Saturday, June 25, 2011

जूनमा हास्छिन आमा


अनमोलमिण


आखाभरि आँसु थिए । ठेस लागेर मेरो दाहिने खुट्टाको बुढी औंलो रगतपच्छे भयो । दुखेन । आँसु भरिएका आँखा पुछ्दै म एकोहोरो कुदिरहेँ । फागुनको पहिलो साता । खेतमा हरियै गहुँ झुलेको थियो । साना आलीमा असन्तुलित हुने मेरो फुच्चे ज्यान सम्हालेर म कुदेको कुद्यै थिएँ ।

कुदाइको तोडले छाती फुलेर फुट्लाजस्तो भएको थियो । भित्रैदेखिको उकुसमुकुस बढेको थियो । गर्मी होला जस्तो । पिसाब लाग्लालाग्ला जस्तो । पैताला दुखेर तालुमा झट्का दिइरहेको थियो । टाउको फुट्लाजसरी रिङ्गिएको थियो । पिडुला बटारिएलाजस्तो बाउडिदै थियो । अगाडि तिरमिर तिरमिर देख्दै थिएँ । झन्डै १ घन्टा एकोहोरो कुदेर छतिवनको महेन्द्र माविबाट म मामाघर अँधेरी पुगेँ ।
आँगनमा पुगेपछि खुट्टा त्यसै गह्रौं भए । संघार नाघेपछि देखेँ आमालाई अगेनाको डिलमा सुताइएको थियो । आमाले टाउको घुमाएर मतिर हेरिन् । मन त्यसैत्यसै फुलेर आयो । आन्द्रा बटारिएर छिन्लाजस्तो पीडा भयो । बसेको ठाउँ हल्लिएजस्तो भासिएजस्तो लाग्यो । किताबको झोला छेउमा फ्याँकेर म आमाको छेउमा बसेँ । आँखाबाट बररर आँसु झरे ।

ुके रछ यो नाथु छोरो मान्छे भएर पिन्चे हुन्छन् ु हजुरआमाले ढाडस दिइन् । मेरो मन झन् थामिएन ।
आमाले एकोहोरो मलाई हेरिन् । अनुहार ख्याउटे भएको थियो । सधैं हाँसिरहने जूनजस्तो आमाको मुहारमा बादल लागेजस्तो धमिलो छाया परेको थियो । आँखा सुख्खा थिए । ओठ कलेटी परेका । गालामा आँसुको लेघ्रो दाग । मलाई छेउमा देखेपछि आमाले आँखा चिम्लिइन् । आँखाका चेपचेपबाट बरर आँसु झरे । म त्यही घोप्टो परेर रुन थालेँ ।



आमालाई बिहानसम्म केही भएको थिएन ।

सात बजे स्कुल जानुपर्ने मेरा लागि भात पाकिसकेको थियो । गोठको काम पनि आमाले भ्याइसकेकी थिइन् । मामाघरका भैंसी आमाकै हात बसेका थिए । अरु दुहुन गए तिनले लात्ती बजार्थे । अरु कोही नउठ्दै दूध दुहुने तयारी भइसकेको थियो । हरेक बिहानझैँ आमाले पकाइदिएको गुन्द्रुक झोल र मकै च्याँख्लाको भात खाएर म स्कुल हिँडेथें । टोलबाटै माध्यमिक तह पढ्न जाने एक्लो फुच्चे मै थिएँ । तीनवटा खोला तरेर स्कुल जानुपथ्र्यो । छोरालाई स्यालले झम्टेला कि भन्ने चिन्ता आमालाई सधैं हुन्थ्यो । माध्यमिक तह पढ्ने स्कुल त्योभन्दा नजिकमा थिएन ।

दिउँसो टिफिन हुने बेलातिर हेडसर जनार्दन खनालले आमा बिरामी भएको खबर सुनाएका थिए । त्यसपछि म पछाडि नफर्की छिन्न लागेको चप्पल हातमा लिएर अत्तालिएर कुदेको थिएँ ।

गर्मी बढ्दै गएको फागुन महिना । मौसम परिवर्तन भएर हुन सक्छ भाले बास्ने बेलादेखि नै आमालाई उँधै उँभै भएछ । उँधै उँभै ज्यादै भएपछि आमा लडिछिन् । त्यसपछि अगेना छेउमा राखिएकी उनी हिँड्न नसक्ने लखतरान थिइन् । धामी बोलाइएछ । जोखाना हेराइएछ । झारफुक भएछ । कसैले जीवनजल खुवाउने सोचेन । सबैले ठाने आमालाई भूतले सतायो । काँचो मसान लाग्यो ।

म आमा छेउ बसेँ । झाँक्रीले जोखाना हेरे । ुमाइलीको खड्को ठूलै देखिन्छ यसपालिु उनी बोले । १२ दिनसम्म जोखाना हेर्ने काम चलिरह्यो । प्रत्येकपल्ट उनले दोहोर् याइरहे ुमाइलीको खड्को ठूलो छ यसपालि ।
मैले बिरामी हुन्जेल कुनै दिन एकछिन पनि आमालाई छाडिनँ । स्वस्थानी व्रत चलिरहेको थियो । आमालाई स्वस्थानी पढेर सुनाउँथें । बिस्तारै स्वस्थानीप्रति आमा झर्को मान्न थालिन् । यसैगरी थलिएर आमा एघार दिन हल न चला भएर ओच्छ्यान परिन् । ओठ झन् कलेटी परे । खान बन्द । ज्यान सुकेर दाउराजस्तो भयो ।
आमा बिरामी भएको बाह्रौं दिन राति फेरि धामी राखियो । थाल ठटाएर झाँक्री कामिरहेको मैले हेरेँ । बेलाबेला आमाका खुट्टाका औंला छाम्थेँ । ती दरा हँुदै गएका थिए । मनमा कताकता चीसो भएर आउँथ्यो । गुन्द्रीमाथि पातलो गम्छा ओढाएर आमालाई सँघारनेर राखिएको थियो । आमा हात चलाउन नसक्ने बोल्न नसक्ने भइसकेकी थिइन् । झाँक्रीले मसान वा त्यस्तै कुनै प्रेतले सताएको बताएका थिए । मन्साउने तयारी भइरहेको थियो ।

बाहिर बिहानीपखको मिरमिर उज्यालो बढ्दै थियो । झाँक्रीले आमाको नाडी छामे । अछेता फुके । धुप बाले । तर आमा बिस्तारै लोलाउँदै अररो हँुदै गएकी थिइन् । म जुरुक्क उठेँ । आमाले मलाई पिलिक्क हेरिन् । त्यसपछि बन्द भएको आँखा फेरि खोलिनन् । धामीले हतारहतार आमाको नाडी फेरि छामे । ुमाइली सकिईु उनले बिस्तारै भने । त्यतिबेलासम्म बाहिर छ्याङ्ग उज्यालो भइसकेको थियो । मेरा आँखामा डम्म अँध्यारो पर् यो । त्यो स्वस्थानी साङ्गे गर्ने पूर्णिमाको दिन थियो ।
आमालाई तुलसीको मठ छेउ सुताइयो । शरीर पूरै छोपियो । रुन पनि नसकिरहेको मलाई कसैले डोर् याउँदै लगेर आमाको मुखमा पानी हाल्न लगायो । आमाका आँखा चिम्म थिए । अनुहार ख्याउटे । ओठ कलेटी परेर काला भएका । कसैले एकोहोरो शंख बजायो । शंखको त्यो अपसकुन संकेत अचम्मको थियो बिहान १० बजेसम्ममा गाउँका सबैजसो मामाघरमा भेला भइसकेका थिए । ती मेराबारे दयाका शब्द बोलिरहेका थिए । रुँदारुँदा थाकेका मेरा आखा हेर्थे र ुकठैबराु भन्दै फर्किन्थे । कतिले आमासितै घाँस दाउरा गर्दाका कुरा सम्झिरहेका थिए । हजुरआमा कसैले नदेख्ने गरी भक्कानिन्थिइन् । दुवै ओठ चप्प टोकेर पिलपिल रुन्थिन् । सारीको फेरले आँसु पुछ्थिइन् । उनी मलाई समातेर संघारमा अचल बसेकी थिइन् । एक्लै बोल्थिन् ुयसलाई मभन्दा अघि नै जानु रैछ । छोरो मलाई छाडेर दुःख सकी मेरी माइलीले ।

घाम छिप्पिइसकेको थियो । कसैले हरियो बाँस ल्यायो । सेतो कपडा बेरेर आमालाई बाँसको खटमा राखेर गोठ अघिल्तिरबाट मलामी खोलातिर हिँडे । गाईवस्तु खान छाडेर अचम्म मान्दै हेर्दै थिए । केही दिनअघिसम्म आमा बाल्टी लिएर पाडो छोडेर गएपछि ती मस्त उग्राउँथे । आमा तिनलाई अलिकति घाँस हाल्थिन् । धाम मार्थिन र पगार्न थाल्थिन् । कहिलेकाहीं आमाले दूध दोएको छेवैमा गएर हेर्थे ।
ुखान्छस् ु आमा मुसुक्क हाँस्थिन् र मेरो मुखपट्टि थुनको सिर्को लगाइदिन्थिन् । काँचो दूध मुखमा पार्न आँखा चिम्लेर म मुख आँ गर्थेँ । मुखभरि काँचो दूध छरिन्थ्यो ।

आमालाई तिरतिरे धाराको घाटमा लगियो । अन्तिम संस्कारका लागि मेरा हातमा दागबत्ती राखियो । आमाको मुखमा मैले आगो झोसेँ । आमाको चिता बल्न लाग्यो । मैले सबैतिर अँध्यारो देखें । मलाई कसैले समातिरहेको थियो । कसैलाई चिन्न सकिनँ । आँखा तिरमिर भए । बसेकै ढुङ्गामा म बेहोस भएछु । होसमा आउँदा चिता खरानी हुँदै थियो । धूवाँ मडारिएर आकाशतिर गएको थियो । आमाको सग्लो ज्यान मैले खरानी-खरानी भएको देखेँ । यो संसारमा मेरी आमा पनि थिइन् भन्ने सबुत धूवाँसितै हावामा बिलाउँदै गएको मैले एकनास हेरिरहेँ ।

२०५० साल फागुन १३ गतेको त्यो अपराह्न तिरतिरे धाराको घाटमा मैले आमाको खरानी पनि बकिया खोलाको पानीमा बगाएर आएँ । मेरो सहारा सारी फेर त्यही भस्म भयो । जसमा झुन्डेर म आमा पछिपछि कुदिरहन्थेँ । यही धाराको बाटो म आमाको पोल्टाको मकै-भटमास चपाउँदै घाँस हिँडेको थिएँ । गोठालो आएको थिएँ । आमाको सारीको फेर समात्दै म बकिया खोलैखोला निजगढ बजार गएको थिएँ । सख्खर र चिउरा खाँदै आमाको पछिपछि फर्केको थिएँ । चिसो ढुङ्गामाथि बसेर म सोच्दै थिएँ कतै आमा त्यो पाखोबाट एक भारी घाँस लिएर मलाई सोध्ने त हैनन् ुएई तिर्खा लाग्यो पानी खान हिँड् ।

समग्र आमाहरुले जस्तै मेरी आमाले पनि ममाथि ठूलो सपना देखेकी थिइन् छोरोले केही गरोस् । गोठालो जाँदा खोला दहको भुमरी देखाएर भन्थिन् ुतँ पढिनस् भने म त्यही हेलिएर मर्छु ।ु मैले ६ कक्षा पास गरेपछि आमाछोरा सँगै काठमाडौं आउने पशुपति जाने एयरपोर्टमा हवाइजहाज हेर्ने चिडियाखाना घुम्ने र ठूलो गाडी चढेर अँधेरी फर्किने योजना आमाले मलाई सुनाएकी थिइन् । कुखुरा पेवा पालेर त्यसका लागि पैसा जम्मा गरिसकेकी थिइन् । आमा हुन्जेल मेरो पढाइ खर्च त्यसैबाट चलेको थियो । त्यो फागुनमा लागेको झाडाले आमाछोरासँगै काठमाडौं घुम्ने योजना कहिल्यै पूरा नहुने गरी सधैंलाई सकियो ।
आमा घर जमिन सम्पत्ति र आफ्नो परिवारबिना मैले एक्लो १८ वर्ष बिताएछु । यो बीच म कतिचोटि लडेँ ठोकिएँ । मलाई कसैले दुख्यो भनेर सोधेन । ठक्कर खाएपिच्छे मलाई लाग्थ्यो आमाको सारीको फेर जत्तिको दरिलो सहारा र आमाको हातको स्पर्श जतिको अचुक औषधि दुनियामा केही छैन । र त कहिलेकाहीँ सामान्य ठेस लाग्दा तिरमिराउने आँखाले म आमाको धमिलो तस्बिर हाँसिरहेको देख्छु ।

No comments: