घुम्ती छेलिएपछि
हरसाँझ
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,
विर्सिदिनू विझाउने सम्बन्ध
सहरको भीरबाट मान्छेमान्छेको कहाली लाग्दो छाँगोमा
नजोड्नू खिइदै छिन्न लागेको सम्झनाको तार
जसमा बज्ने छैन कुनै मुच्र्छना
च्यातिदिनू तरंगको सिरसिरे हावामा
सिंहदरबारको राष्ट्रिय झण्डाजस्तो एकनास फरफराइरहने
ती पीडाका पर्दाहरु
र हेर्नु आकांक्षाको खुला आकाश
शीतल बतासको मुस्लोले छोयो भने त्यतिखेर
अनुभव गर्नू म तिम्रै छेउछाउ कतै उडिरहेको छु हावा भएर
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,
तिम्रो अभावमा
लम्पसार अजिङ्गरजस्तो कालो सडकमा
हुन्हुनाएर कुद्ने गाडीजस्तै चिप्लिएँ भने म
हुस्सुको डोरी समातेर उठ्न सकुँला नसकुँला
सुसेली विनाको आवाजले पछारिएँ भने म
लोडसेडिङकोे पट्यार लाग्दो अध्यारो समयमा
नकहालिइ ब्यूझिन सकुँला नसकुँला
धमिराको देवलजस्तो चुचुरै चुचुरा वा खण्डै खण्ड पारेर मनलाई
तिम्रो नाममा समर्पण गर्न सकुँला नसकुँला
पानी सुक्दै गएको सहरको मैलो नदीजस्तो अल्छेलाग्दोगरी बगिरहेछु