Monday, June 13, 2011

किन कुटिँदैछन् पत्रकार ?


खिलनाथ ढकालको गल्ती यत्ति हो, तिनले समाचार लेखे । अदालतमा गोली चल्दा पनि गृह प्रशासन देखेनदेख्यै गरेर बस्यो । खिलनाथको कलम रोकिएन, त्यसलाई खोतले । खोतल्दै जाँदा सरकारको नेतृत्व गरेकै पार्टीको भ्रातृ संगठन युथफोर्सका बलवानहरू त्यसमा जोडिए । अनि के ? त्यसपछि जेठ २२ गतेको एउटा साँझ खिलनाथको नाक भाँच्चियो । सिद्धान्त, बहस र विचारभन्दा बलमा विश्वास गर्ने लठैतहरू यसै गर्छन् । त्यसको निकै दिनपछि युथफोर्स अध्यक्षले राजधानीमा भने, 'हाम्रा मान्छे चोखा छन्, तिनले कसैलाई छोका छैनन् ।' तिनले ठाने होलान्, दुई-चार लौरा बजाएपछि, दुई-चार हड्डी मक्किने गरी पत्रकार धुल्याएपछि तिनका कलम रोकिन्छन् र आफ्नो अपराध छोपिन्छ ।

युथफोर्सको आक्रमणको दाग यतिखेर खिलनाथको नाकको डाँडीमा मात्रै छैन, 'स्वतन्त्र प्रेसको पक्षमा' भाषण गर्ने एमालेको अनुहारमा घिनलाग्दो गरी पोतिएको छ । एमाले र सरकार भने हाइसन्चोमा उग्राइरहेको छ । मानौं खुँडा, तरवार बोक्ने एमाले कार्यकर्ता यतिखेर दिव्य ध्यानमा छन् । नेता अपराधी जोगाउन लागेका छन् । राजनीतिक दबाबमा प्रहरी 'फरार' अपराधी नखोजेर कर्तव्यबाट विमुख भइरहेको छ । सधैं लोकतन्त्र, स्वतन्त्रता र अधिकारका लागि कुदिरहने, बोलिरहने पत्रकारको दुर्भाग्य प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताबाट कुटिनुपरेको छ । तर पनि प्रधानमन्त्री भन्दैछन्, 'त्यसरी पत्रकार कुट्ने एमाले हुनै सक्दैन ।' कुटाइ खानेले भन्दैछन्, 'मलाई युथफोर्स बाहेकले कुटेकै होइन ।'

पत्रकार कहिल्यै सुरक्षित भएनन् । गृहमन्त्री र सञ्चारमन्त्री स्वयम्ले भने, 'पत्रकारमाथिको अहिलेको आक्रमण द्वन्द्वकालमा भन्दा बढी हो ।' पत्रकारको धर्म हो, जहिल्यै प्रतिपक्षी र तथ्यगत रूपमा आलोचक

हुनु । त्यसलाई सामना गर्न नसक्नेहरू आततायी बन्छन् र आपराध छोप्न पत्रकारमाथि प्रहार गर्छन् । कुनै व्यक्ति, समूह वा दलको पक्षमा नहुने बित्तिकै पत्रकारमाथि आक्रमण हुन्छ । यसले पत्रकारलाई सेल्फ सेन्सरको भुमरीमा पारेको छ । पत्रकार वीरेन्द्र साहका हत्यारालाई सजाय भयो भनेर खुसी हुन नपाउँदै अरू पत्रकारमाथि निरन्तर आक्रमण सुरु भएको छ । पछिल्लो एक महिनामा (वैशाख २२ देखि जेठ २२ सम्म) सातजना सञ्चारकर्मीमाथि आक्रमण भएको छ । आफ्नो पक्षको विरोधमा सम्पादकीय लेखेको भन्दै वैशाख २२ गते काठमाडौंमा 'नयाँ कोसी' मासिक जफत भयो । माओवादीसम्बद्ध पत्रकारहरूले निकालेको पत्रिका माओवादी नेता गोपाल किरातीकै निर्देशनमा बजारमा जान पाएन । यसबारे माओवादीले केही बोलेन, कारबाही गरेन ।

वैशाख २८ गते मधेसी मोर्चाले काठमाडौं, सर्लाही, बारा र जनकपुरमा पसल-पसलबाट कान्तिपुर खोसेर जलायो । कोही पक्राउ परेनन् । मोर्चाले त्यसको विरोध गरेन । वैशाख ३१ गते वाईसीएल रसुवाका अध्यक्ष मेघनाथ घिमिरे टोलीले 'रसुवा खबर' जलायो । पत्रकार धम्क्यायो । कसैलाई कारबाही भएन । जेठ ३१ गते पत्रकार लिन गएको कान्तिपुर टीभीको गाडी काठमाडौंमा जलाइयो, कोही पक्राउ परेनन् । त्यही दिन जनकपुरका पत्रकार सुरेश यादवलाई एकजना प्रहरीले पानीसमेत खान नदिएर रातरातभर मानसिक यातना दिए । त्यसको चासो न दलहरूले लिए न प्रशासनले नै लियो । जेठ १६ गते काठमाडौंमा अपहरणमा परेका अमेरिकी नागरिकबारे रिपोर्टिङ गर्न गएका हिमालयन र एभिन्युज टीभीका पत्रकारलाई प्रहरी सई हृदय थापाले क्यामेरा खोसे । फोटो मेटाएर दुव्र्यवहार गरे । त्यसको छानबिन कतैबाट भएन । जेठ १९ गते महेन्द्रनगरमा 'एन्जेल टाइम्स'का कार्यकारी सम्पादक राजेन्द्र अवस्थी निर्घात कुटिए । उनी अहिले पनि भारतमा उपचाररत छन् । यसले सबै दल प्रेसप्रति सकारात्मक छैनन् भन्ने देखाएको छ ।

पत्रकारमाथिको आक्रमणको कोही खुसी हुनुपर्दैन । यो एउटा पत्रकार वा व्यक्तिमाथिको प्रहार होइन, अभिव्यक्तिमाथिकै प्रहार हो । लोकतन्त्र, प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताका विरोधी अपराधका मतियारहरू हाजारौं-लाखौं नागरिकको आवाज दबाउनुपर्‍यो भने एउटा पत्रकारमाथि आक्रमण गर्छन् । ज्ञानेन्द्रले 'कू' गर्दा त्यसै गरे, भूमिगत हुँदा माओवादीले त्यसै गरे । पछिल्लो समय प्रेसमाथि आक्रमण बढ्नुको कारण स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनु हो । यसले दलहरूलाई विचार, चिन्तन, विधि र प्रक्रियाभन्दा बल-बन्दुक बोकेर पैसाको सहारामा चल्न सिकाएको छ । खर्चको चलखेलले प्रजातान्त्रिक पद्धतिलाई खिसी गरिरहेको छ । विपक्षी कोही छैन । दलीय संयन्त्रका नाममा मिलेर खाने शैली बढेको छ । यसले गर्दा स्थानीय तहमा सबैलाई गुन्डाको सहारा चाहिएको छ । र प्रतिपक्षको भूमिका प्रेस एक्लैले निर्वाह गर्नुपरेको छ । यही एक्लो मौकामा अपराधी प्रेसमाथि जाइलागेका हुन् । विपतमा पत्रकारका पक्षमा बोल्ने पत्रकारबाहेक अहिले अर्को कोही छैन ।

दलहरूले स्वतन्त्र प्रेसको पक्षमा भाषण गरे पनि व्यवहारमा उनीहरू प्रेसप्रति कपटी र कटु छन् भन्ने पुष्टि गर्छ । लोकतन्त्र, प्रजातन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा रहेको भन्ने दलहरूबाटै यस्तो आक्रमण हुन्छ भने प्रेस अब कसबाट सुरक्षित रहन्छन् ? संसारमा सञ्चार जहिले पनि प्रतिपक्षीको भूमिकामा हुन्छ । दल, नेता वा सरकारले तिनलाई कहिल्यै आफ्नो पक्षको नठाने हुन्छ ।

विचार सबैसित हुन्छ, पत्रकार झण्डा बोकेर हिँड्दैन । झण्डा ओढेर समाचार लेख्ने पत्रकार होइनन्, पार्टीका हनुमान हुन् । एमालेसम्बद्ध प्रेस चौतारी, कांग्रेससम्बद्ध प्रेस युनियन वा माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकारहरू कसैले पछिल्ला घटनाको छनबिन वा कारबाहीको दबाबका लागि चासो दिएका छैनन् । पार्टी जोडिएकाले तिनले पनि अपराधी जोगाउन खोजेका हुन् ? विराटनगर घटनाका आरोपीलाई कारबाही नहुने हो भने धेरै पत्रकारले खिलनाथको हविगत व्यहोर्नुपर्ने निश्चित छ ।

No comments: