृत्युमा जीवनको यस्तो उज्यालो भेटिन्न। मैले मृत्युको बाटो रोजेको थिएँ। त्यसले मनमा भय पैदा गरिदियो र अहिले बेचैन भइरहेको छु’, एउटा पूर्व छापामार पश्चातापमा दार्शनिकजस्तो भयो, ‘म उज्यालो हेर्न चाहन्छु। मनको भय विर्सेर आफूलाई सुरक्षित अनुभव गर्न चाहन्छु। म मेरै पौरखमा बाच्न चाहन्छु। एउटी श्रीमती, मेरी बुढी आमा र एउटा छोरालाई म अब मान्छे भएर देखाउन चाहन्छु। म डढाएको घर, भत्काएको मन्दिर, छिनाएको पुल बनाउन चाहन्छु। म पार्टीको छापामार वा कार्यकर्ता होइन अब मान्छे बन्न चाहन्छु सर, मान्छे।’
‘यत्रो वर्ष क्रान्तिमा लागेको मान्छे यति कातर हुन्छ? किन वितृष्ण?’, मलाई लाग्यो।
‘पहिले मलाई पनि यस्तै लाग्थ्यो। म अँध्यारो गुफामा थिएँ। संसार यति उज्यालो होला भनेर मैल सोचेकै थिइनँ। म स्कुल भत्काउनु पर्छ सोच्थेँ। किताब डढाउनु पर्छ सोच्थेँ। मसित घृणा भरिएको मन थियो। विपक्षमा बोल्ने सबै दुस्मन लाग्थे। संसारका सबै बैरी ठान्थे। मैमाथि कसैले आक्रमण गर्दैछ भन्ने त्रास मनमा गढिरहन्थ्यो’, उसले भन्यो, ‘अहिले बल्ल थाहा पाउदैछु मु्ठ्ठी भरलाई हामी भर्‍याङ भएछौं। स्कुल भत्काउदा, किताब डढाउदा मैले मेरा नेताका छोराछोरी कहा पढ्छन् सोचिनँ। यत्रो वर्ष मैले वेपत्ता साथीहरु कोही भेटिन। मरेका मरिगए, तिनका श्रीमती उदास आखा लिएर झोक्राइरहेको देख्छु। तिनले केही सोधे मसित दिने उत्तर छैन। तिनका छोराछोरी, बाउ/आमा देख्छु। तिनको अघि उभिएर हिजोजस्तो भाषण गर्ने आँट अब मसित छैन। म तिनलाई हेरेर दुखीमात्रै हुन्छु। म उनीहरुसित हारेको छु।’ यसो भन्दा उसको अनुहार फुङ्ग उडेको देखियो।
यति भनेर उसले कालो झोलाबाट रातो डायरी झिक्यो। खर्र पाना पल्टायो। र अर्को पातलो प्लास्टिक झोलामा बेर्‍यो। त्यो त्यही डायरी थियो जुन क्यान्टोनमेन्टको सांस्कृतिक कार्यक्रम सकिएको साँझ किताब लेख्दैछु भनेर उसले मलाई देखाएको थियो।
‘क्रान्तिले मेरो मनमा यति चोट बनाइदियो कि थाम्नै नसक्ने गरी म थिलथिलो भएको छु’, अलि जोशिएर सन्तुष्टि भावमा ऊ पोखियो, ‘अब म किताब नलेख्ने निष्कर्षमा पुगेँ। यो रातो डायरीको पन्ना पल्टाउछु विगत पल्टिन्छ। म मझेरीमा अलमलिएको कमिलाजस्तो एकोहोरो भइहाल्छु। यो डायरीले विगत सम्झाएर मलाई झस्काइ रहन्छ। म हिजो मारेको शिक्षक सम्भि्कन्छु। बालक सम्भि्कन्छु। भत्काएको स्कुल सम्भि्कन्छु। चिच्याएका केटाकेटी सम्भि्कन्छु। लेख्नलाई कलमै चल्दैन।’
त्यसपछिको आधा घण्टा उसको घर, परिवार, आर्थिक अवस्था र साथीहरुबारे कुरा भए। झण्डै तीन घण्टा मसित बसेर ऊ बाहिरिएको थियो। भन्थ्यो, ‘ममात्रै होइन सर साथीहरु पनि धेरै फ्रस्टेड छन् अहिले।’
उसको यही भनाइसहित उसकाबारे मैले लेखेको समाचार सम्पादकले प्राथमिकतासाथ पत्रिकाको पहिलो पानामा छापेका थिए तस्वीर सहित।
समाचार छापिएको भोलिपल्ट म ११ बजे अफिस पुगेँ। मेरो मोटरसाइकल रोके अघिल्तिर मैलो न मैलो रिक्सा रोकिएको थियो। फोहोर उठाउने भाइ कागज—पत्रिका बाहेकको कन्टेनरमा लानु पर्ने फोहोर त्यसमा कोच्दै थियो। रिक्सामा फोहोर फाल्दै गर्दा कालो प्लास्टिक झोलाबाट एउटा सग्लो किताब मेरै अघिल्तिर भुइँमा पछारियो। मैले देखेँ, प्लास्टिकबाट छुटेर झरेको त्यो किताब त्यही रातो डायरी थियो। जसको पान्ना हिजो उसले खर्रर पल्टाएको थियो।
भाइले डायरी टिप्यो र रिक्सामा फेरि कोच्यो।
………. ………………… …………….
आज अन्तराष्ट्रिय विमानस्थलको यो लवीमा मलाई देखेर उसले असजिलो महसुस गर्‍यो। दाया बाया हेर्‍यो। ब्याग हल्का पिठ्युपटि्ट सार्‍यो।
दाहिने हात उठाएर सोधेँ, ‘ओ हो, तपाई पनि, कता?’
हल्का मुस्काएर ऊ म बसेतिर बढ्यो। उल्टो हत्केलाले निधारको अविर हल्का पुछ्दै विस्तारै बोल्यो, ‘खेतबारी पुग्दो छैन। यता केही काम पाइन्न। राम्रो काम पाउन बेलामा पढिएन। बस्नै पो गाह्रो हुन लाग्यो त। मलेसियामा सेक्युरिटी गार्डको काम मिलेको छ। अब दुई वर्षलाई म त ढुक्कै मलेसिय हिंडेको सर।’
ऊ त्यसपछि मौन। अरु केही कुराकानी भएन। मैले उसको डायरी रिक्सावाल भाइले कन्टेर लाने फोहोरमै कोचेको कुरा सुनाइनँ।
………. ………………… …………….
विमानस्थलको प्रस्थान द्वार अझै खुलेको थिएन। ऊ सेतो रंगको छत्रे टोपी लगाएका साथीहरुकै लाममा मिसियोे। हुलमुलका कोही युवा साउदी र कतारको गफ गरिरहेका थिए। केही उदास थिए र चुपचाप। मैले सोधिनँ त्यसमध्ये कति जना हिजोका क्रान्तिकारी कमरेड हुन्? र ककसले रातो डायरी कसैले थाहा नपाउने गरी कन्टेनरमा फालेर आए?
म फेरि हातको पुस्तकमै घोरिएँ। मसिना अक्षर पढ्दा आँखा पोलेजस्तो हुन्थ्यो। अक्षरबाट आँखा हटाएर बेला बेला यता उता हेर्थेँ। आँखा तन्काउँथे। झिमझिम पार्थेँ। यसो गर्दा ढोका नजिकै राखिएको पानीको जारमा दृष्टि ठोकिन्थ्यो। त्यस नजिकैको कुर्सीमा एकोहोरिएको उसलाई पटकै पिच्छे म उदास देख्थेँ। मैले हेरेतिरै उसले पनि हेरेकाले हाम्रा आँखा फेरि जुधेनन्।
त्यसपछि पुस्तक झोलामा राखेर मैले ल्यापटप काखमा झिकेँ। र इन्टरनेटमा फेसबुक ब्राउज गरेर नया स्ट्याटस अपलोड गरेँ, ‘कसले भेट्यो होला क्रान्तिकारी कमरेडको त्यो रातो डायरी?’

No comments: